गाईघाट–दिक्तेल जोड्ने सगरमाथा लोकमार्गमा पर्ने मुख्य नाका फोक्सिन्टारस्थित सुन नदीमा बेलिब्रीज निर्माण सम्पन्न भएको छ। ५० मिटर लामो बेलिब्रीज बनेसँगै गत असोज १२ गतेको भीषण बाढीले पक्की मोटरेबल पुल भत्काएपछि टुटेको यातायात सम्पर्क साढे ३ महिनापछि सुचारु हुने भएको छ।
पुल बगेसँगै उदयपुर र खोटाङबीचको यातायात अवरुद्ध भइरहेको छ। पुस पहिलो सातादेखि निर्माण सुरु भएको बेलिब्रीज निर्माण कार्य तीन साताभित्रै सम्पन्न भएको छ। शनिबारदेखि बेलिब्रीज भएर यातायात चल्ने तयारी भएको गाईघाट-दिक्तेल सडक योजना कार्यालय गाईघाटले जनाएको छ। योजना प्रमुख (डिई) पशुपति ज्ञवालीले बेलिब्रीज चलेपछि असोज दोस्रो सातादेखि रोकिएको गाईघाट–दिक्तेल यातायात सुचारु हुने बताए।
रौतामाई गाउँपालिका ५ र खोटाङतर्फ खोटेहाङ ९ लिच्कीराम्चेबीच फोक्सिन्टारमा दशक लगाएर निर्माण भएको १ सय २० मिटर लामो आर्क डिजाईनको पक्की पुल बाढीले भत्काएको थियो। फोक्सिन्टारको पक्की पुल ०७९ मध्यदेखि सञ्चालनमा आएको थियो। सुरु भएको झण्डै दशकपछि पुल सञ्चालनमा आए पनि वारिपारिको पहुँच मार्ग (एप्रोच सडक)समेत बन्न बाँकी छँदै दुई वर्ष नपुगी बाढीले बगाएको हो।
बेलिब्रीज सञ्चालनमा आएपछि आउँदो वर्षा लाग्नुअघिसम्मका लागि यातायात आउजाउ समस्या टरेको हिमाली यातायात व्यवसायी केन्द्र प्रालि गाईघाटले जनाएको छ। प्रालिका महासचिव उमेश बस्नेतका अनुसार आउँदो वर्षासम्म बेलिब्रीज चल्ने भएकाले ३–४ महिनासम्मका लागि खोटाङ–उदयपुर गाडी आउजाउ सहज भएको बताए।
वर्षा सुरु भएपछि भने बेलिब्रीज हटाउनु पर्ने हुँदा स्थायी समाधान भने यो होइन। यातायात व्यवसायीहरका अनुसार वर्षा नभएसम्म बेलिब्रीजबाट गाडी आउजाउ गर्न सकिने भए पनि नदीमा पानीको सतह बढेपछि हटाई हाल्नुपर्ने हुन्छ। वैशाख पहिलो–दोस्रो सातादेखि वर्षा सुरु हुने र पानीको सतह बढेपछि बेलिब्रीज नै बगाउने खतरा हुने हुँदा खोलेर राख्नुपर्ने हुन्छ। ‘वर्षा तथा बाढीको याम सुरु भयो कि हटाईहाल्नुपर्ने भएकाले ३–४ महिनापछि फेरि समस्या जस्ताको तस्तै हो,’ यातायात व्यवसायीको सुझाव छ, ‘त्यसैले बेलिब्रीजको स्थायी विकल्प पक्की पुलको तत्काल मर्मत वा अर्को निर्माण गर्ने भन्ने नै हो।’
फोक्सिन्टारमा मङ्सिर अन्तिममा मूल्य अभिवृद्धि कर (भ्याट)सहित १ करोड २९ लाख ४६ हजार ७७ रुपैयाँमा बेलिब्रीज निर्माणको ठेक्का लगाएको हो। आरएन कन्स्ट्रक्सन कटारीले सम्झौता मितिभित्रै बेलिब्रीज निर्माण सम्पन्न गरेको डिई ज्ञवालीले बताए।
पुल भत्केसँगै गाईघाट–दिक्तेल सोझो यातायात सम्बन्ध विच्छेद हुँदा खोटाङवासीलाई गाईघाट, धरान, विराटनगर, सप्तरी, सिराहाजस्ता तराई भेग र राजधानी काठमाडौँ आउजाउमा चरम समस्या परेको थियो।
प्रकाशित: २७ पुस २०८१ १०:३० शनिबार