२ माघ २०८१ बुधबार
image/svg+xml
कला

'बाहुबली' निर्देशक राजामौलीको नयाँ फिल्ममा महेश बाबुसँग देखिँदै प्रियंका चोपडा

बलिउड अभिनेत्री प्रियंका चोपडा ‘बाहुबली’ र ‘आरआरआर’ निर्देशक एसएस राजामौलीको आगामी फिल्ममा देखिने भएकी छिन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार 'एसएसएमए २९' नाम दिएको उक्त चलचित्रका लागि उनी राजामौलीको रोजाइ बनेकी हुन्। यो चलचित्र एक हजार करोडमा बन्न सक्ने अनुमान गरिएको छ। यो फिल्मको कथा पहिलो अफ्रिकी जंगल साहसिक कथा हुनेछ, जसमा साउथ सुपरस्टार महेश बाबुले एक अन्वेषकको भूमिका निभाउनेछन्।

यो फिल्मको कास्टिङको काम लगभग पूरा भइसकेको छ। तर फिल्ममा रहेका अन्य कलाकारहरूको परिचय भने खुलाइएको छैन। फिल्म २०२५ अप्रिलमा सुटिङको लागि तयारी अवस्थामा रहेको बताइएको छ। यस फिल्ममा महेश बाबुको अपोजिटमा प्रियंका चोपडालाई कास्ट गरिएको छ, जुन फ्यानका लागि नयाँ जोडी हुनेछ। रिपोर्टका अनुसार फिल्म लेखनको अन्तिम चरणमा छ।

राजामौली यस फिल्मको लागि पछिल्लो ६ महिनामा प्रियंकासँग कयौं पटक भेटघाट गरेको बताइन्छ। यो सँगै प्रियंका अब ६ वर्षपछि बलिउड फिल्ममा देखिने भएकी छिन्। यसअघि उनी फरहान अख्तर र जराया वसीमसँग फिल्म  ‘द स्काई इज पिंक’ मा देखिएकी थिइन्।

रिपोर्ट अनुसार फिल्म २०२६ को अन्त्यसम्ममा पूरा हुनेछ र यो मेगा बजेट फिल्म सन् २०२७ मा हलमा रिलिज हुनेछ। फिल्मको छायांकन अमेरिका, भारत र अफ्रिकाका लोकेशनमा हुने बताइएको छ। एजेन्सी

प्रकाशित: १३ पुस २०८१ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App