२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

अस्पतालको अडान: ‘जग्गा पाएनौं’, वडाको जवाफ: ‘लिनै आएनन्’

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थान अभावका कारण सेवा विस्तार गर्न नसकेको भन्दै आएको छ। तर, केन्द्रकै नजिक रहेको चाँगुनारायण नगरपालिका- ३ झौखेलले सेवा विस्तारका लागि उपलब्ध गराइएको ३१ रोपनीभन्दा बढी जग्गा लिन केन्द्रले चासो नदेखाएको आरोप लगाएको छ।

वडा अध्यक्ष श्यामसुन्दर धिमालका अनुसार, २०७७ असोज २१ मा केन्द्रले सेवा विस्तारका लागि सार्वजनिक जग्गा उपलब्ध गराउन माग गरेको थियो। सोही आधारमा चाँगुनारायण नगरपालिकाको कार्यपालिका बैठकले असोज २५ मा थानाको पाखाको सार्वजनिक जग्गा स्वास्थ्य मन्त्रालयको सहमति अनुसार लिजमा उपलब्ध गराउने निर्णय गर्दै पत्राचार गरेको थियो।

२०७७ कार्तिक २ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले झौखेलस्थित ३१ रोपनी ७ आना जग्गा लिजमा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत सिफारिस गरेको थियो। सोहीअनुसार स्थानीय सिफारिस समितिले आवश्यक प्रक्रिया पूरा गरी २०७८ जेठ १३ मा मन्त्रिपरिषद्‌बाट निर्णय गराई १८ गते लिज सम्झौता सम्पन्न भएको थियो।

तर, वडा अध्यक्ष धिमालले भने, ‘सम्झौतापछि जग्गाको प्रारम्भिक नापजाँच पनि भयो। वर्षायाम सकिएपछि निर्माण अघि बढाउने प्रतिवद्धता अस्पताल प्रशासनले जनाएको थियो। तर, पटक–पटक आग्रह गर्दा पनि अस्पतालले चासो देखाएको छैन।’

चाँगुनारायण नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी उक्त विषयमा गम्भीर आपत्ति जनाएको छ। पत्रकारहरूलाई विवादित जग्गाको अवलोकनसमेत गराइएको थियो। वडाले सरकार, स्वास्थ्य मन्त्रालय, र अस्पताल प्रशासनलाई निर्णय कार्यान्वयनका लागि पहल गर्न अनुरोध गरेको छ।

अस्पताल प्रशासनले भने उक्त जग्गा भिरालो र टाढा भएकाले लिन नसकेको बताएको छ। जग्गा अस्पतालबाट करिब पाँच किलोमिटर दक्षिणपूर्वमा रहेको छ। हाल अस्पताल दूधपाटीस्थित साँघुरो भवनबाट सेवा दिइरहेको छ।

प्रकाशित: २ माघ २०८१ २१:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App