१३ पुस २०८१ शनिबार
image/svg+xml
कला

शाश्वत शून्यको सौन्दर्य

निबन्ध

कक्षा दशको एक दिन, गृहकार्य नगर्दा नेपाली पढाउने शास्त्रीगुरुले भन्नुभयो– ‘तँ अब शून्य हुने भइस्। तेरो केही आशा थियो, गइस् काम नलाग्नेगरी !’ मनमा निकृष्ट शिष्य होइन भन्ने बुझाइ भएकाले होला, गुरुको मप्रतिको त्यस्तो टिप्पणी सुन्दा ज्यादै नमिठो लाग्यो। हामीले काम पूरा नगर्दा गुरुले यसो भनिरहनुहुन्थ्यो। त्यतिबेला मेरो सोझो बुझाइ रहन्थ्यो– मैले राम्रो नपढेकाले गुरुले मलाई शून्य अर्थात् ‘जिरो’सँग तुलना गर्नुभएको हो। थाहा छैन, गुरुले मलाई शून्यसँग बुझेर तुलना गर्नुभयो कि नबुझिकन?

त्यतिबेला कहिल्यै शून्य हुन चाहन्नथेँ तर पटक पटक अरूको नजरमा शून्य देखिइरहन्थेँ। आज म सधैं शून्य बन्न चाहन्छु तर चाहेर मात्र कहाँ शून्य हुन पाउँछु र ? अहिले चाहन्छु– मनशून्य बनूँ, इच्छाशून्य बनूँ, भावनाशून्य बनूँ, लोभशून्य बनूँ, दया, माया, ईष्र्या, आकाङ्क्षाशून्य बनूँ अर्थात् शून्यतामा जीवनलाई घोल्न पाऊँ। यो भौतिक जगत्मा चाहनाअनुरूप यस्तो शून्यता प्राप्त गर्न निकै कठिन तपस्या गर्नुपर्ने रहेछ। मान्छे सजिलै शून्यमा विलीन हुन सक्दो रहेनछ।

गाउँघरतिर बुढापाकाले भन्ने गर्थे– शून्य समयमा खोलानाला अनि एकान्तमा नजानू है, प्रेत लाग्छ। हजुरबुबाले दिउँसो १२ बजे र रातको १२ बजेलाई शून्य समय भन्नुहुन्थ्यो। अँध्यारो र उज्यालो समान रूपमा घोलिएको साँझबिहानको प्रहर अर्थात् दोपहरलाई पनि उहाँले शून्य समय मान्नुहुन्थ्यो। बाह्र बजे समय शून्य अर्थात् जिरो अवस्थामा रहन्छ। उहाँले किन त्यसो भन्नुभयो भन्ने जिज्ञासा त्यतिबेला कहिल्यै राखिएन, मात्र उहाँको आदेश मानियो।

गाउँघरतिर बढी डर पालेका बालबालिका प्रायः बिरामी हुन्थे। धामीले मध्यदिन वा झिसमिसे साँझ खोलामा नजानू, त्यही खोलाको मसान लागेको हो भन्थे र फुकेर ठिक पारिदिन्थे। मध्यरातको त कुरै छोडौँ, मध्यदिन वा समसाँझैमा पनि खोलाछेउ वा एकान्तमा जान डर लाग्थ्यो। साँझ खोलाको बाटो भएर कतै जानुपर्नेछ भने घरबाट नै आङ जिरिङ्ङ गर्न थाल्थ्यो। हजुरबुबाले परारै पहिरोमा पुरिएका सबै दाजुभाइलाई यही खोलाछेउमा गाडेको हो, त्यसैले खोलातिर साँझपछि जानुहुन्न भनेको कुरा सम्झनामा आइहाल्थ्यो अनि मनमा त्यही डरलाग्दो अँगारे मसान दगुर्न थालिहाल्थ्यो।

अहिले हजुरबुबाको भनाइमा गहिरो आध्यात्मिक दर्शन रहेछ जस्तो लाग्दैछ। शून्य समय, त्यसमा पनि रात्रिकालीन शून्य समयमा जीवात्मा अनि जीवावशेषको शक्ति प्रदर्शित हुँदो रहेछ। त्यसैले त प्रायः भूतप्रेत मध्यरातमै सक्रिय हुन्छन् भन्ने जनआहान सुनिन्छ। मैले भने अहिलेसम्म भूतप्रेतको भौतिक स्वरूप देखेको छैन। यद्यपि प्रकृति र अमूर्त शक्तिप्रति भने सधैँ आस्थावान् छु।

जीवन शून्यतातर्फ लम्कँदै गर्दा अंकविहीन शून्य समयको शक्तिको महसुस हुँदैछ। एक, दुई, तीनजस्ता अंकभन्दा जिरो शक्तिशाली हुन्छ। जिरो अनन्त अंक हो, जिरोभित्र सबै अंक सम्मोहित हुन्छन् जस्तो महसुस हुन्छ। किनभने जीवनले शून्यता खोज्दैछ, जीवन शून्यमा रमाउन थालेको छ, उदाङ्गो हुनुमा होइन, रहस्यमयी हुनुमै जीवनले आनन्द मान्न थालेको छ।

यही शून्य प्राप्तिकै लागि ऋषिहरू जीवनभर ध्यानस्थ रहे, योगीहरू योगमा लीन भए। बुद्धले खोजेको दीक्षाको सार पनि यही शून्यता नै थियो होला, क्रोधशून्यता, मोहशून्यता, लालचशून्यता। अध्यात्मको केन्द्रमा यही शून्य छ। एक, दुई, तीन जस्ता अंक सधैँ भौतिक रहे। यिनै अंकको जन्जिरमा बाँधिए सबै मान्छे। त्यसैले त तँ एक भइस्, म दुई हुनुपर्छ, तेरो सम्पत्ति यति भयो, मेरो त्योभन्दा धेरै हुनुपर्छ भन्ने ध्याउन्नमा मान्छे लागे।

मान्छे सधैं अंकहरूको मार्गमा दौडिरहे। त्यही अंकको जोडघटाउलाई नै विज्ञानले विकास भन्यो। अंकप्राप्तिको सीमित यात्रामा आजको भौतिक दुनियाँ लडिरह्यो, एकले अर्कोलाई उछिन्ने खेल खेलिरह्यो। त्यसैले त मान्छेले सफलता अंकका गन्न थाल्यो। सफलताको अनन्तता मान्छेको खोज बनेन।

समयका अंकहरूको मार्गमा मान्छे सधैं दौडिरहँदो रहेछ। हामी शून्य बनिदिऊँ त, हामीसँग कसैले कुनै हिसाबकिताब गर्न आउँदैन। शून्यमा शून्य जोड्दा योगफल शून्य नै हुन्छ, शून्यमा शून्य घटाउँदा शेषफल शून्य नै रहन्छ। शून्यमा जति अंकले गुणा गर्दा पनि परिणाम शून्य नै रहन्छ। शून्यलाई कुनै अंकले भाग गर्न सक्दैन। आहा ! कति शक्तिशाली शून्य। शून्य जीवन पनि त्यस्तै शक्तिशाली हुन्छ। सबैले शून्य जीवन जिउन सक्दैनन्। त्यसैले भनिन्छ– महान् आत्माहरूले मात्र शून्यतालाई भोग्न पाउँछन्। शून्य आफैंमा केही पनि होइन तर यसको गणितीय महत्त्व व्यापक रहन्छ।

गणितीय शून्य एक्लै अपूरो हुन्छ तर अन्य अंकसँग मिलेपछि यसले व्यापकता पाउँछ। कति अंक पूर्ण अंक हो ? थाहा छैन तर शून्यदेखि नौसम्मका दशवटा अंकमध्ये शून्य अंक नै अद्भुत लाग्छ। शून्यबाट तापक्रम धनात्मक हुँदै जाँदा पानी तात्दै जान्छ, शून्यबाट तापक्रम ऋणात्मक हुँदै जाँदा पानी जमेर कठोर बन्दै जान्छ। हामीलाई हिमखण्ड र उम्लेको पानी दुवै चाहिएको छ। शून्य डिग्री तापक्रमको आधार विन्दु हो। शून्य भौतिक आध्यात्मिक दुवै जगतका लागि अनिवार्य तत्त्व हो।

‘यो ब्रह्माण्डको उत्पत्ति हुनुभन्दा पहिला जताततै शक्तिशाली शून्य थियो। त्यही शून्य घनत्व विष्फोट भएर समस्त जगतको उत्पत्ति भएको हो’ विज्ञान शिक्षकले भनेको कुरा सम्झन्छु। पूर्वीय दर्शनले पनि त्यही कुरा पहिल्यै भनेको रहेछ। ‘ऋग्वेद’मा ‘यस संसारको सृष्टि हुनुपूर्व अन्धकारले ढाकिएको अत्यन्त सघन ऊर्जाशील अन्धकार थियो। यही अन्धकारबाट चारैतिर फैलिएको किरण पदार्थमा परिणत भएपछि संसारको सृष्टि भयो’ भनिएको छ।

अल्बर्ट आइन्स्टाइन, स्टिफन विलियम हकिङजस्ता भौतिक जगतका वैज्ञानिकभन्दा ऋग्वेद निकै जेठो हो। त्यसैले यो सिद्धान्तको प्रतिपादक विज्ञान होइन, आध्यात्मिक चिन्तन हो भन्ने प्रस्ट छ। तर पनि हामी बौद्धिक शून्य मानवले यो गम्भीर शून्यवादी दर्शन कसरी बुझ्ने ?

शून्य तत्त्व रंगहीन छ, निराकार छ। यसको आफ्नै आकार छैन। शून्य अदृश्य र दुर्गम शक्ति हो। शंकराचार्यले भनेका छन्– सबै विशेषण, गुण र स्वभावरहित हुनु नै शून्यवत् हुनु हो। दार्शनिकहरूले यो शून्यतालाई ‘अस्तित्वको अनुपस्थिति’ भनेर लिन्छन्। शून्य आकाश हो, शून्य अन्धकार हो, शून्य व्यापकता हो, शून्य अनन्त संसार हो।

यो अस्तव्यस्त सहर, जीवन, मान्छे, काम, तनाव, जिम्मेवारी, दया, माया, रिस, रागको भिडमा किचिँदा किचिँदा कहिलेकाहीँ लाग्छ– शून्य स्वर्ग हो। बल्ल मैले बुझ्दै छु, मनोरञ्जन गर्न मान्छे किन जान्छ डाँडापाखा, जंगल अर्थात् मान्छेको भिडभन्दा पर ? आखिर मान्छेको खोजी त मनोरञ्जन हो, त्यसका लागि मान्छे किन खोज्छ एकान्त ?

उत्तर त्यहीं रहेछ– शून्यताको खोजी। एकजना योगीले योगसाधना कक्षामा खित्का छोड्दै भनेको सम्झन्छु– मान्छे मन पखालिनेगरी हाँस्नुपर्छ, मन पखालिनेगरी रुनुपर्छ। अर्थात् चित्त दुख्यो भने त्यसरी रुनुस्, तपाईंको आँसुले मन पखालियोस्, धोइएर मन सफा होओस्।

आखिर रुने वा हाँस्ने भनेको क्लेष फालेर मनलाई शून्य बनाउने नै हो। मन शून्य भयो भने अशान्त सहर पनि शून्य लाग्छ, मनमा अशान्ति छायो भने शान्त जंगल पनि अशान्त बन्छ। मान्छेले जीवनभर ध्यान, तपस्या गर्छ, भगवान्सँग मृत्युपश्चात् स्वर्ग माग्छ। ऊ त्यस्तो स्वर्गमा जान चाहन्छ, जहाँ गएपछि फेरि धर्तीको यही गन्जागोलमा फर्केर आउन नपरोस्। आखिर स्वर्गमा के छ ? छ त त्यही शून्य आनन्द। यद्यपि यो पनि खोजीकै विषय हो।

संसार सम्भावनाको गणित हो। गणितमा कुनै सङ्ख्याको पछाडि शून्य लगाउँदा संख्याको विस्तार हुन्छ। हामी जीवनको परम आनन्दित शून्यतालाई सम्झनुको सट्टा जीवनमा गणितको जोडघटाउ गर्न थाल्छौं अनि परम आनन्दबाट टाढिँदै जान्छौं। शून्य असार होइन, तर सधैं असार प्रतीत भइरहन्छ।

शून्य अंकहीन विस्तार हो, शून्य गणनाहीन सार हो भन्ने मन्त्र जीवनमा स्थापित गर्नुपर्छ। शून्यलाई गणनाहीन अनन्त शक्ति बुझ्यौं र सोहीअनुरूप प्रयोग गर्‍यौं भने जीवन आनन्दमार्गमा हिँड्छ, शून्यलाई गणितीय सूत्रमा प्रयोग गरेर जीवनलाई जोडघटाउको प्रपञ्चमा ढाल्यौं भने एक दुई तीन गर्दै जीवन परम आनन्दबाट टाढिँदै जान्छ। त्यसैले जीवनलाई गणितीय मार्गको व्यस्त यात्री बनाउने कि शून्य मार्गको यायावर बनाउने ? रोज्ने पालो हाम्रै हो।

मलाई सधैं लागिरह्यो– शून्यको आकार किन गोलो भएको होला ? सबै ताराग्रह गोला छन्, रुखमा फल्ने फल हुन् वा भुइँमा खेल्ने बल, रुखले ओढ्ने पात हुन् वा रुख काट्ने हात, फलभित्रको बीज होस् वा आँखाभित्रको चिज (नानी), यी सबै गोला नै हुन्छन्।

पेटभित्र बच्चा लाम्चो शरीरलाई पनि गोलो बनाएर बस्छ। पानीमा उठेको फोका गोलो बनेर एकैछिन रमाउँछ। नदीमा ठोक्किँदा ठोक्किँदा बगरका ढुङ्गा सबै गोला बन्छन्। आस्थाले रङ्ग्याएपछि तिनै नदीछेउका गोला ढुङ्गा बन्छन् शालिग्राम। यी सबै गोला छन् हामीले बनाएको अंक शून्यको आकारजस्तै।

तासमा कहिल्यै हारजित हुँदोरहेनछ। समग्रमा हिसाब गर्दा नतिजा शून्य नै आउँछ। म्यारिज खेलकै उदाहरण दिऊँ, खेल्ने क्रममा मलाई यति माल पर्‍यो, उसलाई कत्ति माल परेन भन्ने मोलमोलाइ चलिरहन्छ। त्यहाँ एउटाले जित्ने भनेको अर्कोले हार्ने हो। अर्थात् जित्नेहरू जति जित्छन्, हार्नेहरूले पनि त्यति नै हार्छन्। जोडघटाउको नतिजा शून्य नै हुन्छ। हाम्रो जिन्दगी पनि त्यस्तै हो– एकातिर जित्छौं, अर्कातिर हार्छौं, जितहारको योगफल शून्य।

यो त भयो अंक शून्यको महत्ता। अब गरौं शून्य जीवनको कुरा, शून्य बह्माण्डको कुरा। साना साना शून्य मिलेर विशाल शून्य बन्ने हो, साना साना शून्य संसार मिलेर विशाल विश्व बन्ने हो। समस्त जीवको जन्मसँगै सुरु भएको जीवनयात्रा बिस्तारै अगाडि बढ्छ, शिशु अवस्था, बाल्यावस्था, किशोरावस्था, युवावस्था हुँदै वृद्धावस्थामा पुगेर जीवन सकिन्छ।

लाग्छ, जीव आउनुभन्दा अगाडि जुन अवस्थामा थियो, मृत्युपश्चात् पनि त्यही अवस्थामा पुगेर इहलीला सकिन्छ। घुम्दै घुम्दै अन्तिममा त्यही बाटोमा पुगेर जीवात्मा ठोकिन्छ र अनन्त यात्रामा जीवतत्त्व लाग्छ। वास्तवमा त्यसपछिको यात्रा होला शून्य यात्रा। त्यसपछिको अनन्त ब्रह्माण्ड हुन्छ होला बल्ल योगी, साधक वा समस्त ध्यानीले चाहेजस्तो आनन्त, शान्त अनि शून्य। दया, माया, रिस, राग, ईष्र्या, आवेग, रोग, शोक, घाम, छाया, पाप, धर्म, जोड, घटाउमुक्त अनन्त, शान्त अनि शून्य संसार। सबै मान्छेको लक्ष्य यही जीवनमै यस्तो अनन्त शून्य प्राप्त गरूँ भन्ने हुन्छ।

मेरो पनि त्यही लक्ष्य छ। म चाहन्छु, मसँग धन, सम्पत्ति, परिवार, दया, माया, घाम, छाया सबै भौतिक चिजबीच पनि होऊन् साथै जीवनमा ब्रह्म ज्ञान, अनन्त शान्ति अनि आनन्दले भरिएको शून्यसंसार पनि होओस्। सबै मान्छे त्यही भव्य शून्यता खोजिरहेका छन् तर कसैले प्राप्त गरेका छैनन्। जीवनभर योग, ध्यान, तपस्या गर्ने तपस्वीले पनि यस्तो पूर्ण आनन्दित शून्यता पाएका छैनन् होला।

मृत्युको व्यथाले पीडा दिइरहेका बेला महाकवि देवकोटाले कविता लेख्न भनी कागज र कलम मागे। शान्त भवन अस्पतालको ओछ्यानमा बसेर उनले कविता लेख्न थाले। जीवनको अन्तिम समयमा उनले लेखेको कविता थियो– ‘म शून्यमा शून्यसरि’।

जीवनभर कविता साधना गरेका साहित्यका तपस्वीले समेत जीवन सकिनै लाग्दा मात्र संसार निशासमान रहेछ, समस्त जीवात्मा तत्त्व समान रहेछ भने। शून्यमा शून्यसरि बिलाउन लाग्दा बल्ल जीवनको रहस्य बुझेको बताएका थिए। शून्यताको गहिराइ जीवन टुङ्ग्याउने बेला बल्ल महसुस गरे देवकोटाले। जन्मदेखि मृत्युसम्म समस्त जीवले त्यही एउटा चक्र पार गर्ने न हुन्, शून्याकार चक्र। समस्त ब्रह्माण्ड नै शून्याकार छ। जति र जहाँ घुमे पनि आखिर पुग्ने त कहीं पनि होइन, यहीं घुमिरहने हो। त्यही अनन्त शान्ति र शून्यताकै खोज गरिरहने हो। यो लोकमा त्यस्तो शान्ति र शून्यता कतिले भेट्टाए होलान् ?  

प्रकाशित: १३ पुस २०८१ ०७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App