२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

पत्रुखाना

लघुकथा

‘मुखमा के हालेको त्यस्तो? तिमीलाई थाहा छैन यहाँ यस्तो गर्न पाइँदैन भनेर! ऊ फेरि अर्कीले मुखमा ख्वाप्पै हाली! कसरी चुस्न सकेकी होली ललिपप! ओई, नानी तिमीहरू यता आउ त!‘ विद्यालयकी एकजना कक्षा शिक्षकले विद्यार्थीलाई विद्यालय हाताभित्र थर्काउँदै थिइन्।

‘तिमीहरूलाई कति मात्र भन्नु चाउचाउ, चकलेट, ललिपप, बिस्कुट, चटपटे, पानीपुरी, चुइगम जस्ता खानेकुरा ‘पत्रुखाना’ हुन्। विद्यालय हाताभित्र यस्ता खानेकुरा खान हुँदैन भनेको होइन तिमीहरूलाई !’

उनले थपिन्, ‘अबदेखि ‘पत्रुखाना’ खाएको देखेँ भने १०० रूपैयाँ जरिवाना लागाउँछु है।’

विद्यार्थीहरू डराएर चुस्दै गरेको ललिपप फालेर कक्षातिर दौडिए।

केहीबेरपछि खाजाको घण्टी लाग्यो। विद्यार्थीहरू खाजा खान कक्षाकोठाबाट बाहिर निस्किए। उनीहरूले एउटा खाली कोठामा उनै अघि निर्देशन दिने कक्षा शिक्षक र उनका अन्य सहकर्मी शिक्षक साथीहरू ‘पत्रुखाना’ चटपटे बनाएर खाँदै गरेको देखे।

ती कक्षा शिक्षक जिब्रो पड्काउँदै भन्दै थिइन्, ‘मलाई त यो चटपटेको नाम सुन्नेबित्तिकै मुखबाट पानीआउँछ।’

प्रकाशित: २७ मंसिर २०८१ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App