प्रकृतिले सिँगारेको डाँफेचरीजस्तै सुन्दर छ-त्यो गाउँ। तल हरियो फाँट छ। त्यहाँको हावापानी जस्तै जनजीवन पनि सरल छ। पौरखी भोकले मर्दैन। यो भनाइ त्यहाँका मानिसमा लागू हुन्छ। उनीहरू खेतीपाती र पशुपालनमा निर्भर छन्। शहरको गन्ध पस्तै नपसेको गाउँले परिवेश छ। फाँटको मुकुट जस्तै देखिने खाटडाँडाको थुम्कोमा भलायडाँडा स्कूल छ। सबै विद्यार्थीको दिनचर्या उस्तैउस्तै नै छ। सबै बिहान सबेरै उठ्छन्। जे जस्तो मिल्छ खान्छन्। डोको नाम्लो र हँसिया लिएर “माछी काँ छ, खोलीको लेउलेउमा छ, माया काँ छ, कलेजी छेउछेउमा, पानी तालैमा, मलाई बोलाऊ है जाने बेलैमा” जस्ता लोकगीत गाउँदै खेतबारीमा पसेर एक डोको घाँस ल्याउँछन् अनि स्कूल जाने गर्छन्।
हो, त्रिशूलीमा सेती मिसिएझैँ म पनि तिनीहरूसँगै मिसिएँ।
रहरको बेला। उत्साह र उमङ्गको बेला। हामी तीन दिदीबहिनी र दुई जना भाइ एकसाथ स्कूल जान्थ्यौँ। पढाइ पनि खेल जस्तै रमाइलो लाग्थ्यो। जिन्दगी पुतलीजस्तै लाग्थ्यो। दिनहरू उत्सवजस्तै लाग्थे। बारीमा मौसम अनुसार अम्बा, आँप, लिची, कटहर र खनिउँ फल्थे। तिनका रूखमा चढेर स्कूलबाट फर्कंदा भोकले राँकिएको पेटको जलनलाई शान्त पारिन्थ्यो।
भोक पनि हरेक युगको एउटा व्यथा हो, विनादुर्घटना हुने घाउ हो। स्कूलबाट फर्कंदा फर्कंदै रूख चढेर फलफूल खाएपछि प्राथमिक उपचारले घाउ निको पारेझैँ लाग्थ्यो। बल्ल घर आइन्थ्यो। बाख्रापाठा, गाईगोरू र भैँसीको यथोचित सेवा गर्नुपर्ने जिम्मेवारी हुन्थ्यो। सो काम हाँसिखुशी गरिन्थ्यो। बेलुकाको खाना खाएपछि दिदीभाइ, दाजुबहिनी एउटै टुकीको वरिपरि बसेर आआफ्ना गृहकार्य गर्थ्याैं। गृहकार्यसँगसँगै हाम्रा अतिरिक्त क्रियाकलापको मुख्य समय आउँथ्यो। त्यसमा ठट्टा गर्ने, चिमोट्ने, चल्ने अनि बाआमाले थाहा पाउनुहोला र गाली खाइएला भनेर हाँसो भित्रभित्रै दबाउने। भित्रभित्रै त हाँसेर भुतुक्क पनि भइन्थ्यो, हाँस्दाहाँस्दै आँसु नै आउने कार्यसमेत हुन्थे तर पनि अतिरिक्त क्रियाकलापका यी तमाम कार्य बडो गोप्य रूपमा सम्पादन गर्नुपर्ने हाम्रो बाध्यता थियो। बडो आनन्दका थिए हाम्रा ती दिनहरू।
कहिलेकाहीँ बेस्सरी हाँसो उठ्थ्यो। भित्रभित्रै दबाएको हाँसो थाम्न नसकेपछि एकसाथ खित्का छुट्थ्यो। घरै उचालिने आवाजले ध्यान भङ्ग पारेपछि बाको रिसले सगरमाथा छुन पुग्थ्यो। त्यसपछि सुरू हुन्थ्यो बाको धुँवाधार गाली। गालीको फोहरा सुनेपछि हाम्रो पनि विपश्यना जस्तै ध्यान सुरू हुन्थ्यो। पूरै ज्ञानी बन्थ्यौँ हामी सबै बाँदरहरू।
मानौँ हामी बुद्धत्वको निकट छौँ। बुद्धकै जस्तो शान्त मुद्रावरणपछि पुनः गृहकार्य सम्पन्न गर्नेतर्फै लाग्थ्यौँ। हाम्रा लागि हरेक दिन नयाँ बनेर आउँथे। हरेक दिन रमाइलोका नयाँ शृङ्खला थपिन्थे। “शोक न सुर्ता भोक न भकारी” भनेझैँ सबैतिर उमङ्गै उमङ्ग थियो। कुनै चिन्ता थिएन। कुनै सुर्ता थिएन।
२०३७ साल जेठ महिनातिरको कुरा हो, मलाई एक्कासि ज्वरोले सताउन थाल्यो। अहिलेको जस्तो भए त कोरोना भनेर क्वारेन्टाइनमै राख्थे होलान्। तर त्यो बेला त कोरोनाको हजुरबाबु नै पनि जन्मिसकेको थिएन होला शायद। त्यसैले क्वारेन्टाइन र आइसोलेसन जस्ता शब्दहरूसँग परिचय गर्नै परेन। त्यो त खासमा टाइफाइडको ज्वरो रहेछ भन्ने कुरा अहिले याद हुन्छ। आज छोड्ला, भोलि छोड्ला भन्दा भन्दै दिन, साता, पक्ष हुँदै महिना बित्यो। म झन्-झन् उठ्नै नसक्ने हुँदै गएँ। शरीरमा तागतको “त” सम्म पनि बाँकी रहेन। हातखुट्टा चल्नै नसक्ने भइसकेका थिए। हुँदाहुँदा शरीरै पनि अरूको सहाराविना ओल्टोकोल्टो फेर्नै नसक्ने भयो।
परेला र खाने मुखबाहेक कुनै पनि अङ्ग मेरा वशमा थिएनन्।
महिनौँदेखि नुहाउन नपाएर सायद नमीठोसँग गनाएकी थिएँ हुँला। झिँगाहरूका लागिचाहिँ खेल्ने र झुल्ने चौतारोजस्ती भइसकेकी रहिँछु। आखिर अवस्थाकै कुरा न हुन्- मौका परेपछि हात्तीलाई पनि भुसुनाले रुवाउँछ भन्छन्। त्यो बेला मेरोभन्दा झिँगाको दिन बलियो थियो। मेरो अनुहारभरि भन्किन्थे। हुल बाँधेर विचरण गर्न भ्याइहाल्थे। च्यइँयँ गर्दै फुर्फुरिन्थे। नाकैमाथि बसेर खूब हात धुन्थे। जहाँ मन लाग्यो त्यहीँ ठुङ्थे। मस्तले चर्थे। मानौँ म उनीहरूका लागि पोसिलो आहारा हुँ। रसिलो चरन क्षेत्र हुँ। उनीहरूकै नाममा हकभोगको लालपूर्जा निकालिसकिएकी एकलौटी खुराक हुँ।
कठैबरी म! देख्ता देख्तै यति दीनहीन बन्न पुगेँ!
जेठदेखि चलेको यस किसिमको दिनचर्याको शृङ्खला साउन महिना पुग्दासम्म झन्- झन् बिग्रँदै गएको थियो। सुधार हुुनुको सट्टा खस्किँदै थियो। कहिले चेत अवस्थामा त कहिले इन्तु न चिन्तुकै हालतमा रहन्थेँ। मेरो जीवन रक्षार्थ खटिएकी सबैभन्दा ठूली डाक्टर भनूँ या सुविधासम्पन्न अस्पताल, मेरी प्राणप्यारी आमा मात्रै हुनुहुन्थ्यो। उहाँ नै वैद्य र उहाँ नै झाँक्री पनि। उहाँले जानेजति सबै झारफुके मन्त्र गर्नुहुन्थ्यो। साँझबिहान दैलाबाट पहेँला, राता र काला अक्षता फाल्नुहुन्थ्यो। स्वस्थानीको ‘यं ब्रह्मा वरूणेन्द्र रूद्रमरूत’ भन्दै मेरो निधारमा खरानी दलेर फुकिदिनुहुन्थ्यो। यो दोखकै ज्वरो हो हेर्न आउने छिमेकीले। आउने जतिले सुझाएसम्म र भेटिएसम्म सबै जडिबुटी पनि खुवाउनुभो।
पुरानो जमरा पिँधेर, सयपत्रीको फूलको चन्दन बनाएर, हाडे बदाम घोटेर र अरू पनि केके हो केके खुवाई नै रहनुभयो।
दिउँसो काममा जाँदा कसैले आमालाई सुनाएछन्- “यो दोखको जोरो हो। अर्थोकले यल्लाई निको पार्न गाह्रो छ। हुट्टिट्याउँको फुल पानीमा पकाएर ख्वाउन सकियो भने मात्रै बिसेक हुन्छ।”
नारान शिव, मेरी आमा! उहाँलाई हुट्टिट्याउँको फुलको हुटहुटीले सतायो। कहाँकहाँ खोज्नुभो होला? कोको इष्टमित्र गुहार्नुभो होला? कुनै आफन्तको माध्यमबाट हुट्टिट्याउँको फुल त हैन, कपासको टुक्रो घरमा आइपुग्यो। हुट्टिट्याउँको फुल कपासमा राखेर सुकाएको रे! त्यो कपासै पानीमा पकाएर पनि मलाई खुवाइयो। मेरो बेथा भने बीसबाट उन्नाइसमा झरेन।
कठै मेरी आमा, उनको छोरी बचाउने आशा भने घट्दै घटेन।
छिमेकीहरू बेलाबेलामा मलाई हेर्न आइरहन्थे। मेरो उँधोलाग्दो हालत देखेपछि खस्याकखुसुक गर्दै आमासँग कुरा गर्थे। उनीहरूसँगको खासखुसपछि आमा लुसुक्क बाहिर निस्कनुहुन्थ्यो। एकछिन कतै हराउनुहुन्थ्यो र बटुकोमा अलिकति झोल बोकेर आउनुहुन्थ्यो। मान्छेपिच्छे सल्लाह र सल्लाहबमोजिमका अनेकअनेक रङका झोल बनाइरहनुहुन्थ्यो। कुनै टर्रो, कुनै खल्लो न खल्लो, कुनै असाध्यै तीतो र कुनैचाहिँ हेर्दै दिगमिग लाग्ने खालका हुन्थे ती औषधीहरू।
यस्ता औषधीहरू बनाएर ल्याएपछि मेरो शिर आफ्नो काखमा राख्नुहुन्थ्यो। आशा र निराशामिश्रित नजरको मायालु हेराइले मसँग आँखा जुधाउनुहुन्थ्यो। अनि बटुकाबाट तुरूकतुरूक पार्दै तिनै अनेक थरीका झोल खुवाउन थाल्नुहुन्थ्यो। मलाई पनि लाग्थ्यो आमाले खुवाएको यो झोल नै सञ्जीवनी हो र यसले चाहिँ च्वाट्टै निको पार्नेछ। बाँच्न पाउने यही आशाले सकी-नसकी पिउथेँ घुटुकघुटुक। निकै समयपछि मात्र भाइबहिनीमार्फत् ती झोलहरूका रहस्यहरू खुल्दै गए। गड्यौला, चिप्लेकीरादेखि खुम्रेकीरासम्म र केराको थाममा पाइने गबारो उब्जाउँने कीरादेखि दशौँ थरीका गन्धेझारसम्मका धरती माताका प्रिय सन्ततिहरू मेरो प्राण रक्षार्थ बलि चढिसकेका रहेछन्। ढिलै भए पनि थाहा त पाएँ, तर थाहा पाएरै पनि गर्न त के नै सकिन्थ्यो र! अब त्यतिबेला आएर उल्टी गर्न बल गरेर पनि त भएन केरे! ओखती नै हो भनेपछि ठीकै छ भनेर चित्त बुझाउनुबाहेक अर्काे उपाय पनि त के थियो र?
म्याँम्याँ गरेर मेरा पछिपछि दगुर्दै खोले माग्ने प्यारा मुनेहरूले मलाई नदेखेको महिनौँ भइसकेको थियो। ती मुनेहरूले मेरो बाटो हेरेर घाँस र खोले पाउने आस नै मारिसके होलान्। भर्खर जन्मिएका साना मुनेहरूले त मलाई बिर्सी नै सकेका थिए होलान्। घाँस हाल्न जाँदा फ्वाँ गर्दै तर्साउने अनि खुच्चिङ् भनेझैँ गरेर मुन्टो हल्लाउँदै जिस्किने बानी परेका साथीजस्ता झाले र माले गोरुहरू पनि न्यास्रिए होलान्।
उनीहरूलाई के थाहा म निरीह प्राणी बनेर बाध्यताको ओछ्यानमा लम्पसार परेको पर्यै छु। पासो थापेर मौका कुरिरहेको कालसँग लडाइँ जितेर फुर्फुरिँदै उठ्ने आसमा सकी नसकी श्वास फेर्दैछु। शरीर जति नै अशक्त भए पनि पुतलीजस्तै फुर्फुराउने चञ्चले मन भने मसँगै छँदै थियो।
यो मन कहिले पौवा र बैजनाथखोलामा पौडी खेल्न पुग्थ्यो। कहिले स्कूलको सांस्कृतिक कार्यक्रममा गीत गाइरहेको हुन्थ्यो। कम्मर मर्काईमर्काई नाचिरहेको हुन्थ्यो। कालीभैँसीका ढाडैमा चढेर ऊसँगसँगै गैह्रीको आहालमा पौडिन्थ्यो। गणेशचौथी मनाउँदै छिमेकीका उखु र काँक्रा चोरेर रमाइलो गरिरहेको हुन्थ्यो। घरमुन्तिरको ठूलो आँपको टुप्पोमै पुगेर काँचा आँपहरू नै टिपेर खाइरहेको हुन्थ्यो। तर मलाई व्यथाले नमीठोसित चिमोटेपछि मसँगै दुख्न आइपुग्थ्यो-टुप्लुक्क। असह्य कष्टसँगै मीठो कल्पनाको शृङ्खला घरीघरी भङ्ग हुन्थ्यो। म भने भिजेको चिसो सिरानीमाथि साविककै ओछ्यानमा मुढोझैँ ढलेकी हुन्थेँ। कल्पनाको संसारमा तुवाँलो लाग्थ्यो। म मेरै हालतमा फर्किन्थेँ। उही असहाय र हृदयविदारक हालतमा। मेरो निधारमा हात राखेकी उनै आमाको सुँक्सुँक् मात्र सुनिन्थ्यो र वातावरण निस्तब्ध बन्थ्यो!
आमा हुनुको अर्थ, मर्म र पीडालाई कसो कसो मैले पनि बुझ्न सक्ने खालको तर एकदमै बोझिलो वातावरण बन्थ्यो।
लामो समय रोगशैयामा हुँदा अनेकअनेक घटनाप्रसङ्ग पनि मनमा आए। भनूँ न, सम्झनाका तरेलीमा पौडिँदै गर्दा कैयौँ पटक हाँसेकी र रोएकी पनि भएँ म। ती धेरै कुराबारे मलाई उत्ति चासो पनि छैन अब। तर एकदिन भएको अविस्मरणीय घटना भने चाहेर पनि अझसम्म भुल्न सकेकी छैन मैले। समयले जीवनका धेरै सम्झनालाई धूलीसात् गरिसक्यो। तर त्यो घटना–प्रसङ्ग कहिल्यै पुरानो हुँदै भएन। विस्मृतिको खाडलमा पुरिन नै सकेन।
जहिले पनि त्यो विशेष प्रसङ्ग मेरो स्मृतिको पर्दामा सल्बलाइरहेकै हुन्छ: म महिनौँदेखिकै साविकको कोठा र ओछ्यानमा सुतिरहेकी थिएँ। मेरो सम्पूर्ण शरीर अरू बेलाभन्दा निकै बढी दुखिरहेको थियो। मुखमा थुक सुकेसुके जस्तो भएको थियो। चिसो भएको थियो शरीर पनि र सम्भवतः मन पनि। आमाले बेलाबेलामा मुखमा पानी राखिदिनुहुन्थ्यो र म निल्न खोज्थेँ। घाँटीमै गाँठो परेझैँ हुन्थ्यो। पटक्कै निलिँदैनथ्यो। आँखा सुख्खाजस्ता भएका थिए। अनौठौसँग बिझाइरहेका पनि थिए । जति बल गरे पनि मैले छ्याङ्ग देख्न सकिरहेकै थिइनँ।
तर अनौठो जादू भयो अकस्मातै। ज्यान सुते पनि आँखा खुलै थिए। एकाएक आँखा छ्याङ्ग भए। झरीपछि खुलेकोजस्तो कञ्चन र सफा आकाश देखिरहेकी थिएँ। मेरा आँखा आकाशमाथि उडिरहेको एउटा अनौठो दृश्यमा ठोक्किन पुगे। मैले दन्त्य कथामा सुनेको पुष्पक विमान जस्तै फुलैफूलले सिँगारेको एउटा भव्य विमान देखियो- आकाशमै। विमानमा जम्मा नै एकजना व्यक्ति बसेका थिए र ती मुस्कुराइरहेका थिए। तिनको अनुहार दिव्य अनि मुस्कान पनि भव्य थियो। ती अरू मान्छेहरूभन्दा अलि पृथक् र अलि ठूला पनि देखिन्थे। पहेँलो रङ्गको झिल्मिले वस्त्रमा सजिएका थिए उनी। मान्छे हुन् अथवा कुनै दिव्य पुरूष मैले खुट्याउनै सकिनँ। उनी चढेको विमान बादल डुलेको चालमा आकाशमै डुल्दै थियो। म आँखा झिमिक्क नगरीकन उनैतिर हेरिरहेकी थिएँ। मलाई थाहा छ, उनले पनि मलाई नै हेरिहरेका थिए। हेराइ अत्यन्त स्नेहालु थियो। मेरी आमाले मलाई काखमा सुताएर आँखामा हेरिरहनु भएका बेलाकोजस्तै।
विमानले म भएतिरको बाटो समात्यो। त्यो विमान पनि स्वचालित नै थियो कि कुन्नि- ती मान्छेले पनि विमानको उडान र अवतरणका लागि केही गरेकै थिएनन्। उनको ध्यान मतिर मात्रै थियो। लाग्थ्यो, म उनकी कोही आत्मीय जन हुँ। उनी पनि मेरा आफन्त हुन्। आदरणीय व्यक्तित्व हुन्। मैले याद गर्न नसकेका नजिकका नातेदार हुन्।
हामी दुवैले एक अर्कालाई एक तमाससँग हेरिरहेका थियौँ। उनका चमत्कारी आँखा अनि वात्सल्यपूर्ण हेराइका कारणले पनि होला-छिनको छिनमै तिनले मेरो मन जितिसकेका थिए। वर्षौंपछि मीराले श्रीकृष्णको दर्शन गर्न पाउँदा अपार खुशीले छचल्किएझैँ गद्गद् बनेकी थिएँ म पनि-छिनको छिनमै। सिङ्गो आकाशमा मैले उनलाई मात्र देखिरहेकी थिएँ। शायद उनले पनि धर्तीमा मलाई मात्रै देखेको हुनुपर्छ। विमान मन्दमन्द गतिमा मेरो ओछ्यानतर्फ आफैँ अवतरण हुँदै थियो। मेरो सम्पूर्ण ध्यान त्यो विमान र त्यसमा विराजमान तिनै दिव्य मुहार भएका पुरुषतर्फ मात्र थियो।
विमान मेरो छेवैमा अवतरण भयो। तर पनि उनी विमानमा बसिरहेकै थिए। विमानमै बसीबसी तिनले बडो स्नेहपूर्वक मेरो टाउको सुम्सुम्याए। उनको स्पर्शले म वर्णनातीत रूपमै आनन्दित बन्न पुगेँ। सत्ते सत्ते!! छिनमै उनको त्यस स्नेहको कञ्चन दहमा आनन्दले पौडिन थालेँ म। भोकाएको दुधे बालकसामु आफ्नी आमा आएर मुस्कुराउँदा त्यो बालकमा जति खुशी छाउने हो, मलाई पनि त्यस्तै अनुभूति भएको थियो। उनी हजुरबा उमेरका जस्ता देखिन्थे। म सानी चुल्बुले नातिनीजस्ती। स्नेहसाथ उनले म बालिकालाई उठाए। हुजुरबाले नातिनीलाईझैँ बडो वात्सल्यका साथ आफ्नो काखमा राखे। त्यसपछि त झन् उनी जन्म जन्मान्तरदेखिका आफन्त हुन् जस्तो भान भयो मलाई। पराई ठानेको भए पो आमा, बा, दिदी भाइ, बहिनी गुहारेर चिच्याउथेँ होला। तर मैले कसैलाई पनि सम्झिनँ त्यसबेला र सहर्ष बसिदिएँ उनको काखमा।
जब म उनको काखमा पुगेँ, विमानले अघि अवतरण गर्दाकै गतिमा फेरि विस्तारै आकाशतर्फ उचाइ लिँदै गयो। म उनको काखमा आनन्दले बसिरहेँ, बसिरहेँ, बसि नै रहेँ...।
कति समय उनको काखमा बसेँ भन्ने त यकिन छैन मलाई। तर पनि मैले थाहा पाउँदा पाउँदै विमानले बादलका धेरै थेग्लाहरू पार गर्यो, एउटा अँध्यारो सुरूङ जस्तोबाट पनि छिर्यो, फेरि आँखै तिर्मिराउने उज्यालो भएको ठाउँमा पनि पुग्यो। म मुग्ध भएरर हेरिरहेकी छु- विमान चन्द्रमाका छेउबाटै उडेर अझै अगाडि बढ्यो, आकाशमै एउटा तालजस्तो ठाउँ पनि आयो, त्यसलाई पनि पार गर्यो, कञ्चन नीलो आकाशबाट उडाउँदै लगेर ताराहरूको छेउमै पुर्यायो। यस्तो रमाइलो उडान भइरहेकै बखतमा लौन नि, विमान त पुच्छ्रेताराको पुच्छरबाट पो छिर्न थाल्यो। त्यो पुच्छरमा त कनिका छरिए जस्तै तारैतारा रहेछन्।
तारामै घुँडा ठोक्किएलान् कि भनेर मनमा चिसो पसेकै बेला खै केको सन्तुलन नमिलेर हो, म त ती दिव्य पुरुषको काखबाट फुत्त खस्न पुगेँछु। आकाशको त्यति माथिबाट अकस्मात् खस्ता म बेस्सरी झस्केर आत्तिएँ, तर्सिएँ। कानमा पनि स्वाइँय गरेर बेस्सरी हावा बज्यो। अब म भुइँमा बजारिँदा एकैचोटि धुलोपीठो हुन्छु भनेर असाध्यै डराएँ। हातखुट्टा चलाएर चिच्याउन खोजेँ तर आवाज निकाल्नै सकिनँ। जीउ थरथर काम्यो। घाँटी क्याप्प थियो, ऐँठन होलाजस्तो भयो। म विचलित भएर डराएर अलि अस्वाभाविक ढङ्गले नै छटपटाएँछु क्यारे। बल्ल आमाले टाउको र हात समाइरहनुभएको सम्झना आयो।
आँखा खुलै थिए। आकाश उस्तै थियो-झलमल्ल। केही बादलका टुक्राहरू नाचिरहेका थिए। भँगेरा र गौँथलीहरू फुर्फराउँदै यताउता उडिरहेका थिए, तर मलाई काखमा राखेर अन्तरिक्ष यात्रामा उडेका ती दिव्य पुरुष कतै देखिएनन्। उनी त निमेषभरमै अलप भइसकेछन्। साँझ पर्नपर्न लागेको बेलुकीपखको समय हुँदो हो। महिनौँदेखि सुतेको साविकको ओछ्यानमा रहिनछु। साविकको कोठा पनि हैन। साविकको तला पनि हैन। म मेरो घरको छानोमुनि नै थिइनँ। खुला आकाशमुनि घरको आँगनको छेउमा! त्यहाँ तुलसीको ठूलो मठ थियो। त्यतैतिर सिरानी फर्काएर लगाइएको सानो ओछ्यानमा सुतिरहेको अवस्थामा पो रहेँछु।
बाबै नि! त्यो परालको ओछ्यान! शायद घरको छानोलाई दया लागेछ क्यारे, मलाई अलिकति सियाँल ओढाएछ। शायद घामले मेरो अवस्था हेर्न सकेनछ क्यारे पारिजातको हाँगोमा छेको परेर पश्चिमपट्टि चिमचिम गरिरहेको थियो!
मेरा वरिपरि मान्छे नै मान्छे थिए। ती मान्छेहरूमा मेरा परिवारका सदस्यहरू मात्र थिएनन्। शायद मेरो शरीरको महायात्रा गराउने प्रबन्ध गर्दै थिए। तिनका आँखा मतिर तेर्सिएका थिए। मलाई एकटकसँग नियालिरहेका रहेका थिए। मानौँ मेरो अन्तिम सास कुरिरहेका थिए। मैले परालको तकियामाथिबाटै सकीनसकी टाउको घुमाएर चारैतिर हेरेँ। सबैका आँखा रसाएका देखेँ। साना भाइबहिनीहरू रोइरहेका देखेँ। मैले तर्सिएर ऐँऐँ गर्नासाथ सबैका अनुहारमा अनौठो भाव छल्किरहेको देखेँ। आमाको मुखबाट पहिलो वाक्य निस्कियो- “अब यो छोरी फर्किई।”
फेरि भन्नुभयो,“ममाथि ठूलो कृपा गर्यौ भगवान्!”
यतिखेर त्यो घटना सम्झिँदा आफैँलाई अचम्म लाग्छ, कहाँबाट फर्किई? किन फर्किई? कसरी फर्किई? तिनै वृद्धको साथमा माथितिरै गएर उनैका साथ बसेकी भए के हुन्थ्यो? सम्झना हुन्छ-सम्भवतः म गएकी थिएँ। सकिएकी थिएँ। माया मारेर परम् गतिका लागि तुलसीको मठमा सारिएकी थिएँ।
अहिले सोच्छु, गएकी भए के हुन्थ्यो? आमा मेरो वियोगमा रुनुहुन्थ्यो। जन्म दिनु, हुर्काउनु र आठ वर्षको उमेरसम्म गरेको मायाको आगोमा रापिएर जीवनभर जल्नुहुन्थ्यो। घरपरिवारलाई मेरो अभाव कति दिन खड्किँदो हो? अहिलेसम्म मलाई कसले सम्झनामा राख्दो हो! कसको मसँग के स्वार्थ हुँदो हो? किन हुँदो हो? नजिकका आफन्तको माया पनि एउटा स्वार्थ नै हो। बाटोमा हामी कतिका लाश देख्छौँ। तर रुँदैनौँ किन? किनभने त्योसँग हाम्रो स्वार्थ थिएन। त्यसैले लोकमा स्वार्थ रुन्छ।
त्यस दिनदेखि मेरो जिन्दगीले नयाँ मोड लिन थाल्यो। मेरो स्वास्थ्यमा सुधार आउँदै गयो। विस्तारै हातखुट्टा चल्मलाउँदै गए। अरूको सहाराले उठ्न परे पनि आफैँ थामिएर बस्न सक्ने भएँ। हुन त म फेरि शिशु अवस्था फर्किएझैँ भइसकेकी थिएँ। उठेर ठमठम हिड्न नसक्ने बनिसकेकी थिएँ। बिस्तारै बामे सरेर घस्रिन थालेँ। सातआठ वर्षको मान्छे बामे सर्नु भनेको अनौठो र अपत्यारिलो कुरा नै हुन सक्ला- तर सत्य यही थियो। मेरो शरीरले जिन्दगीमा दुई पटक बामे सरेको छ। भविष्यमा अझै कति पटक सर्नुपर्ने हो- त्यो मलाई अहिले नै थाहा हुने कुरै भएन।
जिन्दगीका हरेक मोडमा मेरो दिमागले एउटा अनुत्तरित प्रश्न गरिरहन्छ-म किन फर्किएँ? र, यसको उत्तर खोज्ने जिम्मा चाँहि मैले अब समयलाई नै छोडिदिएकी छु।
प्रकाशित: २५ मंसिर २०८१ ११:०५ मंगलबार