फिदिममा जारी ११ औँ फाल्गुनन्द गोल्डकपको बिहीबार सम्पन्न खेलबाट न्युरोड टिम (एनआरटी) विजयी भएको छ। सलहेस फुटबल क्लब सिरहालाई ट्राईब्रेकरमा ४ का विरुद्ध ५ गोल गर्दै एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो।
निर्धारित ९० मिनेटको खेलमा कुनै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो। एनआरटीका लागि कृटिस चुवार्जु, अभिशेक लिम्बू, कार्लोस, सरोज तामाङ र अन्जन बिष्टले गोल गरेका थिए।
सलहेस फुटबल क्लबका तर्फबाट कुलदिप कार्की, विवेक राई, दोर्जे दामाङ, फगुराम थारुले मात्रै गोल गरे। विदेशी खेलाडी हेन्रीले गोल गर्न चुकेपछि खेल ५–४ को नतिजामा पुग्यो।
शुक्रबार हुने पहिलो सेमिफाईलनमा आयोजक फिदिम स्पोर्टीङ र चर्च ब्वाईज फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ।
१५ गते सम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउने छन्।
प्रकाशित: ११ पुस २०८१ १७:३३ बिहीबार