१२ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

बागमती प्रदेशस्तरीय धिमय बाजा प्रतियोगिता हुँदै

भक्तपुरमा बागमती प्रदेशस्तरीय प्रथम धिमय (धिमे) बाजा प्रतियोगिता २०८१ हुने भएको छ । चाँगुनारायण नगरपालिकाको आयोजनामा धिमय बाजा प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिताबारे जानकारी दिन बिहीबार भएको पत्रकार सम्मेलनमा नगर प्रमुख जीवन खत्रीले प्रतियोगिता पुस २० गते शनिबार हुने बताए। प्रतियोगिता चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा हुने उनले जनाए।

कला संस्कृतिको राजधानी नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरको चार पालिकामध्ये चाँगुनारायण नगरपालिका पुरातात्त्विक, ऐतिहासिक, धार्मिक, पर्यावरणीय र पर्यटकीय नगरी भएको भन्दै यसको लागि प्रतियोगिता गर्न लागेको जनाए।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र, धिमय् बाजा १ थान, भुछ्या २ थान, सिछ्या २ थान प्रदान गरिनेछ। द्वितीय हुनेलाई २५ हजार नगदसहित शिल्ड र प्रमाणपत्र, धिमय् बाजा १ थान, भुछ्या १ थान, सिछ्या १ थान प्रदान गरिनेछ । साथै तृतीयलाई दस हजार नगद सहित शिल्ड र प्रमाणपत्र, धिमय् बाजा १ थान, भुछ्या १ थान प्रदान गरिनेछ । साथसाथै सान्वनालाई पाँच हजार नगद सहित शिल्ड र प्रमाणपत्र, धिमय् बाजा १ थान र उत्कृष्ट प्रस्तुति (निर्णायक छनोट) धिमय् बाजा १ थान गरिनेछ । साथसाथै  उत्कृष्ट छैटौँदेखि १० औं स्थानसम्मलाई भुछ्या १–१ थान र सहभागी सम्पूर्ण समूहलाई मायाको चिनो प्रदान गरिने जनाइयो।

प्रतियोगिताको लागि ११ लाख रुपैयाँको बजेट अनुमानित गरिएको छ। प्रतियोगितामा काठमाडौं उपत्यकाका साथै काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, नुवाकोट, धादिङ लगायतका जिल्ला र ती जिल्लाका नगरपालिका, गाउँपालिकामा रहेका समुदाय/क्लब/संघ/संस्था/समूह/दाफा/भजन/खलः/विद्यालय गरी करिब ५० वटा टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ।

धिमे बाजा सर्वाधिक प्रचलित बाजा हो । नेवाः समुदायमा धिमे बाजा उत्सवको बाजा हो । जात्रा, पर्व मात्र नभई व्रतबन्ध जस्ता सामाजिक कार्यमा पनि बजाइन्छ । धिमे मनोरञ्जनको लागि पनि प्रयोग हुने गरेको छ । धिमेको ताल संरचनाको कारण पनि यो बाजा अन्यको तुलनामा भिन्न छ । उक्त बाजाबाट निस्कने आवाज र त्यसको घनत्वले हरकोही स्रोताको मस्तिष्कमा झङ्कार गर्ने र उत्तेजना पैदा गर्ने गर्दछ । धिमेसँगै बज्ने भुस्या (काशबाट बनेका दुई ठूला बाजा) को सम्मिश्रणबाट पनि सुन्दर ध्वनि पैदा गर्छ । यसैले पछिल्लो समयमा यो बाजाप्रति नेवार समुदायका अलावा अन्य समुदायको विशेष आकर्षण छ।

प्रकाशित: ११ पुस २०८१ १७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App