६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
कला

आत्महत्याको भिडियो खिच्ने जमानामा छौं!

मुक्तक

१) मुक्तक

त्याग र समर्पणको पनि झोला हुन सक्छन्

कैयौं विचारहरू समयले अबोला हुन सक्छन्

कागहरूको हुलले कागको नाम काढ्ने नै हो,

खहरे पनि कुनै संयमित खोला हुन सक्छन्।

२) मुक्तक

रातभरि बग्ने आँसुले सिरानी सम्झदैन

तिर्खा मेटाएपछि प्यासीले पानी सम्झदैन

संसार देख्ने आँखा भन्छ प्रशंसा उसकै मात्र,

महत्त्व कति राख्छ भनी त्यो नानी सम्झदैन।

३) मुक्तक

चाडपर्व आउँछ परेलीमा छचल्किदै पोखिन्छौ आमा

ओकल्न खोज्छु हृदयको गाँठो बनेर रोकिन्छौ आमा

कुनै त्यस्तो होस तिमीलाई कुनै दिन नसम्झेको पलहरू,

जीवनका हरेक आरोह-अवरोहमा तिमी ठोकिन्छौ आमा।

४) मुक्तक

वर्षमा दुई दिन मात्र सम्झेर फर्किने तिथि हट्न सकोस्

विशेष दिनबाहेक बिर्सिने, झर्किने थिति हट्न सकोस्।

सधैं सन्तानको सम्झनामा प्रतीक्षाको किल्ला गाडेर,

लासले सन्तानको आगमन पर्खिने रीति हट्न सकोस्।

५) मुक्तक

स्मृतिले त सधैं आफन्त मारिरहेझैं लाग्छ

शाेक सभाले मुटु छिया पारिरहेझैं लाग्छ

खाटो बसेको घाउ पनि चलाइरहे दुखिरहन्छ,

ऐया न आत्था विक्षिप्त मन हारिरहेझै लाग्छ।

६) मुक्तक

समयसँगै शेरले पनि फटयांग्राको शिकार गर्नुपर्ने हुन्छ

आकाशमा उड्ने चरी पनि मृत्युले धर्ती झर्नुपर्ने हुन्छ

अजम्वरी निलेको छु भन्ने अहंकारी पन्छीले पनि त

सृष्टिको नियम हो स्विकार्दै एकदिन मर्नुपर्ने हुन्छ।

७) मुक्तक

समयको गतिसँगै चाउरिएको तस्बिर पनि

भोगाइहरू सिकाइरहेछ छैन खासै पिर पनि

हिजो,आज,भोलि सबै समयको रूप न हो,

निरीह छन् निर्दोष माछी उनिएको झिर पनि।

८) मुक्तक

आत्महत्याको भिडियो खिच्ने जमानामा छौं

वृद्ध,अशक्तको पालो मिच्ने जमानामा छौं

दुनियाँले फट्को खै कतापट्टि मारेको हो?

खाल्डोमा देख्यो कि उल्टै थिच्ने जमानामा छौं।

९) मुक्तक

शीतल छैन ढलेपछि वरपिपलको बोट आमा

छछल्किन्छौ परेलीमा अदृश्य छन् चोट आमा

निरीह छन् सिरानी र आराम दिने ओछ्यान पनि

पीडाभित्र मुस्कुराउने गरेकी छु अठोट आमा।

१०) मुक्तक

दिनभरि पसिना पुसेको दौराको फेरोको कथा

गन्याउने ज्यान चुहिएको, पसिनाको घेरोको कथा

मिसिएको कसले सुनाउने प्रत्येक गाँस गाँसमा 

सानले झुल्किएको सूर्यसामु अँधेरोको कथा। 

   -कुमारी बान्तावा बाहिङ

प्रकाशित: ६ कार्तिक २०८१ १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App