१) मुक्तक
यतिउति भनी किन नाप्छौ प्रेम जोखेर जोखिन्छ र
चाहँदै हुन्छ के कसैले भाग्य बोकेर बोकिन्छ र
फुत्तफुत्त बितिदिन्छ बुढ्यौली डाक्दै समय पनि
जवानीको धीत बाँकी भन्दै यो रोकेर रोकिन्छ र।
२) मुक्तक
स्वार्थी भावले मिल्नेसँग केही लाग्दैन
आफ्नै नचिनी चिल्नेसँग केही लाग्दैन
कहाँ पाइन्छ हित सोच्ने आफू मिटाएर
औँलो भेटे डुँडुलो निल्नेसँग केही लाग्दैन।
३) मुक्तक
कहिलेकाहीँ कोलाहलबाट टाढा हुन मन लाग्छ
दैनिकीका यी दलदलबाट टाढा हुन मन लाग्छ
शरण खोज्दै पुग्छु बुद्ध अनि प्रकृतिको काखमा
जिउने बहानाका छलबाट टाढा हुन मन लाग्छ।
४) मुक्तक
नियममा बसे धम्की र फुर्तीसँग डराउनु पर्दैन
ठूला स्वरमा कोहीसँग बिनसित्ति कराउनु पर्दैन
चन्द्रमामा लोक बसाल्ने कर्मशील उदाउँदै छन्
चिन्ने छन् अवश्य सुगन्धले कतै हराउनु पर्दैन।
५) मुक्तक
सङ्गले बाँच्ने रहरमा सङ्गहीन बनिदिन्छ जिन्दगी
ढङ्गले बाँच्ने रहरमा ढङ्गहीन बनिदिन्छ जिन्दगी
भागदौडमा कहाँसम्म कुदिरहन्छ खै मानव चोला
रङ्गले बाँच्ने रहरमा रङ्गहीन बनिदिन्छ जिन्दगी।
६) मुक्तक
जति बुझेँ भन्छु कसैलाई भ्रमित तिनका हावमा छु
मुखले गाउनु परे पनि गुणगान आफ्नै बहाबमा छु
कोही ठानिदिन्छ आलोकाँचो कोही ज्ञानको खानी नै
बढेसँगै उमेर, पद ठान्छु म अझै ज्ञानकै अभावमा छु।
७) मुक्तक
सुविधा जति पाओस् सन्तोषले रमाउन नसक्ने मान्छे
जिन्दगी सुम्पेर पनि पुग्ने गरी कमाउन नसक्ने मान्छे
जति देख्छ अर्काकै फलिफाप र सुखी जीवन आहा
आफ्ना र आफू, चाह–कर्ममा रमाउन नसक्ने मान्छे।
८) मुक्तक
समयभन्दा तीव्र त मान्छेका शोचन फेरिन्छन्
सत्य धमिलाउँदै किन छिट्टै लोचन फेरिन्छन्
विश्वासका सीमा नाघेपछि अर्थ बन्छ अनर्थ
तर लाग्छ मान्छेका कहिले मोचन फेरिन्छन्।
९) मुक्तक
बाटो सजिलो चुन्छ मान्छे को फाँड्छ खोजेर झाडी
को रहर गर्छ खाडीका धूपमा कमाउन स्वदेश छाडी
सोझा निमुखा सदैव यहाँ अष्टमीका बलि बन्नुपर्ने
चुसेरै त जनताका रगत मोटाएका छन् यहाँका ढाडी।
१०) मुक्तक
हाँसीहाँसी जिउँछु भन्थेँ आँसु पिएर बाँच्न सिकायौ
दुरुस्त चाहन्थेँ मनमुटु उल्टै सिएर बाँच्न सिकायौ
पहाड फोरेर बनाउनु छ जिन्दगीको गोरेटो आफैँले
समुद्र खोज्थेँ हृदयमा अग्नि लिएर बाँच्न सिकायौ।
(मुक्तककार अम्बिका अर्यालको भावदीप मुक्तकसंग्रहमा सङगृहीत।)
प्रकाशित: २७ आश्विन २०८१ १०:०९ आइतबार