अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड किन्न वा कब्जा गर्ने बारम्बार धम्की दिएपछि शनिबार ग्रीनल्याण्डको राजधानी नुकमा हजारौं नागरिक सडकमा उत्रिएका छन्। कडा चिसो र हिउँमा पनि प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा फहराउँदै ‘ग्रीनल्याण्ड बिक्रीका लागि होइन’ भन्दै नारा लगाए र आफ्नो स्वशासन तथा सार्वभौमिकताको समर्थन जनाए।
प्रदर्शनकारीहरू नुकको सानो डाउनटाउन क्षेत्रबाट अमेरिकी वाणिज्य दूतावाससम्म पदयात्रा गर्दै थिए, ठीक त्यही बेला ट्रम्पले फेब्रुअरी १ देखि डेनमार्कसहित आठ युरोपेली देशका सामानमा १० प्रतिशत आयात कर लगाउने र जुन १ देखि २५ प्रतिशत पुर्याउने घोषणा गरेका थिए। यो कदमले प्रदर्शनकारीहरूमा थप आक्रोश बढाएको छ।
‘मलाई लागेको थियो आजको दिन यसभन्दा खराब हुन सक्दैन, तर झन् भयो’, स्थानीय युवा मलिक डोलेरुप–शेबेलले भने। उनले ट्रम्पको कदमले अरू राष्ट्र तथा जनताप्रति कुनै संवेदनशीलता नदेखाएको बताए।
ट्रम्पले विगतदेखि नै खनिज स्रोतले धनी ग्रीनल्याण्डलाई अमेरिकाले किन्नुपर्ने वा ‘एक तरिकाले वा अर्को तरिकाले’ आफ्नो बनाउनुपर्ने धारणा राख्दै आएका छन्। ग्रीनल्याण्ड डेनमार्कको स्वशासित क्षेत्र हो। यस महिनाको सुरुमा भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई हटाउने कारबाहीपछि उनको अडान अझ कडा बनेको स्थानीय नेताहरूले बताएका छन्।
२१ वर्षीय डोलेरुप–शेबेल र प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनका अनुसार यो प्रदर्शन नुकको जनसङ्ख्याको करिब एक चौथाइ सहभागी भएको इतिहासकै सबैभन्दा ठूलो हो। डेनमार्कका विभिन्न सहरहरू (कोपनहेगन, आरहुस, आलबोर्ग, ओडेनसे) र क्यानाडाको इनुइट क्षेत्रमा पनि ऐक्यबद्धता प्रदर्शन भएका छन्।
कोपनहेगनकी एलिस रिचीमहिलाले ‘यो केवल ग्रीनल्याण्डको होइन, सम्पूर्ण विश्वको विषय हो’ भन्दै सानो राष्ट्र बिक्रीमा नहुने स्पष्ट सन्देश दिइन्।
नुकमा सबै उमेर समूहका नागरिक सहभागी थिए। ४७ वर्षीया मेरी पेडरसनले सन्तानसहित भाग लिइन्। ‘हामी हाम्रो देश, संस्कृति र परिवार सुरक्षित राख्न चाहन्छौं’, उनले भनिन्। उनकी नौ वर्षीया छोरी अलास्काले आफैं बनाएको ‘ग्रीनल्याण्ड बिक्रीका लागि होइन’ प्लेकार्ड बोकेकी थिइन्।
नुकका प्रहरी अधिकारी टम ओल्सेनले यो प्रदर्शन आफूले देखेको सबैभन्दा ठूलो भएको बताए। ‘यसले युरोप एकताबद्ध छ भन्ने सन्देश दिन सकोस्’, उनले भने।
ग्रीनल्याण्डकी पूर्वसांसद टिली मार्टिनसनले ट्रम्प प्रशासनले यो ‘अविवेकी विचार’ त्याग्ने आशा व्यक्त गरिन्। उनले मित्रताको नाममा सुरु भएका कुरा अहिले खुला धम्कीमा परिणत भएको टिप्पणी गरिन् र नाटो तथा ग्रीनल्याण्डको स्वायत्तता संरक्षण बढी महत्वपूर्ण भएको बताइन्।
४० वर्षीया नर्स लुइस लेनर्ट ओल्सेनले ट्रम्पभन्दा अमेरिकी जनतालाई सन्देश दिन चाहेको बताइन्। ‘हामी अहिले जस्तो ग्रीनल्याण्ड रहन चाहन्छौं भन्ने हाम्रो इच्छालाई उनीहरूले समर्थन गरून्’, उनले भनिन्, ‘मलाई आशा छ, उनीहरू आफ्नै राष्ट्रपतिको गलत कदमविरुद्ध उभिनेछन्।’ एपी
प्रकाशित: ४ माघ २०८२ १४:०६ आइतबार





