२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

आकाशको तारा टिप्ने, जून झार्ने मान्छे म होइन!

मुक्तक

१) मुक्तक

अव्यक्त सारा भावनाहरूले मूर्त रूप लिए जस्तै

जन्मौंको प्यास मानौं एकै घुट्कोमा पिए जस्तै

जिउने ढङ्ग नजान्दा जिन्दगी थोरै लाग्न सक्छ

जान्नेलाई एकै जीवन, हजार जीवन जिए जस्तै!

२) मुक्तक

कसलाई के थाहा, के लेख्यो भावीले यो शिरमा

मसानमा उम्रेको फूल पनि चढेकै छ मन्दिरमा

भाग्य भरोसा बस्नेहरू मात्रै ठगिएको ठान्छन्

पौरखमा रम्ने हात कहाँ बाँधिएको छ जञ्जीरमा!

३) मुक्तक

जिउँदै नर्क भोगिरहें स्वर्ग देख्ने लोभको ठहरमा

दानव बन्ने हौसला थिएन मान्छे बनें म रहरमा

पत्थर भए देवता भनेर पुज्थे होलान् सायद

मूल्यहीन भएछु मान्छे बनेर ढुङ्गाको शहरमा।

४) मुक्तक

खुशीको एकपल काफी, दु:खकाे भारी साट्नलाई

एक छनक किरण भए पुग्छ बादल फाट्नलाई

जतिसुकै धारिलो धार किन नहोस् त्यो छुरीको

दियो नै काम आउँछ आखिर अँध्यारो काट्नलाई!

५) मुक्तक

मस्जिद नहोस्, मन्दिर नहोस्, खुदा भगवान् नहोस्  

सब समान होस्, कोही गरीब कोही धनवान् नहोस्

एउटै रेखा सबको हत्केलामा होस् मेहनतको

कोही गरीब मजदूर, कोही सामन्ती बलवान् नहोस्।

६) मुक्तक

धुम्म दिन पनि खुल्छ आगमनसँगै बर्सातको  

जसरी मिर्मिरेले सङ्केत दिन्छ सुनौलो प्रभातको

जीवनमा दु:ख पर्‍याे भनेर निराश नहुनू कदापि

अन्त्य आफैंमा पहिलो कदम हो नयाँ शुरुवातको।

) मुक्तक

विगतका अनुभवलाई टेकेर अर्तिको कुरा गर्छु

आवाद बस्तीको मात्रै होइन, पर्तीको कुरा गर्छु

आकाशको तारा टिप्ने, जून झार्ने मान्छे म होइन

माटोमा रमाउँछु, त्यसैले त धर्तीको कुरा गर्छु।

८) मुक्तक

इच्छाहरूले सधैं यहाँ जानीजानी छल्दै गयो

चाहेको र पाएको बीच खिचातानी चल्दै गयो  

ओर्लिन जातले दिएन उक्लिन औकातले दिएन

रहर र बाध्यताबीच जिन्दगानी ढल्दै गयो।

) मुक्तक

तिमीले अनादर गर्दैमा मर्ने मेरो आस्था होइन

खण्डहर जस्तै भत्किएर झर्ने मेरो आस्था होइन

मस्जिदमा उम्रिएको फूल मन्दिरमा चढोस् बरु

फूलको भाग्यमा डाह गर्ने मेरो आस्था होइन।

१०) मुक्तक

रातको आफ्नै महत्त्व छ, गुजारा घामले मात्रै हुँदैन

बिनाप्रसङ्ग रावण, रामायण पूरा रामले मात्रै हुँदैन

दायाँ हातले दान दिँदा बायाँ हातले पत्तै नपाओस् बरु

खुशी यसरी पनि त मिल्छ, सधैं नामले मात्रै हुँदैन।

प्रकाशित: २६ आश्विन २०८१ १३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App