जीवन यात्रा हो। यो यात्रामा अनेकन् अड्चन र उल्झन आउँछ। समस्याको चाङ पनि आइपर्छ। ती सबैलाई सुल्झाउन आफैं लाग्नुपर्छ। यो यात्रा रहर र बाध्यतामा गरिएको होइन। यो त जीवनलाई जीवन्त बनाउन गरिन्छ। अरूले त सुझाव मात्र हो। यात्रामा कहिले हाँसो कहिले रुवाइ कहिले अभाव र दुस्ख पीडा त कहिले खुसी पनि मिल्छ। जीवनमा अनगिन्ती समस्याका पहाड झेल्नुपरेको पीडा आफ्नै ठाउँमा छ। जीवनका तरेलीहरू बाटोमा बयली खेल्दै, फुल्दै, झर्दै र पत्झड बन्दै हिॅंडिरहेका अनगिन्ती मान्छेको सपना हो जीवन। यिनै र यस्तै अनुभूतिका घटनाक्रम समेटिएको लघुकथासङ्ग्रह हो-‘हाम्रो बाटो’।
जीवनका पहेँली र अस्तित्वका लागि यात्रामा प्राप्त अनुभवलाई मान्छेले अगाडिको सुखद बाटो मान्छ। मान्छे एउटा जीवन यात्री हो। जीवन सुखद बनाउने पहेँली खोज्न कुदिरहेका हुन्छन्। सहजता र असहजताबिच आफूलाई उभ्याउॅंछन। कहिलेकाहीँ यात्रामा सिकेका कुरा सामान्य लाग्छ। जीवनलाई बुझ्नै सकिएन भनेझैँ हुन्छ। तिनै कुरा कहिले कसिलो र ओजिलो लाग्छ। त्यही कुराले सताउॅंदा कहिलेकाहीँ बोझिलो लाग्न सक्छ।
सबै जीवनयात्राको अनुभूति हुन्। जीवनलाई जीवनजस्तै बनाउन यात्राका अनुभवले महत्व राख्छ। कतिपय सानातिना सेवालाई अहिलेका व्यस्त मान्छेले केही होझैँ ठान्दैन। मान्छेको जीवन भोगाइ र त्यस क्रममा आउने बाधाव्यवधान नै जीवन अनुभूतिका शृङ्खला हुन्।
यात्रामा समेटिएका अनुभवका आरोहावरोहको सजीवता सार्थक जीवनको महत्वपूर्ण कडी हो। जीवनलाई सार्थक तुल्याउन मान्छे निरन्तर हिॅंडिरहेको हुन्छ। हिॅंड्नुको पनि अर्थ हुन्छ। हिॅंडाइको गन्तव्य के हो आदिइत्यादि। आफू रहे, बसेको समाज कस्तो छ, कस्तो होस् भन्ने चाहन्छ, यस्ता प्रश्नहरू निश्चय नै मनमा उब्जिरहन्छ। यस्ता प्रश्नहरूको जवाफ कहाँबाट मिल्छ र कसले दिने? समाजका अगुवाहरूको मुख ताकिरहेका हुन्छौँ।
समाज व्यवस्थित ढङ्गले चलाउन अगुवाको भूमिका निश्चय नै हुन्छ। अगुवा असल चुनिएन भने समाज र राष्ट्रलाई सही दिशामा डोर्याउन सक्दैन। समाज डोर्याउन सही दृष्टिकोण र देशमुखी विचार चाहिन्छ। सही योजनाको आवश्यकता पर्छ। त्यसका लागि बनेका हरेक नीति र कार्यक्रमको व्यवस्थित कार्यन्वयन पहिलो सर्त हो। त्यसो गर्न सके मात्र देशले सही ढङ्गबाट विकास र समृद्ध बनाउन अरूको भर पर्नु पर्दैन। तर, नेतृत्व सबल नहुँदा देश र जनताप्रति उत्तरदायी बन्नेभन्दा दिनप्रतिदिन विदेशीको भर पर्नुपर्ने भएको हो। त्यसैले विदेशी शक्तिको गिद्दे नजर मुलुकमा परिरहेको छ। त्यसप्रति सर्जक राईले आफ्नो लघुकथाका विभिन्न पात्रमार्फत खबरदारी गरेका छन्। हाम्रो बाटो लघुकथासङ्ग्रहका सर्जक राईले कथामा विभिन्न पात्रहरूबाट व्यक्त गरेका छन्।
राजनीतिक र सामाजिक परिवेश
समाजमा व्याप्त विसङ्गति र विकृतिको कारक नै अस्थिर राजनीति हो भन्ने उनको ठम्याइ छ। दाउपेचको राजनीतिले सिङ्गो नेपाली समाजलाई विकृतिपूर्ण बनाएको छ। केन्द्रदेखि स्थानीय तहसम्मै त्यसको असर परेको छ। विदेशी शक्ति केन्द्रसामु लम्पसार पर्ने जनताको बिचमा अनापसनाप कुर्लने प्रवृत्तिको तीखो आलोचना गरेका छन्।
सर्जक राईको उक्त लघुकथासङ्ग्रहमा समेटिएका एकसट्ठी लघुकथामध्ये जीविकोपार्जन, म्यानेजर, धोका, जनगायक, चाहना, विश्वासघात, हड्डी, रेकर्ड र नुनको सोझो लगायतका लघुकथाहरूमा मुलुकमा विद्यमान राजनीतिक अवस्था र प्रवृत्तिको उजागर गरेका छन्।
दस वर्षे जनयुद्ध र २०६२/०६३ को ऎतिहासिक जनआन्दोलनको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको हो। यहाँसम्म आइपुग्नु पनि पराई शक्तिकै इसारामा हो। माओवादी द्वन्द्वको केही सकारात्मक र धेरै नकारात्मक व्यवहार शैलीको पनि चर्चा गरेका छन्। बेइमानी स्वार्थी र आडम्बरी राजनीतिक व्यवहार शैली भित्र्याउन उद्दत माओवादी द्वन्द्वकै कारण समाजमा अराजकता बढेको इङ्गित गरेका छन्। प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा भित्रिएको नेतातन्त्रको गलत व्यवहारलाई चामल निफनेझैँ निफनेका छन्।
संस्कृति र परम्पराबारे
उनका कथाहरूमा नेपाली विविधता, रहनसहन, संस्कृति, चाडपर्वको सन्दर्भ केलाइएका छन्। कोभिडका पीडाले संसारभरका मान्छे प्रताडित बन्नुपरेको घटनाक्रम कथामा समेटिएका छन्। सामाजिक अव्यवस्था, अराजकता र बेथितिका प्रसङ्गहरू जोडेर कथा बुनेका छन्। सर्जक राईका जीवन भोगाइ र जन्मिएको भूगोलको माया, त्यहाँको स्थानीय जनजीवन, त्यस ठाउँलाई अराजकता र विसङ्गत राजनीतिले पारेको नकारात्मक प्रभावको चिरफार गरेका छन्।
म्यामराज राई साठीको दशकदेखि साहित्य लेखनमा सक्रिय छन्। लघुकथा विधामा कलम चलाउने राईको २०६२ सालमा पहिलो लघुकथा आशीर्वाद शीर्षकको लघुकथा लेखेका थिए। उनको कथामा पृथक र नवीन शैलीको प्रयोग गरेका छन्। उनको लघुकथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। कथामा आफ्नै समाज वरपरका पात्र र घटनालाई कथावस्तु बनाएका छन्।
असार १२ गते भोजपुर जिल्लाको हतुवागढी- ६ होम्ताङ्मा जन्मेका राई जीवनलाई जीवन बनाउने क्रममा जिन्दगीको बालवय जन्मभूमिमा बिताएका राई जीवन जिउने सिलसिलामा कैयन उकालीओह्राली पार गर्दै यतिबेला जापानमा कर्म गर्दै छन्। जन्मस्थल भोजपुर भए पनि जापान बसेरै नेपाली साहित्यको सेवामा सक्रिय छन्।
विदेशमा रहेर स्वदेशी माटो, समाज, संस्कार, चलनचाजोबारे कलम चलाउॅंदै आएका छन्। उनमा देशप्रतिको अगाध माया भएको बताउँछन्। देशमा राजनीतिक दलहरूको भूमिकाप्रति आक्रोश व्यक्त गर्छन्। दलहरूको गलत प्रवृत्तिकै कारण अस्थिरता बढ्दै गएको घटनाक्रमलाई कथामा सर्जक राईले उतारेका छन्।
उनका कतिपय कथा सामाजिक मनोविज्ञानसॅंग सम्बन्धित छन्। त्यस्तै बालमनोविज्ञानका कुरा शिक्षक र अभिभावक बिचको कुरा, धामी झाँक्री बोक्सी प्रथाबारे त्यसको सकारात्मक र नकारात्मक पक्ष दर्शाइएको छ।
मान्छेले मान्छेलाई लगाउने आरोपप्रत्यारोप लगायतका ससाना सन्दर्भ सुन्दर ढङ्गले कथामा जोडिएको छ। समाजका अगुवा र ठुला मान्छेले जे गर्यो बालबालिकाले त्यसको अनुसरण गर्छ। त्यसको नकारात्मक उनीहरूलाई असर पर्छ। त्यसकारण अभिभावक सचेत बन्नुपर्छ भन्ने कुरा उठाइएको छ। सामाजिक, सांस्कृतिक, राजनीतिक लगायतका विकृतिबारे लघुकथामा विभिन्न पात्रका माध्यमबाट सर्जकले आफ्नो धारणा व्यक्त गरेका छन्।
अन्त्यमा, म्यामराज राईको ‘हाम्रो बाटो’ नामक लघुकथासङ्ग्रहसहित एकदर्जन स्रष्टाका पुस्तक लघुकथासङ्ग्रह विमोचन समारोह पुरानो बानेश्वरमा भएको थियो। उक्त समारोहमा सहभागी बन्ने अवसर मलाई साहित्यकार एवं नवप्रज्ञापन साहित्यिक पत्रिकाका सम्पादक/ प्रकाशक नवराज रिजालले जुराइदिएका हुन्। त्यही उक्त पुस्तक मेरो हातमा परेको हो।
उनको हाम्रो बाटो लघुकथासङ्ग्रह मैले दोहोर्याइतेहेर्याई पढेँ। कथावस्तु रोचक, घोचक र समसामयिक छन्। सर्जक राईको जीवन अनुभूतिका समग्र पाटा पक्षलाई केन्द्र मानेर लेखिएको लघुकथा आफैँ बोल्छ। लघुकथा आफैँमा छोटा हुन्छन्। यसमा जीवनका सम्पूर्ण अनुभूति समेट्न सकिन्न। त्यसैले छोटो र मिठो शब्दमा कथा बुन्ने कथाको उद्देश्य र घटनाक्रम झल्किन्छ। त्यसैले लघुकथा छोटो लेख्ने मान्यता छ। कथा सरल भाषामा सबैले बुझ्नेगरी लेखिएका छन्। पढूँपढूँ लाग्छ। पढ्दै जाँदा झनै जाँगर चल्छ। सर्जक राईलाई सत् सत् नमन। आगामी दिनमा यस्तै र अझै उत्कृष्ट सिर्जना पढ्न पाइयोस् यही कामना छ।
प्रकाशित: ३ आश्विन २०८१ ०९:३७ बिहीबार