९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

‘बगैँचा’ मा सौन्दर्य सिन्धु

पुस्तक

‘बगैँचाका’ लघुकथाकृति हातमा आएपछि एकपल्ट सोचेँ। लाग्यो सकारात्मकता उद्बोध हुने शीर्षक रहेछ। बगैँचाभित्र फुलेका फूलको सादृश्यमा जीवनका विविध पक्ष अनुलिखित भएका होलान्। यही कल्पना गरेँ।

नेपाली साहित्य जगतमा शुक्रराज कुँवर नसुनिएको नाम होइन। २०२० सालमा तत्कालीन मलायामा जन्मिएका हुन् लघुकथाकार कुँवर। धरान १०, बलभद्रपथ, सुनसरीलाई ठाउँठहर बनाई पत्नी मीना राया कुँवर र छोरासुलभ कुँवर तथा छोरी सुमी कुँवरसँग आनन्द भावमा जीवनयापन गरिरहेका छन्। धरानेली हुन् उनी। व्यवस्थापनमा स्नातक सकेर राष्ट्रिय वाणिज्य बैङ्कमा जागिरे जीवन पूरा गरी सेवानिवृत्त भइसकेका छन्। र, सेवानिवृत्तपछिको वास्तविक उमङे जीवन लगभग साहित्यमा समर्पित गरेका छन्। तीसकै दशकदेखि साहित्य सिर्जनामा लागेका तर सङ्कलन तथा संरक्षण गर्न नसम्झेका स्रष्टा हुन् कुँवर। यसकारण यो लघुकथासङ्ग्रह उनको पहिलो कृति बन्न पुगेको छ। पहिलो कृति लघुकथामा आउनु पनि संयोगीय आनन्द हो।

लघुकथामा मूलतः दुई सौन्दर्य हुन्छन्-रूप सौन्दर्य र वस्तुसौन्दर्य। रूपले कृतिको बाह्य सुन्दरता प्रकट गर्छ भने वस्तु सौन्दर्यले त्यसभित्रको गुण अभिव्यक्त गर्छ। अर्थात् रूपले लघुकथाको विशिष्ट बनावट विज्ञानमाथि आँखा लगाउँछ। वस्तुले कथ्यको भाव गुह्यता तथा पाठकको प्राप्ति अनुशीलन गर्छ। यद्यपि लेखक आफ्ना वैचारिक तथा प्रस्तुतिका कुरामा सार्वभौम हुन्छ। लेखकले सिद्धान्तलाई अगाडि राखेर लेख्न सक्दैन। लेख्न पनि हुन्न। तथापि प्रचलित मान्यता हेक्का राखियो भने सिद्धान्त सिर्जनाको सहयोगी हुन जान्छ।

लघुकथामा रूपविधानको चर्चा गर्दा शीर्षकदेखि समापनसम्म कुतूहलताको हेक्का प्रथम मानिन्छ। अर्थात् लघुकथा कुतूहलताको धागोमा बुनिन्छ। परम्परागतभन्दा नितान्त भिन्न आकस्मिक उठान लघुकथाको रूपविधानको एउटा अवयव हो।

कथ्य विनिर्माण गर्दा संक्षिप्तता तथा तीव्रता हेक्का राखिनुपर्ने कुरा हो। उत्कर्षमा चुस्तता, समापनमा प्रतिध्वन्यात्मकता तथा समग्रमा आँपको टिकुला चटनी जस्तो स्वादिलो हुने आख्यानलाई लघुकथा मानिन्छ। भाषिक प्रस्तुतिमा सूत्रता, आकारमा लघुत्व, समग्र प्रस्तुतिमा अविस्तारीकरण लघुकथाका रूपविधान भित्र पर्ने विषय हुन्।

लघुकथा आख्यानको स्वतन्त्र प्रविधा हो। अर्थात् कथाको खुम्चिएको रूप होइन। अर्थात् कथा वा उपन्यासको एक अनुच्छेद होइन। छोटाकथाभन्दा सर्वदा पृथक् हो। छोटो हुँदैमा लघुकथा हुने होइन। तर फेरि लघुकथा भन्नु आख्यान हो। आख्यान भएकाले लघुकथामा द्वन्द्व, कथानक, पात्र, थिम, प्रयोजन र बनावट हुनुपर्ने हुन्छ। त्यसपछि आएर लघुकथा बुनौटका विशिष्ट विशेषता समावेश गरेपछि मात्र त्यो छोटो आख्यान लघुकथा हुने हो।

लघुकथाको रूपसौन्दर्यका आधारमा हेर्दा प्रस्तुत कृति ‘बगैँचा’ ले आख्यानका आवश्यक तत्त्वलाई अङ्गीकार गरेको छ। अधिकांश लघुकथा आकारमा लघु छन्। सूत्रात्मकता छ। आकस्मिकता छ। प्रतिध्वनि लहर उत्पादन गर्न तत्पर छन्। अर्थात् नेपाली साहित्यमा लघुकथाका लागि प्रचलित रूप मान्यता अनुसरण गरेका छन्। यो भन्नु लघुकथाका लागि महत्त्वपूर्ण कुरा हो।

लघुकथाको वस्तुसौन्दर्य भन्नु कथानक तथा त्यसले उठाएका वैचारिक भावजन्य आवाज हो। वस्तुविधानअन्तर्गत भन्ने हो भने लघुकथाको विशेषता भनेको पाठकका हृदयमा झङ्कार पैदा गराउने र प्रतिध्वनि लहर उत्पन्न गराउने हो। अर्थात् जसरी जस्तो पायो त्यस्तो काठको सुन्दर हलो बनाएमा त्यो सुन्दर त हुन्छ, तर जोत्दैन। लघुकथामा पाठकका हृदयमा झङ्कार पैदा गर्न उठाइएका विषय गम्भीर, गुणग्राही तथा प्रभावजन्य हुनुपर्छ। अर्थात् लघुकथाको कथानक विषय जति अब्बल भयो, त्यति सुन्दर लघुकथाको निर्माण हुन्छ।

लघुकथाकार कुँवरको यो लघुकथाकृति ‘बगैँचा’ मा प्रयुक्त वस्तुसौन्दर्य अर्थात् उठाइएका विषयवस्तु र त्यसको प्रभावजन्यताका हिसाबबाट हेर्दा अधिकांश लघुकथा सामाजिकवृत्तबाट टिपिएका छन्। प्रायः लघुकथाहरूले परम्परागत सामाजिक मान्यतामा सुधार खोजेका छन्।

विषयवस्तुका हिसाबमा हेर्दा कुकुरलाई घरको शोभा मान्ने, बाबुआमालाई तिरस्कार गर्ने नवप्रवृत्तिमाथि व्यङ्ग्य प्रहार छ। समाजको बहुरूप, लैङ्गिक विभेद, छोरा मर्दा बुहारी पोइ टोकुवी, बुहारी मर्दा अर्को बिहे भन्ने कथ्य उजागर गरिएको छ।

नेपाली समाजमा प्रचलित सौतेनी मनोविज्ञानको चित्र उतार्दै समाजका अन्य अन्धविश्वास, पारिवारिक प्रेम अभिव्यक्त भएको छ। छोरीको घरमा मर्दा अगति परिन्छ भन्ने अन्धविश्वास लगायत नेपाली समाजको छुवाछुत प्रथामाथि व्यङ्ग्य प्रहार छ। आफ्नै सन्तान पाहुना भएको परिवेश छ। पाप डरको चर्चा गरिएको छ। आफैं बुद्धका उपदेशको व्याख्या गर्ने अनि आफैं बलि दिन तयार भएको विपर्यास दृश्य छ लघुकथामा।

लघुकथामा महिलालाई विविध भूमिकामा देखाइएको छ। महिलालाई बाँझी भन्ने लोग्नेमान्छेप्रति प्रहार गरिएको छ। आमाको ममत्व रूपको विशद सुन्दरता प्रस्तुत गरिएको छ। सम्पत्तिमोहका कुरा पनि छन्। श्रीमतीलाई साथीको रूपमा मान्नुपर्ने विचार छ। यसै पनि श्रीमतीमा आमा, साथी तथा यौनपार्टनरका रूपमा चित्रण भएकै छ।

प्राणी जगतकाे उत्थानमा यौनको अपरिहार्य छ। त्यसमाथि मानवजातिमा यौनको महत्त्वलाई धर्मशास्त्रहरूले मजाले परिभाषित गरेका छन्। यही कुरा लघुकथाकार कुँवरले कृतिमा अनुलिखित गरेका छन्। यौनशिक्षाको आवश्यकता, गर्भपतन गराउने वर्तमान प्रचलनविरूद्ध भ्रूणको आवाज ध्वनिकृत गरिएको छ। पोर्न परिवेशलाई पनि लघुकथामा निर्धक्कसँग अभिव्यक्त गरिएको छ। बाबुआमाको चर्तिकला देखेर अबोध बालिकाको मगजमा आएको यौनमनोविज्ञान समेत उल्लेख गरिएको छ।

कुँवरका लघुकथामा मान्छेका विविध रूप उजागर भएको छ। जनावरभन्दा मान्छे वदत्तर भएकोमा चिन्ता प्रकट गरिएको छ। साथीत्वको महत्त्व, पेसागत धर्मको आवश्यकता, पशुअधिकारको विषय उठाउने अनि आफैँ बलि दिन पुग्नेप्रति मान्छेको प्रवृत्तिप्रति प्रहार छ। परिश्रम गर्ने मान्छेको कुरा छन् र नरभक्षी मान्छेलाई मारेर मान्छेले नै विद्रोह गरेका अवस्थाहरू यही कृतिभित्र समेटिएका छन्।

लघुकथाकार कुँवरले वर्तमान नेपालको वृद्ध आमाबाबुको समस्यालाई प्राथमिकता दिएर लेखेका छन्। विदेश पुगेका सन्तानका बाबुआमाको पीडामा सहभागी भएका छन्। र, बाबुआमा भन्दा ठूलो तीर्थ केही छैन, बाबुआमा साक्षात् देवता हुन् भन्ने मान्यतालाई सवलीकरण गरेका छन्।

लघुकथाकार बाँचेको समाज राजनीतिक परिस्थितिबाट आक्रान्त भएको छ। यसो भएकाले राजनीतिले बिगारेको समाजमा राष्ट्रियताको भावना उजागर गर्ने अभिप्राय रहेको छ।

वास्तवमा समाजमा ‘नयाँ नेपाल बनाउँछु’ भन्दै नेताले आफ्नै नयाँ घर बनाएको, नक्कली शहीद खडा गरेर दस लाख झ्वाम पारेको विदीर्ण अवस्था छ। सोही कुरालाई लघुकथाकार कुँवरले प्रभावजन्य तरीकाले अभिव्यक्त गरेका छन्।

राष्ट्रियता, राष्टप्रेम उनको मूलमन्त्र भएको छ। हुन पनि गणतन्त्रले विसङ्गति उब्जाएको छ। न्याय किनुवा भएको छ। घुसले देश नै आक्रान्त छ। मतदाता खरिदबिक्री भएका छन्। यस्तो विपद राजनीतिक अवस्थामा पनि उनले नेपाली माटोको सुगन्धलाई उचाइमा पुर्याएका छन्।

यसरी लघुकथाकार कुँवरले ‘बगैँचा’ लघुकथासङ्ग्रहमा रूपसौन्दर्य तथा वस्तुसौन्दर्यलाई पन्पाएका छन्। यो कृति पढिरहँदा स्तरीय खोराक पाइन्छ। जीवनजगत्, समाज, राष्ट्रका प्रति इमान्दार बनेका छन्। विषय गाम्भीर्य उनको विशेषताका रूपमा छन्। उनको जीवनको लामो अनुभव समाविष्ट भएर आख्यानीकरण भएको छ। यसो भएकाले रुप तथा वस्तुसौन्दर्यका हिसाबमा कृतिभित्र गुरू गाम्भीर्य देखिन्छ। यद्यपि गाम्भीर्यको जेनिथ नाप्नु पनि अभेद्य कुरा हो। कृतिकारका उच्छवासहरू कृतिका रूपमा आउनु निसन्देह अब्बल कुरा हो। जिन्दगीको सार्थकताको आकारीकरण पनि हो। सौन्दर्य सिन्धु अनवरत बगिरहेको छ। यो बगाइ जीवनका जँघारमा जखमले कुरा हो।

लघुकथाकार कुँवरको लेख्ने अनि सङ्ग्रह नगर्ने बानीमा पनि यो कृतिले सुधार ल्याएको छ। अब अझै मनका उकालीओह्रालीहरू सललल बगिरहून् भन्ने शुभकामना अर्पिन्छु।

प्रकाशित: २७ भाद्र २०८१ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App