६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

रवि, बालेन र कुलमानबिचको वार्ता सहमति नजिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबिचको एकता प्रयास निष्कर्ष नजिक पुगेको छ।

समानुपातिक बन्दसूची बुझाउने अन्तिम समयमा आएर रास्वपा सभापति रवि लामिछाने, ऊर्जामन्त्री एवं उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिचको वार्ता सकारात्मक मोडमा पुगेको हो।

रास्वपा सांसद असिम शाहको कमलपोखरीस्थित कार्यालयमा विगत दुई घण्टादेखि त्रिपक्षीय वार्ता जारी छ। स्रोतका अनुसार नेताहरूबिचको छलफल लगभग टुंगोमा पुगेको छ र अहिले सहमतिको मस्यौदा (ड्राफ्ट) तयार पार्ने काम भइरहेको छ।

केही बेरमा सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ। यद्यपि, पदीय बाँडफाँट र अन्य सर्तहरूमा के–कस्तो सहमति भयो भन्नेबारे आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन।

यसअघि घिसिङले कार्यकारी सभापति, ‘चिम’ चुनाव चिह्न र आलोपालो प्रधानमन्त्रीको सर्त राखेपछि वार्ता भाँडिएको थियो। तर, हामी नेपालका संयोजक एवं जेन-जी अभियानका सुदन गुरुङ, लगायतको टोलीले घिसिङलाई सहजीकरण गर्दै पुनः वार्तास्थलमा पुर्‍याएपछि संवादले गति लिएको हो।

निर्वाचन आयोगमा समानुपातिक बन्दसूची बुझाउने समय घर्कनै लाग्दा नेताहरू अन्तिम कसरतमा जुटेका हुन्। यता, सहमति नजुटेको अवस्थालाई मध्यनजर गर्दै उज्यालो नेपाल पार्टीको एउटा टोली भने बन्दसूचीसहित निर्वाचन आयोगमा तयारी अवस्थामा बसेको छ।

रास्वपाले पनि हालसम्म बन्दसूची बुझाएको छैन।

प्रकाशित: १४ पुस २०८२ १९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App