१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

देश निर्वाचनमा होमियोः मन्त्री खरेल

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताएका छन्।

आज गोरखामा आयोजित स्मार्ट हुलाक घोषणा तथा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खरेलले आगामी निर्वाचनमा सहभागी हुने सबै दलले निर्वाचन आयोगमा सूची दर्ता गराइसकेपछि देश औपचारिक रूपमा निर्वाचन प्रक्रियामा प्रवेश गरेको स्पष्ट पारे।

आगामी फागुन २१ गते निर्वाचन हुन्छ कि हुँदैन भन्ने बहस समाप्त भइसकेको उल्लेख गर्दै मन्त्री खरेलले तोकिएकै समयमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने दाबी गरे। उनले भने, ‘चुनाव हुन्छ कि हुँदैन भन्ने बहस अब अन्त्य भइसकेको छ। आगामी निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न सबैले भाग लिने वातावरण बनाउनुपर्छ।’

विगतमा विषम परिस्थितिमा समेत निर्वाचन सम्पन्न भएको स्मरण गराउँदै मन्त्री खरेलले यसपटक पनि सरकार र राजनीतिक दल शान्तिपूर्ण रूपमा निर्वाचन गर्न सफल हुने विश्वास व्यक्त गरे। उनले निर्वाचनको पहिलो सर्त शान्ति सुरक्षा भएको उल्लेख गर्दै सरकारले ढुक्क भएर मतदान गर्न सकिने वातावरण निर्माण गरिरहेको बताए। सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेकाले शान्ति सुरक्षामा समस्या नआउने उनको भनाइ थियो।

देशको विकास र समृद्धिका लागि सबै नागरिकलाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन र योग्य उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे।

हरेक निर्वाचनमा जस्तै यसपटक पनि इ–भोटिङ र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने विषय चर्चामा रहेको उल्लेख गर्दै मन्त्री खरेलले त्यसका लागि सरकारको प्रयास जारी रहेको जानकारी दिए। अन्तरजिल्ला तथा वैकल्पिक मतदान प्रणालीका विषयमा गम्भीर छलफल भइरहेको पनि उनले बताए।

मन्त्री खरेलले सबै सरोकारवालालाई निर्वाचन सफल बनाउन आह्वान गर्दै स्मार्ट हुलाक सेवामार्फत हुलाक सेवा घरघरमा पुर्‍याउन सम्बन्धित निकायलाई निर्देशन दिए।

कार्यक्रममा सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले स्मार्ट हुलाक सेवा सुरु भएसँगै गोरखा जिल्ला हुलाक उदाहरणीय बनेको बताइन्। सूचना प्रविधिको विकाससँगै हुलाक सेवालाई पनि रूपान्तरण गरी नागरिकले अधिकतम लाभ लिन सक्ने गरी सरकारले काम गरिरहेको उनको भनाइ थियो।

प्रकाशित: १४ पुस २०८२ १९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App