३१ भाद्र २०८१ सोमबार
image/svg+xml
कला

श्रीकृष्णले लाखेको बध गरेपछि सकियो एकमहिने बर्खे नाच

म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रूपमा देखाइने एकमहिने ‘बर्खे नाच’ शुक्रबार साँभ सकिएको छ। करिब तीन सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएसँगै सुरु भएको बर्खेनाच तीजको दिन शनिबार भगवान् श्रीकृष्णले दानवीय स्वरूपको लाखेलाई बध गरेसँगै अन्त्य भएको हो। बेनीबजार परिक्रमण गरी संगमचोकमा लाखेसँग भएको भीषण लडाइँमा भगवान् श्रीकृष्णले हत्या गरेको दृश्य हेर्नेको भीड रहेको थियो।

लडाइँमा दानवको बध भएपछि समाजलाई त्रसित बनाउने राक्षसको टाउको प्रदर्शन गरिएको थियो। मानव बस्तीको विस्तारसँगै देशका विभिन्न स्थानबाट बेनीमा नेवार समुदाय आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो। यसरी भित्रिएको नेवार संस्कृतिमध्ये बर्खे नाचअन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिनदेखि तीजसम्म बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ।

परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विसर्जन गरिएपछि बेनीमा बर्खे नाच सुरु भएको नेपाल भाषामंकाःखलका कार्यवाहक अध्यक्ष कुबिरकुमार श्रेष्ठले बताए। ‘राक्षसका रूपमा रहेको लाखेलाई भगवान् श्रीकृष्णले बध गर्नुहुन्छ, ‘असत्यमाथि सत्यको विजयी हुने सन्देश छाडेर नाच सकिन्छ’, श्रेष्ठले भने।

बर्खे नाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिएको छ। पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ। एक महिनासम्म विभिन्न नाच देखाएर परम्परागत संस्कृति र पौराणिक महत्वलाई प्रदर्शन गरिन्छ।

ठूला–ठूला आँखा भएकी, दाह्रा निकालेकी, जगल्टा फिँजाएकी देख्दै डरलाग्दी घण्टाकर्णकी श्रीमतीलाई लाखेको संज्ञा दिएर प्रदर्शन गरिने यो नाच बेनीको प्रसिद्ध नाच हो। हिन्दु धर्मग्रन्थमा वर्णित द्वापरयुगामा भगवान् श्रीकृष्ण र उनका मामा कंशबिचको लडाइँको अभिनय गरी यो नाच नाच्ने गरिन्छ।

नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गरेको बताइए पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाहरूले बताएका छन्।  

‘असत्यमाथि सत्यको विजयी हुने सन्देश छोडेर नाच सकिन्छ, बर्खे नाचका सबै नृत्यहरू परम्परागत छन्’ नेपाल भाषा मंकाःखलका सांस्कृतिक संयोजक सञ्जयकुमार श्रेष्ठले भने। बर्खेनाचको समापनसँगै नेपालीको प्रमुख पर्व दसैं–तिहारसँगै अन्य चाडपर्वको रौनकता छाउँछ। एकमहिने बर्खेनाचमा करिब एक सयभन्दा बढी कलाकार प्रत्यक्ष सहभागी भएका थिए।

बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसोवास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाको समेत सहभागिता रहेको श्रेष्ठको भनाइ छ। बर्खेनाचले सांस्कृतिक परम्परासँगै व्यापारमा समेत चहलपहल हुने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठको बताए।

उनले जिल्लामा धार्मिक, सांस्कृतिक गतिविधिले पर्यटन प्रवर्धनमा समेत सघाउने र आर्थिक गतिविधिसमेत चलायमान हुने बताए।  संस्कृति नै लोप हुने अवस्था आउन नदिन युवाहरूले पनि बर्खे नाचका विभिन्न नृत्य सिकेर निरन्तरता दिएको हो।

प्रकाशित: २२ भाद्र २०८१ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App