साहित्यकार सूर्यप्रसाद लाकोजूको ‘मेरो घाम’ चर्चित कवितासंग्रहमाथि लेखिएको ‘घामका उपासक सूर्यप्रसाद लाकोजू’ समालोचना कृतिकाे वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराईले लोकार्पण गरेका छन्।
साहित्यकार भीमप्रसाद काफ्लेले लेखेकाे समालाेचना कृतिकाे लाेकार्पण कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै डा. भट्टराईले उमेरमा आफूभन्दा कनिष्ठ तर लेखनमा बलिष्ठ भएकैले यो पुस्तक प्रकाशन भएको विचार पोखे।
कवि सूर्य लाकोजूको ‘मेरो घाम’ भित्रका कविताहरू हृदयस्पर्शी भएकाले ती कविताहरूबारे पुस्तक नै लेख्नु सामान्य कुरा नभएको उनले बताए।
लेखक भीमप्रसाद काफ्लेले मेरो घामले आफूलाई स्पर्श गरेकैले यो पुस्तक तयार भएको प्रतिक्रिया दिए।
त्यस्तै टिप्पणीकार तुयुकाजी ताम्राकारले ‘घामका उपासक सूर्यप्रसाद लाकोजू’ कृति सुन्दर कवितामाथि गरिएकाे व्याख्यात्मक समालोचना भएको बताए।
कार्यक्रममा कवि सूर्य लाकोजू, विष्णु ओली लगायतले मन्तव्य व्यक्त गरेका थिए।
सूर्यप्रसाद लाकोजू सिर्जना,साहित्यिक पत्रकारिता र साहित्यिक अभियानका त्रिवेणी हुन्। उनै साहित्यकार, साहित्यिक पत्रकार, साहित्यिक अभियन्ता सूर्य लाकोजूको व्यक्तित्व र कवित्व झल्कने गरी सो पुस्तक तयार पारिएको हो। पुस्तक अक्षरमार्गले प्रकाशन गरेको हो।
प्रकाशित: १७ भाद्र २०८१ ०७:५७ सोमबार





