किशोरगञ्ज जाँदै थियौँ हामी। बङ्गलादेशको राजधानी ढाकाबाट चौरानब्बे किलोमिटर टाढाको एउटा गाउँ। योजना बनेको थिएन यहाँ आउने। आकस्मिक रूपमा तयार भएको यात्रा थियो। काठमाडौंबाट टिकट लिँदा फर्किने टिकट नभएको कारण एक दिन फुर्सदिमा थियौं हामी। त्यसैलाई अवसर बनाउनुभएको थियो मैसुर अहमदले। उहाँको निश्चित कार्यक्रम थियो त्यहाँ। हाम्रो पनि आज कुनै कार्यक्रम नभएकाले जानलाई भन्नुभएको थियो। मैसुर हामीलाई निमन्त्रणा गर्ने बङ्गलादेश नेपाल फ्रेण्डसिप सोसाइटीका अध्यक्ष हुनुहुन्छ। त्यसबाहेक उहाँ प्रसिद्ध व्यापारी र अन्तर्राष्ट्रिय लायनका अगुवा पनि।
चैत तीन गतेको ढाकाको बिहानी शीतल थियो अठहत्तर सालको। बिहानको ब्रेकफास्ट गरिसकेको थियौँ हामी सबैले। होटलबाहिर रोकिरहेको माइक्रो बसमा बस्यौं इच्छा अनुसारको सिटमा। हामीलाई लिन मैसुर र बिर्जु भाइ आउनुभएको थियो। हामी नेपालबाट गएकाहरूमध्ये कवि उमेश अकिञ्चनलाई सञ्चो नभएकाले उहाँ कोठामा नै आराम गरेर बस्नुभयो।
आज विदाको दिन भएकाले सडकमा गाडीहरूको घुइँचाे निकै कम थियो। त्यसैले कतै पनि नरोकीकन गाडी सजिलोसँग अगाडि बढिरहेको थियो। आजै बङ्गलादेशका राष्ट्रपिता ज्याउर रहमानको एकसय एकऔँ जन्मजयन्ती पनि रहेछ। त्यसैको उपलक्ष्यमा हामीलाई किशोरगञ्जमा हुने कार्यक्रममा लगिएको रहेछ।
हामीले हिजै मात्र राष्ट्रपिताको हत्या भएको निवासमा गएर श्रद्धाञ्जलि व्यक्त गरेका थियौं। कति दुखद् घटना भएको थियो त्यस दिन। सन् १९७५ अगष्ट १५ तारिखको उहाँको नाममा उहाँका परिवारसहित सत्र जनाको हत्या भएको थियो।
वंंश नै नरहने गरी गरिएको थियो विभत्स हत्या मध्यरातमा। धन्य एउटी छोरी विदेशमा पढ्दै गरेकाले बचेका रहेछन्। जो अहिले प्रधानमन्त्री छन्। यो वंशहत्याले नेपाललाई पनि सम्झायो। लोकप्रिय राजा मानिएका वीरन्द्रको पनि वंश नै नरहने गरी हत्या भएको थियो आफ्नै दरबारभित्र अन्ठाउन्न सालमा। हाम्रा राजा भने वर्षमा एक दिन सम्झिने गरिन्छ हत्या भएको दिन जेठ उन्नाइस गते। तर बङ्गलादेशमा भने हुनसम्मको सम्मान गरेर राष्ट्रपिताका रूपमा मानिएको छ बङ्गवन्धु मुजिवर रहमानलाई।
किशोरगञ्ज नेपालकै नेपालगञ्ज शहरको जस्तै नाम छ। बाटो पनि तराइतिरको जस्तै छ। सडकका दायाँबायाँ खेतैखेत छन्। ठाउँठाउँमा आउने सडकछेउका बजार पनि उस्तै। घरहरू पनि तराइतिरको जस्तै गाउँलेपाराको।
सडक खुला जस्तै छ। बेलाबेलमा भेटिएका छन् मालबाहक ट्रकहरू। साना गाडीहरू फाट्टफुट्ट मात्र। केही किलोमिटर यात्रा गरेपछि देखिन्छन् टाढैबाट देखिने सडकमाथि राखिएका हरिया बोर्डहरू। बोर्डमा त्यस ठाउँको, आउने ठाउँको नाम र बाँकी किलोमिटर पनि लेखिएको छ अङ्ग्रेजी र बङ्गालीमा पनि। निरन्तर बढिरहेको गाडीको झ्यालबाट देखिरहेका थिए गाउँका नामहरू नारानगोञ्ज, रूपगोञ्ज। एउटा गञ्ज भएको गाउँ पुग्नलाई गोञ्ज नै गोञ्जका गाउँहरू पार गर्नुपर्ने रहेछ।
गाडीभित्र प्रतीकजी निरन्तरजस्तै बोलिरहनुभएको छ। रामप्रसादजी र शङ्करजी केही नबोली शान्त बसिरहनुभएको छ। पवनजी, लक्ष्मणजी र यादवजी फाटफुट बोलिरहनुभएको छ। मेरो भने आज बिहानदेखि नै स्वर दबेको जस्तो भएको छ।
ढाकामा करोडौं यातायातको साधन गुड्छन् हरेक दिन। तर पनि खासै प्रदूषणको प्रभाव देखिंदैन। नकोतरिएका सार्वजनिक यातायात सितिमिति देखिंदैन। धुँवाको मुस्लो फ्यालेर गुडेको पनि देखिंदैन। ग्याँसको प्रयोग गर्दारहेछन् अधिकांश साधनले यहाँ। यस्तो त काठमाडौंले सिके पनि हुन्थ्यो नि।
हुस्सुले डम्म ढाकिएको गाउँ देखियो टाढैबाट। यो गाउँ नै औद्योगिक क्षेत्र बनेको रहेछ। प्रत्येक उद्योगमाथिका चिम्नीबाट धुँवाको मुस्लो निस्किरहेको थियो। पूरै प्रदूषित रहेछ यो गाउँ त। हामी कहाँ हुनेभन्दा ठ्याक्कै विपरीत। शहर प्रदूषित र गाउँ सुरक्षित। ढिलोचाँडो यस्तै हुने दिन पनि नआउला भन्न सकिँदैन हाम्रो देशमा पनि।
अव्यवस्थित छ यतातिरको यातायातको हकाइ। नेपालमा पनि व्यवस्थित त होइन तर ढाकाको भन्दा व्यवस्थित नै देखिन्छ। यता ट्राफिक नियम पनि बलियो देखिंदैन। सडकमा देखिएका ट्राफिक प्रहरीहरू पनि नेपालका जस्ता फुर्तिला देखिँदैनन्। तर पनि गएको छ दिनमा दुर्घटना भएको देखिएको थिएन।
यता आएपछि भने देखियो सडकछेउमा नै पल्टिरहेको ट्र्क। ट्रकभन्दा धेरै देखिने भुसको बोराहरू अर्को ट्रकमा ओसारिरहेका थिए मजदुरहरू। हाम्रो गाडी पनि निकै स्पिडमा गइरहेको थियो। एक्कासि छेउ लगाएर रोक्यो ड्राइभरले। अगाडितिर एउटा मोटरसाइकललाई ठक्कर दिएर भागिसकेको रहेछ गाडी। मोटरसाइकल एकातिर र चालक अर्कोतिर लडिरहेको थियो। वरपरका मान्छेहरू आएर मोटरसाइकलवालालाई उठाउँदै थियो। तर हाम्रो ड्राइभरले अलिकति पनि वास्ता गरेन र गाडीलाई अगाडि बढाइहाल्यो।
केही अगाडि बढेपछि नजिकै आठ लेनको बाटो बनिरहेको देखियो। अन्तिम चरणमा पुगेको यस निर्माणधीन सडकको नाम एसियन हाइवे राखिएको रहेछ। बनिसकेपछि यो बाटोले युरोप अमेरिकातिरको सम्झना गराउने जस्तो लाग्यो मलाई। हो पनि, विकासको पहिलो पूर्वाधार भनेकै बाटो नै हो। यो आठ लेनको हाइवेमा यातायात सञ्चालन हुन थालेपछि मानिसको गतिविधि त बढ्छ नै। त्यसले मानिसको जीवनस्तर पनि उठाउँछ नै। देशको विकासलाई पनि प्रष्ट देखाउँछ नै।
केहीबेर अगाडि बढेपछि सडकमा लेखिएको थियो भैरव रोड। यताका ठाउँहरू नेपालका जस्तै देखेर अचम्म लागिरहेको थियो। मुस्लिम राष्ट्रमा हिन्दूका देवताका नाममा गाउँको नाम नै राखिएको छ।
यो कुनै संयोग मात्रै हो कि? कि थियो पहिले कुनै सम्बन्ध पनि? धर्मले हिन्दू र मुस्लिम विपरीत मानिन्छ। भारतका कतिपय ऐतिहासिक स्थलहरू मुस्लिम शासकको पालामा निर्माण गरिएको भए पनि त्यस ठाउँमा पहिला हिन्दूहरूको नै कुनै न कुनै तीर्थस्थल भएको मानिन्छ।
भारतकै आगराको प्रसिद्ध ताजमहलको बारेमा डा.नागेश्वर ओकले लेखेको किताबमा पहिले यहीँ हिन्दुहरूको शिवालय थियो भन्ने सयौँ उदाहरण दिइएको छ। त्यसैले यो ठाउँको बारेमा पनि खोज अनुसन्धान गर्ने हो भने कुनै न कुनै समय कुनै न कुनै किसिमले हिन्दुहरू बसोबास गर्ने क्षेत्र भएको पत्ता नलाग्ला भन्न सकिँदैन। अहिले भने यो ठाउँलाई तरकारी र फलफूलका लागि प्रसिद्ध क्षेत्र भनेर चिनिँदो रहेछ। यहाँका अधिकांश तरकारी र फलफूल ढाकामा नै पु¥याइने रहेछ।
हावा हाल्ने पसलछेउमा गएर रोक्यो हाम्रो गाडी। सबै पाङ्ग्रा जाँचेर हाल्यो हावा।
आज अहिलेसम्म कुनै ट्राफिक जाममा पर्नुपरेको छैन। उपलब्धि हो यो यात्राको। हिजो दिउँसो हामी शहिद स्मारकको भ्रमण गरेर फर्कँदा एकै ठाउँमा डेढ घण्टा थुनिनुपरेको थियो। बाहिर पैतिस डिग्रीको तापक्रम थियो। बसको एसीले काम गरेको थिएन। शरीरबाट निरन्तर पसिना निस्केको निस्कै भइरहेको थियो। जाम अलिअलि खुल्नासाथ हाम्रो राजु ड्राइभरले एम्बुलेन्सको साइरन बजाउँदै दायाँबायाँ गर्दै जामबाट निकालेको थियो। पछि सहायक बाटो हुँदै होटल पु¥याएको थियो। हामीलाई एयरपोर्टमा लिन आएदेखि राजुले हाम्रो गाडी चलाइरहेको छ। ऊ कुदाउन मात्र होइन सबैलाई उछिन्न पनि सिपालु छ।
गाउँको यात्रा सुरू भएदेखि जतासुकै खेतै खेत देखिएका छन्। तर हाम्रोतिर जस्तो कतै पनि प्लटिङ भएको देखिएको छैन। डाँडाकाँडामा पनि डोजरले सम्याएर प्लटिङ गरेको देखिरहेका हाम्रा आँखालाई अचम्म पनि लाग्छ। यता भने खेतहरूमा खेती मात्रै भइरहेका छन्।
किशोरगञ्जको नुवागाउँमा आइपुगेर रोकियो गाडी। यहाँ पशुको हाटबजारजस्तै लागेको रहेछ। तर जता पनि गाईको मात्र किनबेच भइरहेको छ। कतै ठूला गाई कतै बाच्छाबाच्छीका घाँटीमा बाँधिएको डोरी समातेर मालिकहरू बसिरहेका छन्। मोलमोलाइ गरिरहेजस्ता छन् किन्ने र बेच्नेहरू। हामी कहाँ खसीबोकाको जस्तै मासुका लागि गाईको किनबेच भइरहेको छ।
गाडीबाट ओर्लिएपछि हामी पैदल हिँड्न थाल्छौँ। यो बाटो स्कुल जाने बाटो रहेछ। बाटोको दायाँँबायाँ दुवैतिर छात्राहरू हातहातमा फूल लिएर बसेका छन्। हामीहरू अगाडि बढ्नासाथ दुवैतिरबाट हामीमाथि पुष्पवृष्टि गर्छन् छात्राहरू।
मुस्लिम देशका छात्राहरू पुरूषहरूलाई फूल छर्केर स्वागत गरिरहेका छन्। मजाले भएको जस्तो लाग्यो स्वतन्त्रताको उपयोग। वरिपरि स्कुल भवनको प्राङ्गणमा माथिपट्टि पाल राखिएको छ। मञ्चतिरका केही मेचमा हामीलाई आसन ग्रहण गराइयो। अगाडिका मेचमा बसे चार सय जति विद्यार्थी।
यो गाउँ हामीलाई ल्याउने बङ्गलादेश नेपाल फ्रेण्डसिप सोसाइटीका अध्यक्ष मैसुर अहमदको गाउँ रहेछ। उहाँले निः शुल्कमा चलाउनुभएको रहेछ यो स्कुल। लायन मुजिव मुना गल्स स्कुलको सञ्चालक समितिको अध्यक्ष पनि उहाँ नै हुनुहुँदो रहेछ।
आजको राष्ट्रपति मुजिवर रहमानको जन्मजयन्ती र शिशु दिवस पनि रहेछ। कार्यक्रमको सुरूवात कुरान वाचनबाट गरियो। कुरान पाठ गरिरहँदा विद्यार्थी र शिक्षकहरूले आफ्ना दुई हात आफ्नै अनुहारतिर फर्काएका थिए। पाठ सकिएपछि सबैले अनुहारमा हातलाई दले। पुरूषहरूले सेता टोपी लगाएका छन् छात्राहरूले सलले कपाल छोपेका छन्। गीत, सङ्गीत, नृत्य, अभिनय देखाए पालैपालाे। एउटा गीत त हाम्रै स्वागतका लागि पनि बनाएका रहेछन्। हाम्रो तर्फबाट यादव भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रम सकिएपछि गाउँ घुम्न निस्कन्छौँ प्रतीकजी र म। एकजना सहयोगी पनि थियो हाम्रो साथमा। जतासुकै खेतै खेत छ। घरहरू फाट्टफुट्ट मात्र छन्। बाटाहरू सानासाना छन्। पूरै तराइतिरको गाउँँ। सानो गाउँले पसलमा बसेर कुरा गरिरहेका थियौँ हामी। चार युवती ठमठमी हामीतिर आइरहेका टाढैबाट देखिन्थे। सायद खेतबाट घरतिर फर्कदैका होलान् भन्ने सोच्छु। पूरै गाउँले वेशभूषामा भएका उनीहरू सरासर हामी भएको ठाउँमा आएर पैसा माग्न थाले। हामीसँगै आएको बङ्गालीले उनीहरू विदेशी हुन्। उनीहरूसँग हाम्रो पैसा छैन भने।
एउटी अलि टाठीजस्ती देखिने युवतीले उनीसँग ठूलो आवाजमा कराउन थालिन्। कुरा त के बुझिन्थ्यो र? आशय भने हामीले उनीहरूसँग मागेको तिमीलाई के मतलब भनेजस्तो लाग्यो। डलर भए पनि हुन्छ भन्दै थिए उनीहरू। प्रतीकजीसँग भएको टाका दिनुभएपछि उनीहरू कराउँदै बाटो लागेका थिए।
बच्चा बोकेकी तीनचार युवतीले पनि खानका लागि भनेर हात मुखमा लगेर मागेका थिए। ढाकाको एउटा पार्कमा पनि त्यस्तै। शिल्पकला एकेडेमीमा भएको कार्यक्रमका एकजना कलाकारले पनि बक्सिस भन्दै पैसा मागेका थिए।
त्यतिबेला हार्मोनियम बजाएर गीत गाइरहेका थिए एकजना गायक। साथ दिने अर्का तबलावादक थिए। गीत सकिने बेलामा एकजना दुब्ला पातला ज्यान भएका मान्छे आएर खैँजडी बजाउन थाले। गीत सकेर मञ्चबाट गइसक्दा पनि त्यो मान्छे भने मूतिजस्तै बनेर बसिरहेको थिए।
हास्यकलाकार पो रहेछ भन्ने लागेको थियो। सम्मानपत्र ग्रहण गरेर म मञ्चबाट ओर्लँदै थिएँ। त्यही खैँजडीवाला मेरो अगाडि आइपुग्यो। शिर निहुराएर दुवै हातले अगाडि देखाउँदै जानलाई सङ्केत गरे। उनी मेरो पछिपछि आइरहेको थिए। किन यसो गरिरहेको छ यो मान्छे भनेर अचम्म लागिरहेको थियो। गाडी आइपुगेको भनेपछि गएर कारमा बस्न लाग्दा उसले दुई हात थापेर भनेको थियो, बक्सिस, बक्सिस।
दिवा भोजनको व्यवस्था गरिएको थियो मैसुरजीकै गाउँको घरमा। अरूहरू धेरैजना पनि थिए भोजन गर्नेहरू। सुरूमा हामीलाई भोजन कक्षमा लगियो। त्यहाँ टेबलभरि माछाका परिकार र गोरूको मासु पनि राखिएको थियो। हामीले भनेपछि हटाएका थिए गोरूको मासु।
गाउँका केही स्थानमा फोटाहरू खिचेर हामी ढाका फर्किँदा बाटाका बत्तीहरू सबैतिर बलिसकेका थिए।
प्रकाशित: २१ श्रावण २०८१ ०९:३९ सोमबार