१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

अनुवादकाे क्षेत्रमा नेपाल प्रज्ञाप्रतिष्ठान

नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक समाज नेपालको सहकार्यमा ‘अनुवाद गोष्ठी’ को आयोजना प्रतिष्ठानकै देवकोटा सभाकक्षमा गरेको छ।

प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ ले गोष्ठीको ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्दै अनुवादकाे भूमिका उल्लेखीय रहेकाे बताए।

‘दुई आयामिक भाषाको ज्ञान र सञ्चार हो। आफ्नै रैथाने भाषाभाषीमा पनि अनुवादको काम हुनुपर्छ। जुन लोकभाषा, साहित्य, कथन, इतिहास, संस्कृति र मौलिकता बुझ्न र आत्मसात् गर्न अनुवादकाे उल्लेखीय भूमिका हुन्छ।’

साथै उनले प्रज्ञाप्रतिष्ठानबाट प्रसिद्व कतिपय पुस्तक अनुवाद भइसकेका छन्, त्यस्ता कृति थप प्रकाशित हुँदै जानेमा जोड दिएका थिए।

प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद) विभाग प्रमुख हंसावती कुर्मीले गोष्ठीको सभाध्यक्षता गरेकी थिइन्। उनले भाषा जान्दैमा अनुवाद गर्न सकिन्छ भन्ने छैन, यो एक प्राविधिक विधा हो। प्रज्ञाप्रतिष्ठानले अनुवादबाट उत्पन्न हुने चुनौतीकाे क्रमश: सम्बाेधन गर्ने छ। यससम्बन्धी प्रश्न र जिज्ञासाको निरूपण छलफल र विमर्शबाट हुने छ भन्दै अनुवादले एक अर्कालाई परिचित गराउने बताउँदै गोष्ठीको समापन गरेकी थिइन्।

 

गोष्ठीमा अनुवादक समाज नेपालका महासचिव डा. ऋषिराम अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अनुवाद ज्ञान, विज्ञान र प्रविधिसँग समेत जोडिन्छ। यसले एक आपसमा भाषाको सञ्चार गर्छ र लेखनमा समृद्धि ल्याउन अनुवादको महत्त्व रहेको हुन्छ भन्ने धारणा राखेका थिए।

गोष्ठीमा डा. बलराम अधिकारीकाे ‘अनुवादको भाषा: सैद्धान्तिक बहस र अभ्यास’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो। कार्यपत्रमा शाब्दिक तथा संरचनात्मक तहको भाषा र अनुसन्धानको औचित्यबारे व्याख्या गरिएको थियो।

यस गोष्ठीमा प्रस्तुत गरिएको उक्त कार्यपत्रकाे टिप्पणी गर्दै अनुवादक राजन जोशीले अनूदित कृतिको मौलिकता र मर्म मर्नु नहुने बताए। ‘अनुवाद बोझिलो र भड्किलो हुनु हुँदैन। अनुवादको भाषा सरल र बोधगम्य हुनुपर्छ। कुनै पनि स्रष्टाको अनूदित कृतिको मौलिकता र मर्म मर्नु हुँदैन। त्यतातिर अनुवादकको ध्यान जानुपर्छ।’

प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (कविता/काव्य) विभाग प्रमुख बाबा बस्नेतले लेखकभन्दा पनि अनुवादक सचेत हुनुपर्छ। गुगलबाट हुने अनुवादमा मौलिकता रहँदैन। यसको विशिष्टतालाई जोगाउन सुझाव दिएकी थिइन्।

अनुवादक समाज नेपालका सचिव सकुनकुमार जोशीले सञ्चालन गरेकाे गोष्ठीमा प्राज्ञसभा सदस्यद्वय धर्मेश पोखरेल र प्रकाश तिवारीले प्रस्तुत कार्यपत्रमाथि जिज्ञासा राखेका थिए।

प्राज्ञ चेतनाथ धमलाकाे अनुसार गोष्ठीमा सहभागीमध्येबाट रामबहादुर पहाडी, अजितमान तामाङ, डा. सोम धिमाल, ठाकुर अमगाई, वेदना उपाध्याय, कृष्ण अधिकारी र उमेश बस्ती लगायतले उक्त कार्यक्रममा आआफ्नो सुझाव र जिज्ञासा प्रकट गरेका थिए।

प्रकाशित: ३२ जेष्ठ २०८१ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App