नेपाल प्रज्ञाप्रतिष्ठान सामाजिकशास्त्र विभागले आयोजना गरेको दुई दिने सामाजिकशास्त्र वार्षिक सङ्गगोष्ठी २०८१ सम्पन्न भएको छ।
‘राजनीतिक परिवर्तन र नेपाली समाज’ मुख्य विषय रहेको उक्त सङ्गोष्ठीमा सामाजिक शास्त्रको पठनपाठनमा राष्ट्रिय चिन्तन, इतिहास र समाज, द्वन्द्व र शान्ति निर्माण प्रक्रियामा समाज, सामाजिक विभेद र उत्पीडनले पारेका प्रभाव लगायत विभिन्न विषयका १३ लेखरचना गोष्ठीमा प्रस्तुत गरिएको थियो।
लेखकहरूका लागि सूचना आह्वानपछि प्राप्त सोधमूलक ५८ लेखमध्येबाट प्राज्ञिक मूल्याङ्कन समितिले गोष्ठीका लागि अनुसन्धानात्मक २२ लेख छनोट गरेको थियो।
प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले उक्त सङ्गोष्ठीलाई सम्बोधन गर्दै समाज, राजनीति, अर्थशास्त्र र मानिसको चिन्तन प्रणालीसँग समाजशास्त्र गाँसिएको बताए। समाजवादउन्मुख संविधानप्रदत समाजवाद ल्याउन सबभन्दा पहिले समाज चिन्न सक्नुपर्ने पनि उनले बताए।
प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ ले समाजका तमाम पक्षको अध्ययन गरेर मात्रै सबै विषयमा अघि बढ्न सकिने बताएका थिए।
त्यसैगरी प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले समाजको अध्ययन गर्ने दायित्व प्रतिष्ठानको पनि रहेकाले समाजका विविध पक्षको अध्ययन गर्न सामाजिकशास्त्र सङ्गोष्ठीको आयोजना गरिएको बताएका थिए।
उक्त सङ्गोष्ठी उद्घाटन सत्रका सभाध्यक्ष, प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले कार्यक्रममा प्रमुख विषय राजनीतिक परिवर्तन र नेपाली समाजमा जोड दिएको बताइन्, ‘नेपालको राजनीतिक इतिहासमा अनेकौं घटनाक्रम जोडिन्छ्न्, देशमा राजनीतिक परिवर्तन त भयो स्थायित्व र विकास भयो कि भएन? समावेशिताको सिद्धान्त सन्तोषजनक छ त? २०७२ मा जारी संविधानपछि मुलुक समाजवादतर्फ उन्मुख भएको हो त? जातीय लैङ्गिक, भाषिक अधिकारको ठोस आकार प्राप्त भयो र भएन? यी प्रश्नहरूमा बहस आवश्यक छ। त्यसैले कार्यक्रमको प्रमुख विषय राजनीतिक परिवर्तन र नेपाली समाजमा जोड दिइएको हो।’
समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा समाज सदैव गतिशील र परिवर्तनशील हुन्छ। अहिले भएका राज्यको शासकीय स्वरूपसँगै सबै वर्ग र समुदायको सांस्कृतिक अस्तित्व, राजनीतिक अधिकार र नेपाली जनताको सामाजिक, आर्थिक पक्ष राजनीतिक परिवर्तनसँग जोडिएका विषय हुन्। राजनीतिशास्त्र, अर्थनीति, मानवशास्त्र, इतिहास, जातीय सवाल, सांस्कृतिक विषय, भाषिक अवस्था, पठनपाठनमा राष्ट्रिय चिन्तन, स्वास्थ्यको सवाल जस्ता विषय नेपाल प्रज्ञाप्रतिष्ठानको पनि चासो र सरोकार भएकाले यिनै विषयमा बहस गर्न यस किसिमको सङ्गोष्ठीको आयोजना गरिएको पनि उनले बताइन्।
यस सामाजिकशास्त्र सङ्गोष्ठीमा ‘राजनीतिक परिवर्तन र नेपाली समाज’, शीर्षकका मुख्य प्रवचनकर्ता प्राडा कृष्ण हाछेथुले अग्रगामी परिवर्तन भनिए पनि सांस्कृतिक र जातीय विभेद र असमानता व्याप्त छ भनेका थिए।
यस सङ्गोष्ठीलाई पहिलो र दोस्रो सत्रमा विभाजन गरिएको थियो। यी दुवै सत्रमा क्रमशः २२ अनुसन्धानात्मक लेख प्रस्तुत गरिएको थियो। जसमा प्राडा दीपबहादुर अधिकारीको ‘नेपाली समाज र जनस्वास्थ्य’, कुमार यात्रु रटासी लामाको आदिवासी ह्याल्मोको प्रथाजन्य स्वशासन पद्धति, डा. सोमबहादुर धिमालको नेपालका आदिवासीमा जीवित सङ्ग्रहालयको सम्भावना र औचित्य, तुलसी सापकोटाको नेपालमा कोरोना महामारी कालमा सञ्चारसंस्थाको पत्रकारमैत्री रणनीतिको सामाजिकशास्त्रीय अध्ययन, भोजविक्रम बुढामगरको नेपाली राजनीतिमा मगर जातिको समावेशिकरणको अवस्था, कृष्णकुमार शाहको मधेस प्रदेशको राजनीतिमा सीमान्तकृत दलित प्रस्तुत गरिएकाे थियाे।
त्यस्तै दामोदर न्यौपानेको योग र प्राकृतिक चिकित्सा, गौरी तमूको ‘तमूको राजनीति परिवर्तन जनजातिका पहिचानका आधारहरू, मकरबहादुर सार्कीको सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू, सन्तोष चोङवाङ लिम्बूको सङ्घीय नेपालमा एकीकृत बहुभाषा योजना र आवश्यकता विषयक लेख प्रस्तुत गरिएकाे थियाे।
यसैगरी गङ्गा पुनको इन्टरप्राइज आइडेन्टिफिकेसन एण्ड निड्स् एसेसमेन्ट: अन द राेल्पा मगर रिजन, डा. पुनम आर एल रानाको नेक्सस बिटविन द वैदिक म्यारिज सिस्टम एण्ड द ट्रान्जिसन इन द सनातन नेशन अफ काठमाडाैं, डा. शशी थापा पण्डितको थामी जातिमा राजनीतिक परिवर्तनले पारेको सामाजिक असर, डा. श्यामु थापा मगरको रिभिजिटि इन्डिजिनस इथिक आइडेन्टिफाइ मुभमेन्ट इन द कन्टेक्स्ट अफ द पाेलिटिकल चेन्ज इन् नेपाल, डा. सुरेशकुमार ढकालको समावेशी लोकतन्त्र र सांस्कृतिक राजनीतिक पश्चिम नेपालका थारूहरूको पहिचानसहितको समावेशीताको अभ्यास प्रस्तुत गरिएकाे थियाे।
डा. देवी पौडेलको नेपालको सन्दर्भमा राजनीतिक परिवर्तन र समाज विकासका आयामहरू, हिक्मतबहादुर खत्रीको सामाजिकशास्त्रको पठनपाठनमा राष्ट्रिय चिन्तन, केशव पुडासैनी विमलको नेपालको वर्तमान शासन व्यवस्था र समाजवाद स्थापनाको प्रश्न, डा. विष्णुराज उप्रेतीको द्वन्द्व र शान्ति निर्माण प्रक्रियामा समाज, योगी दयानाथको नाथ सम्प्रदाय र नेपाली समाज, हरि रोकाको विकास र समाज, केशवराज सिलवालको रिसर्च नेपालिज साेसाइटिज थ्रु रिसाइडेन्टल रिलाेकेशन एण्ड इट्स साेसल इफेक्ट र धर्मेश पोखरेलको नेपाली जनयुद्धको सौन्दर्य प्रस्तुत गरिएको थियो।
यसैगरी पहिलो सत्र प्राडा कर्णाखर खतिवडाको अध्यक्षतामा भएको थियो। ‘नेपाली राजनीतिक परिवर्तनको सन्दर्भमा समावेशिता’ विषयक शीर्षकमा प्राडा त्रिरत्न मानन्धर, प्राडा रामकृष्ण तिवारी,उप प्राडा लक्ष्मी थापामगर र डा. निमानन्द रिजालले समूहगत छलफल गरेका थिए। यसको सहजकर्तामा प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य डा. विष्णुकुमार सिञ्जाली रहेका थिए।
यस गोष्ठीको दोस्रो सत्रको अध्यक्षता प्राडा प्रेम खत्रीले गरेका थिए। यस सत्रमा समाज र राजनीति, संस्कृति र सीमान्तकृत समुदायका बारेमा बहस भएको थियो।
तेस्रो सत्रको अध्यक्षता प्राडा सोम खतिवडाले गरेका थिए। यस सत्रमा विकास र समाजबारे बहस भएको थियो। प्रा. दिनेशराज पन्तले अध्यक्षता गरेकाे चौथो सत्रमा द्वन्द्व र शान्ति, समाजवाद र आदिवासी पहिचानका विषयमा बहस गरिएको थियो।
प्राज्ञ चेतनाथ धमलाका अनुसार प्रत्येक सत्रको अन्तिममा फ्लोर ओपनको लागि पन्ध्र मिनेट छुट्याइएको थियो। यस समयमा सहभागीका विभिन्न जिज्ञासा र प्रश्नको उत्तर प्रस्तोताबाट दिइएको र सुझाव सङ्कलन गरिएको थियो। प्रस्तुत भएका सबै लेख आवश्यक परिमार्जनसहित विज्ञ समीक्षित गराई ‘समाज अन्वेषण’ को आगामी अङ्कमा प्रकाशन गरिने बताइको थियो।
दुई दिने सङ्गोष्ठीको सञ्चालन लगायत अन्य व्यवस्थापन विभागीय सदस्यहरूले गरेका थिए। कार्यक्रममा कार्यपत्र प्रस्तोता, प्रमुख वक्ता, सत्राध्यक्ष लगायत सङ्गोष्ठी सफल पार्न निरन्तर लागिपर्ने संयोजकद्वय डा. विष्णुकुमार सिङ्जाली र नारायण शर्मा तथा विभागका सदस्यहरू विश्वेश्वर कट्टेल, डा.टीपी धमला, धर्मेश पोखरेललाई कुलपति भूपाल राईले प्रशंसापत्र प्रदान गरेका थिए। कार्यक्रमको समापनपूर्व डा.टीपी धमलाले धन्यवाद ज्ञापन गरेका थिए।
प्रकाशित: २१ जेष्ठ २०८१ ०७:४७ सोमबार