१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

रंगकर्मी खतिवडाको अकथ्य विमोचन

रंगकर्मी प्रवीण खतिवडाको कथा संग्रह अकथ्य आज विमोचन गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा विश्लेषक सिके लाल, साहित्यकार एवम् कलाकार सगुना शाह, कलाकार सौगात मल्ल र लेखक खतिवडाले पुस्तक विमोचन गरेका थिए। खतिवडाको कथा संग्रहमा नौवटा कथा समेटिएका छन्।

पुस्तक विमोचन गर्दै विश्लेषक सिके लालले खतिवडाले आँसु, आवेग र परिवर्तनको चाहनाका कथा लेखेको र ती कथा पाठकलाई सोच्न र यथास्थितिमाथि प्रश्न गर्न बाध्य पार्ने खालको भएको टिप्पणी गरे।

‘केन्द्रीय पात्रहरुलाई स्थापित गरेर नाटक र सिनेमाको उतारचढावयुक्त संरचनामा लेखिएका कथाहरु पुस्तकमा छन्’, विश्लेषक लालले भने, ‘सायद त्यही भएर कथाहरुमा सहायक पात्र गौण छन्।’

यसैगरी साहित्यकार एवम् कलाकार सगुना शाहले प्रवीणका कथा गम्भीर र गहन भएको टिप्पणी गरे। कलाकार सौगात मल्लले खतिवडासँग रंगमञ्चदेखि चलचित्रसम्म आफ्नो सहकार्य हुने गरेको चर्चा गरे। ‘कथा लेख्ने, सृजनात्मक लेखन गर्ने कुरा त हामीबीच हुन्थ्यो। म लेख्ने काममा अलमल गरिरहेको थिएँ’, मल्लले भने, ‘तर मेरो भाइले मलाई सृजनात्मक लेखनमा उछिन्यो।’

लेखक खतिवडा नेपाली रंगमञ्चका निर्देशक पनि हुन्। अभि सुवेदीद्वारा लिखित तथा सुनिल पोखरेलद्वारा निर्देशित आरोहण गुरुकुलको चर्चित नाटक अग्निको कथा (२०६०) बाट उनले रंगमञ्चको अभिनय यात्रा अघि बढाएका थिए। त्यसयता उनले रशोमन, माक्र्स फर्किए, न्यायप्रेमी, घनचक्कर, पानी फोटो, बाघ भैरवजस्ता तीन दर्जन बढी नाटकमा अभिनय गरिसकेका छन्।

त्यस्तै ध्रुव, महादेवको बाजी, लखन पटवारी, हेड्डा ग्याब्लर, ऊ कसको, सरजमिन, मीमांसा, माक्र्स फर्किए, विमोक्ष नाटकको निर्देशनसमेत गरिसकेका छन्।

खतिवडाले नेपाली चलचित्रमा समेत अभिनय गर्दै आएका छन्। लुटबाट चलचित्र अभिनय यात्रा थालेका खतिवडाले लटु २, ढुवानी, विना कारण, कालो पोथी, जात्रा, रंगेली, महाजात्रा, मनसरा, उमा, द स्पोन्सर, मिस्टर झोले, खाग आदि चलचित्रमा समेत अभिनय गरेका छन्।

प्रकाशित: २० फाल्गुन २०८० ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App