“बाबु लक्ष्मण, सुसम्झना।
तिमीलाई भेट्ने काम थियो।”
यति कुराका साथ मोबाइल नम्बर उल्लेख भएको सन्देश पाएँ। एकछिन अकमक्क परेँ अनि अत्यन्त स्नेहिल शब्दले भावुक पनि बनेँ। सन्देश पठाउनुभएको थियो-धादिङ मैदी उखुबारीका रामप्रसाद अधिकारीले। उहाँ शमीभञ्ज्याङ मावि (धादिङ) का पूर्व प्रधानाध्यापक अनि सामाजिक अभियन्ता पनि हुनुहुन्छ। तुरुन्तै सम्पर्क गरेँ।
भन्नुभो-“बुबा मुक्तिनाथ अधिकारीको स्मृति ग्रन्थ निकाल्ने काम गर्दै छौँ। शिवहरि गुरु (मेरा पिताजी) अनि बुबाका सम्बन्धमा केही सम्झना भए लेख न। उहाँहरूका सम्बन्धका बारेमा अलिअलि गुरुआमा (मेरी आमा) लाई पनि थाहा होला।”
म अलि फसादमा पनि परेँ किनकि मैले मेरा बुबालाई त्यति सारो चिन्दै चिनिनँ। बुबाका रूपमा उहाँका धुमिल स्मृति त छन् मनमा तर एकजना विद्वानका रूपमा चिन्न भने सायद मेरो उमेर नै बाधक थियो होला। उहाँलाई चिन्ने भनेको उहाँकै समकालीनहरू अनि उहाँबाट शिक्षा आर्जन गरेकाहरूका भनाइबाट मात्र हो। बरु मुक्तिनाथ अधिकारी बुबाका सम्बन्धमा भने तुलनात्मक रूपमा अलि बढी स्मृति तरङ्गहरू थिए मेरा मानसपटलमा।
अतीतका नदीमा मन तरलित बन्यो।
सम्झेँ-उखुबारी अनि शिक्षादीक्षा प्राप्त गरेको शमीभञ्ज्याङ विद्यालयलाई जहाँ मैले कक्षा ४ देखि ६ सम्मका औपचारिक कक्षाहरू लिने सौभाग्य पाएको थिएँ।
आँखा अघिल्तिर आयो- एउटा विशालकाय शमीको रुख, चुरा बेच्ने चुरौटे दाइको पसल, चिया खाने होटल, पारिपट्टिको खरीको पाखो, कामचलाउ विद्यालय भवन, पश्चिमतिर बग्ने छोरगन्दी खोला अनि खिच्रिमिच्री बेच्न राखिएका गाउँले पसलहरू।
वरपरका गाउँ-कतिपय घरमा खरकै छानाहरू थिए भने कतिपय घर काला स्लेट ढुङ्गाले छाइएका देखिन्थे। मलाई स्कुल आउनेजाने क्रममै कसैले बाटोबाटै चोरीऔंलो तेर्स्याएर चिनाएको थियो, “था’छ ऊ त्यो रामप्रसाद सरको घर हो नि।”
अनि मैले त्यतिवेलै थाहा पाएको थिएँ-रामप्रसाद अधिकारीकै पिताजी हुनुहुँदो रहेछ मुक्तिनाथ अधिकारी।
हामी अमराईबाट जान्थ्यौं शमीभञ्ज्याङ। हामीभन्दा टाढाटाढाका पनि आउँथे त्यहाँ। हाम्रो घरबाट शमीभञ्ज्याङ पुग्न ४५/५० मिनेट जति लाग्दो हो। त्यो पनि सरासर हिँडे मात्र। विद्यार्थी काल खेल्दै र टहलिंदै जाँदा अझ बढी समय पनि लाग्दो हो। हातमा घडी हुन्नथे। यसैले त्यो समय अड्कलकै समय थियो।
म सम्झन्छु-अमराईदेखि उखुबारीसम्मका खोल्साखाल्सीहरू, वनबुट्यानहरू, विशालकाय चौताराहरू, माथिबाट देखिने अमराई गाउँ, दारेगौंडाको झुरुप्प बस्ती, लिस्नेको उकालो, गाउँ र खेत छुट्याउँदै बग्ने भोटे खोलो, टारीखेतका फाँटहरू, खरबारी, रिठ्ठाको धारो, मगर गाउँ अनि उखुबारीका रातो माटाका पाटाहरू। स्कुलबाट फर्किँदा रिठ्ठाहरू बटुलेर ल्याइन्थ्यो, बोक्रा छोडाएर लुगा धोइन्थ्यो अनि भित्री काला दानाहरूलाई गुच्चा बनाएर खेलिन्थ्यो।
कति निर्दोष र असली थियो जीवन। त्यतिखेरका साथीहरू धेरैलाई बिर्सेँ, केहीका स्मृतिहरू धूमिलधूमिल छन् भने केही नगण्य संख्याकालाई भने अझै सम्झन्छु। स्कुलदेखि पश्चिम फेटको जङ्गलमा पाङ्ग्रा खोज्न हिंडेको याद पनि छ अनि छोरगन्दीको किनारतिर स्कुलका डेक्सबेन्च बोक्न पुगेको सम्झना पनि छ।
अहिलेका नयाँ पुस्तालाई यी कुरा सुन्दा अलि आश्चर्य पनि लाग्दो होला-लगभग डेढदुई घण्टाका वरपर कतै पनि माध्यमिक विद्यालय थिएनन्। यातायातका साधनको त कुरै नगरौं। सञ्चार सेटहरू घण्टौं घण्टा हिँड्दा पनि भेटिन्नथे। ती भेट्न सदरमुकाम नै पुग्नुपर्थ्याे। सदरमुकाममा पनि एकाध ठाउँमा मात्र हुन्थे। गाउँघरतिरका दुखेसाहरू बिसाउने ठाउँ भनेको सदरमुकाम नै थियो। घण्टौं लगाएर सदरमुकाम पस्दा पनि गुनासो सुनाउने कर्मचारी नभेटिन पनि सक्थे। सदरमुकाममै कुरिबस्दा पनि खर्चपानीको व्यवस्था कसले गरिदिने?
यी कथाहरू मैले देखेका हिजोका पहाडघरका हुन्। अझ म जन्मिनुभन्दा ३९/४० वर्ष अघिको गाउँको चित्र कस्तो पो थियो होला जुन मेरा पिताजी अनि मुक्तिनाथ अधिकारीले भोग्नुभएको थियो।
आजका तिनै ठाउँहरू निकै नै सुगम बनिसकेका छन्। त्यतिखेरका तुलनामा पहाडघरतिर अकल्पनीय विकास पसिसकेको छ। यी कुरा अनि मैले सुरुमा उप्काएको प्रसङ्गबारे तपाईंलाई लाग्दो होला-यी बीच के तालमेल छ र? मनग्गे तालमेल छ र त भन्दै छु म यी कुराहरूलाई। त्यो समयका कुरै नउप्काई कहाँ बुझिन्छ र ती समयका व्यक्तित्वहरूलाई। आजका समयका आँखाले हिजोका समयलाई हेर्नु हुन्न। यसरी हेरिँदा हिजोका समय, बाटा र यात्रीहरूले न्याय पाउन्नन् भन्ने लाग्छ।
मुक्तिनाथ अधिकारी १९८७ साल असोज १५ मा जन्मनुभएको थियो उखुबारी गाउँमै अनि मेरा पिताजीको जन्म१९८५ सालतिर हो भन्ने सुनेको छु। सुनेको छु किनभने पिताजी शिवहरि अर्यालका जन्म मिति खुल्ने कागजपत्र हामीसँग आज सुरक्षित छैनन्। १९८५ हो भन्ने कुरा पनि मेरा कान्छबा प्रेमनाथ अर्यालबाट मात्रै सुनेको हुँ मैले। महिना र गते कहिले होलान् ती इतिहासकै गर्भमा विलुप्त भए।
यस हिसाबले मुक्तिनाथ अधिकारी र मेरा पिताजीका बीच २ वर्षको समयान्तर थियो। उहाँहरू बीच ज्वाइँ जेठानको नाता रहेछ बोलीचालीमा। मेरा पिताजीलाई उहाँले ज्वाइँ भन्ने अनि मेरा पिताजीले उहाँलाई जेठान भनी सम्बोधन गर्ने। आजकल त जेठानलाई दाइ भनिन्छ। तर, उहाँले जेठान नै भन्नुहुँदो रहेछ-ठेट पारम्परिक बोली।
मुक्तिनाथ अधिकारीसँग हाम्रो पारिवारिक नाता पनि छ। मेरा माइला हजुरबुबाका कान्छा छोरा ढलप्रसादसँग उहाँकी बहिनीको बिहे भएको थियो। यद्यपि उहाँहरूका बीचमा के भयो कुन्नि वैवाहिक सम्बन्ध सुमधुर बन्न सकेन। कान्छ बा ढलप्रसाद त आज हुनु हुन्न-उहाँ भगवान्का प्यारा बनिसक्नुभयो तर कान्छ्यामा भने एउटा वन्दनीय ऐतिहासिक धरोहरका रूपमा अद्यापि जीवित हुनुहुन्छ। यो आपसी पारिवारिक फेरो केलाएर बोल्ने हो भने मुक्तिनाथ अधिकारी र म मामाभान्जा हौं।
मेरा पिताजी कुशाग्र बुद्धिका हुनुहुन्थ्यो रे। त्यतिखेरको समयमा शास्त्री गरेका विद्वानहरू कैयौं गाउँ चाहार्दा पनि एकाध मात्र भेटिन्थे। शास्त्री भनेको संस्कृतमा स्नातक। मेरा पिताजीको अध्ययन शास्त्री नै थियो। हुन त आचार्य पनि पढ्न सुरु गर्नुभएथ्यो रे तर पूरा गर्नुभएनछ।
मुक्तिनाथ अधिकारीले औपचारिक शिक्षा लिनुभएको थिएन। यसो भन्नुभन्दा पनि लिन पाउनुभएन भनौं। किनकि पढ्न चाहेर मात्र पनि कहाँ पाइन्थ्यो र त्यतिवेला पढ्न। यसका लागि धेरै कुराको चाँजोपाँजो मिल्नुपर्थ्याे। तर औपचारिक शिक्षा नपाए पनि आफ्ना संस्कृतज्ञ हजुरबुबासँग कौमुदी, गीता आदिको अध्ययन गर्नुभएको थियो उहाँले। एउटा असल मान्छे बन्न यो अध्ययनले उहाँलाई निकै सघायो।
माथिका सन्दर्भहरूमा मलाई एउटा कुरा थप्न मन लाग्यो-मान्छेको ज्ञानार्जन २ किसिमले हुने गर्छ एउटा पढेर अनि अर्को परेर। मेरा पिताजी पढेर ज्ञानार्जन गर्नुभएका व्यक्तित्व हुनुहुन्थ्यो भने मुक्तिनाथ अधिकारी परेर अर्थात् व्यवहारमा खारिएर ज्ञान हासिल गर्नुभएका व्यक्तित्व हुनुहुन्थ्यो।
हुन त पढेर मात्र पनि हुन्न विद्वताका लागि। पढेर समाज र समय अनुकूलन बनाउन सके नै पढेको सार्थकता हुन्छ। मेरा पिताजीमा ती गुणहरू थिए। अनि परेर खारिएकाहरूमा एउटा नहुने कुरा भनेको औपचारिक डिग्री नै हो। मुक्तिनाथ अधिकारीसँग औपचारिक डिग्री त थिएन तर समय चिन्ने एउटा बलिष्ट तागत थियो, ‘समय र समाज कता बग्दै छ’को युगीन चेतना थियो।
मेरा पिताजीलाई भोग्नेहरूले भन्छन्-उहाँ फरक र दूरगामी सोच भएको हुनुहुन्थ्यो। जे कुरामा पनि उहाँको हेर्ने दृष्टि अरूको भन्दा पृथक् हुन्थ्यो। यही विशेषताले गर्दा अलि परम्पराभिन्न भएर सोच्नेहरूले मेरा पिताजीलाई औधी मन पराउँथे। मुक्तिनाथ अधिकारी र मेरा पिताजीका बीच प्रगाढ आत्मीय बन्नुमा मुक्तिनाथ अधिकारी भित्र रहेको परम्पराभिन्न सोच नै कारक हुन सक्छ।
अर्को कुरा मुक्तिनाथ अधिकारी पढेलेखेका मान्छेलाई अत्यन्त आदरसम्मान गर्नुहुन्थ्यो। विद्वान्हरूसँग सङ्गत गर्ने उहाँको असल बानी थियो। यही बानीको कारण पनि हुन सक्छ-उहाँहरू दुई बीचको खारिएको आत्मीय।
मेरा पिताजीले अध्ययन अध्यापनमा आफूलाई पूर्णतः समर्पित गर्नुभयो। उहाँले धादिङमा ठाउँठाउँमा विद्यालय खोल्नुभयो, खुलेका विद्यालयमा काम गर्नुभयो। अमराईमै रहेको हालको अमरावती माविको प्रारम्भ उहाँले नै गर्नुभएको हो रे। धादिङको भैरवी मावि, शमीभञ्ज्याङ मावि लगायतका विद्यालयमा उहाँको ऐतिहासिक योगदान छ भन्ने सुनेको हुँ।
शैक्षिक अभियानमा उहाँ गोरखाको धावा तान्द्राङमा पनि पुग्नुभएको थियो भनी आमा सुनाइरहनुहुन्छ। धादिङका पुराना मानिसहरूले आज पनि उहाँलाई आदरका साथ सम्झिन्छन्। उहाँले पढाएका शिष्यहरू धादिङमा धेरै छन्। जसमध्ये बद्री दाहाल भष्मासुर सुप्रसिद्ध व्यंग्य लेखक तथा कवि हुन्।
लीलानाथ पौडेल र रामहरि दाहाल प्राध्यापक बने। चितवनका वरिष्ठ राजनीतिज्ञ शेषनाथ अधिकारी पनि उहाँका शिष्य नै हुनुहुन्थ्यो। अरू कोको छन् म जान्दिनँ। उहाँले घरमै विद्यार्थीहरू राखेर शिक्षा दिनुभएको कुराका अवशेषहरू घरमा पछिसम्म नै थिए।
जहाँसम्म मुक्तिनाथ अधिकारीको कुरा छ उहाँ शैक्षिक अभिभावक हुनुहुन्थ्यो। आफूले औपचारिक शिक्षा लिन नपाएको भए पनि आफ्नो गाउँघरका छोराछोरीहरूले सजिलोसँग शिक्षादीक्षा लिन पाऊन् भन्ने सोचले नै उहाँ शैक्षिक उन्नयनमा लाग्नुभएको थियो। विद्यालयको भवननिर्माणमा आर्थिक स्रोत या श्रमदान जुटाउन उहाँले निर्वाह गर्नुभएको भूमिका स्मरणीय छ।
मैले बुझेसम्म विद्यालयमा उहाँको भूमिका अवैतनिक शिक्षक सरहकै थियो। मैले उहाँलाई हरसमय विद्यालयकै कम्पाउन्डभित्र अनि वरपर नै रहेर विद्यार्थीहरूको गतिविधि, शिक्षकहरूका क्रियाकलाप अनि शैक्षिक प्रशासनको कार्यसम्पादनमा निगरानी गरिरहेको देख्थेँ। मलाई लाग्छ-उहाँ उत्प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो।
मेरा पिताजीको सान्निध्य नेपालका प्रख्यात योगी नरहरिनाथसँग पनि थियो। म सम्झिन्छु-योगी हाम्रा घर आएका थिए। अग्लो कद, लामा हात, ठुला कानका लोती भएका योगीका शारीरिक बनावट आज पनि मेरा स्मरणमा ताजा छन्।
योगीले घर वरपरका झार र वृक्षलाई देखाएर कुनकुन रोगका लागि कुनकुन वनस्पति उपयोगी छन् भनेर चिनाएका थिए। त्यसबेला कुनकुन वनस्पतिबारे उनले बोलेका थिए त्यो कुरा म आज केही पनि सम्झन्नँ।
त्यतिखेर ती योगीका सम्बन्धमा मेरो धारणा घरघर भिक्षाटन गरी हिँड्ने जोगी सरह नै थियो तर आज योगीजीका अनुसन्धानमूलक खोजहरू पढ्दा ती विद्वान् योगी मेरा पिताजीलाई भेट्न हाम्रा घर आएकामा गौरवबोध हुन्छ। मैले यहाँ यी प्रसङ्ग किन उठाएँ भने योगीजी मैदी आउँदा आदरणीय अधिकारीकै अध्यक्षतामा सुसम्पन्न कार्यक्रममा उहाँले (योगीजीले) प्रवचन दिनुभएको थियो रे। यो कति सालको घटना हो त्यो भने यकिन छैन।
मैले योगीजीका सम्बन्धमा जोडेको स्मृति र यो घटना एकै समयका नहुन पनि सक्छन्। यस घटनालाई यहाँ जोड्नुको अर्थ अधिकारी र ख्यातिनामा विद्वानहरूको सुसम्बन्ध केलाउनु नै रहेको छ।
२०२१ सालबाट नै शमीभञ्ज्याङ प्राविका रूपमा स्थापित भएको त त्यसको इतिहासले नै बताउँछ। यी कुराहरू म जन्मनु अघिकै हुन्। २०२६ तिर यो विद्यालयलाई निमाविमा स्तरोन्नयन गर्ने कुरा भएछ। समयका हिसावले यो २०२६ भनेको म जन्मिएको साल हो। सोही सालबाटै निमाविको पठनपाठन पनि थालिएछ। यसको सञ्चालनको चाँजोपाँजोमा अधिकारीकै सक्रिय सहभागिता थियो रे। अझ उहाँ त्यतिबेला सो विद्यालयको सञ्चालक समितिको अध्यक्ष हुनुहुन्थ्यो भन्ने सुनेको छु। अनि मेरा पिताजी सोही विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो रे त्यतिबेला।
२०२६ देखि २०३२ सम्म निमावि तह निजी स्रोतमा चलेको सो विद्यालयको सञ्चालनमा शिक्षासेवी अधिकारीको सुझबुझ अनि मेरा पिताजीको बौद्धिक लगानीले निकै आडिलो काम गरेको देखिएको छ। त्यसैको परिणति हो आजको यो भव्य शमीभञ्ज्याङ विद्यालय अनि सोही विद्यालयको प्रवद्र्धनमा स्थापित बुढीगण्डकी क्याम्पस।
यसरी औपचारिक शिक्षा नलिए पनि शिक्षा जनधन हो भन्ने गुढ सार बुझ्नु भएकाले उहाँ एक खाँट्टी शैक्षिक अभियन्ता पनि बन्नुभयो।
अधिकारी १९९७ को शहीद काण्ड हुँदा १० वर्षको हुनुहुन्थ्यो। यो काण्डले उहाँको बालचेतलाई नराम्रोसँग ठुंग्यो। यसैको परिणति मान्नुपर्छ उहाँभित्रको राणाविरोधी भावना। यो विद्रोही भावनाकै उपज थियो-दर्बुङ घाटको काठे पुल भत्काउन गएको घटना। उहाँमा गरीव, दुःखी, निमुखाहरूप्रति असाध्य ठुलो सद्भाव राख्ने स्वभाव थियो। सीमान्तीकृत वर्गप्रति उहाँको सहानुभूति बढी रहन्थ्यो। यही प्रवृत्ति हावी हुँदा उहाँ प्रगतिशील हुनुभयो। कृषिमा आधुनिकीकरणको पृष्ठपोषण गर्ने स्वभावले गर्दा उहाँ किसानका असल साथी पनि बन्नुभयो।
२०३१ सालतिर मेरा पिताजीले योगी जीवन अपनाउनुभयो। उहाँ शिवहरि अर्यालबाट योगी गोविन्दानन्द गिरीमा परिणत हुनुभयो। उहाँ योग गुरु बन्नुभएको होइन।
अर्को कुरा जीविकाका खातिर पो योगी बन्नुभो कि भन्ने कुरा पनि आउला। यो पनि होइन किनकि हामीसँग पहाडघरमा सुखसँग बाँच्न पुग्ने जायजेथा थियो। उहाँ गीताका गम्भीर अध्येता हुनुहुन्थ्यो अनि सङ्गत थियो योगी नरहरिनाथसँग। गीताको गम्भीर प्रभाव परेकाले उहाँले योगी जीवन अपनाउनुभएको कुरा पुष्टि हुने आधारहरू छन्।
निष्कर्षमा उहाँ भौतिक आयामका सीमाहरू भङ्ग गरी अगाडि बढ्ने चाहले योगी बन्नुभएको हो। २०३५ असारमा उहाँ ब्रह्मलीन हुनुभयो। हामीले हाम्रा बलियो र भरपर्दो छाता गुमायौं। पिताजीको देहावसानपछि आदरणीय अधिकारीकै पहलमा मेरी आमा ज्ञानप्रभा अर्याल (हाल ८१ वर्ष) पनि सोही विद्यालयमा पढाउन थाल्नुभयो।
मेरा पिताजीको योगदानलाई सम्झिएर पारिवारिक रूपमा हामी अप्ठ्यारामा परेका बेला सो विद्यालय अनि आदरणीय अधिकारीले देखाउनुभएको आत्मीयता हाम्रो परिवारले कहिल्यै पनि भुल्न सक्दैन। यसबाट अधिकारीमा योगदानको कदर गर्न सक्ने नीरक्षीर विवेकी व्यक्तित्व पनि सन्निहित थियो भन्ने कुरा खुल्छ।
मानिसहरू जन्मिन्छन् अनि मर्छन्। यो नियमितताको कुरा हो। कोही पनि अजम्बरी हुँदैन भौतिक रूपमा। तर कोहीकोही मानिसहरू भौतिक रूपमा मृत्युवरण गरेर पनि बाँचिरहन्छन् जनहृदयमा।
जनहृदयमा दीर्घकालपर्यन्त बाँचिरहन सक्नेहरू दुनियाँका नामी मान्छे हुन्। मैले चिनेका मुक्तिनाथ अधिकारी भौतिक रूपमा नरहेर पनि सत्कर्म र चिन्तनले निकै लामो समयसम्म बाँचिरहने एक स्मरणीय चेतना हुन्।
प्रकाशित: १५ फाल्गुन २०८० १२:०९ मंगलबार