७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

आत्मविश्वास बढाउन योग

प्रत्येक वर्ष माघ महिनाको पहिलो सप्ताहबाट विश्वव्यापी रूपमा मनाइने योग दिवसको औचित्यमाथि प्रकाश पार्दा सौभाग्य नै ठान्छु।

योग वास्तवमा हाम्रो स्वस्थ तथा मर्यादित जीवन जिउनका निम्ति नभइनहुने अभिन्न अंगकै रूपमा रहेको हुनाले हाम्रा लागि यसको अति नै खाँचो पर्छ। तसर्थ योग दिवस मनाउनुपर्ने औचित्य तथा आवश्यकतामाथि प्रकाश पार्नु सान्दर्भिक नै ठानेको छु।

सर्वप्रथम स्वस्थ जीवनयापनका लागि योग एउटा नियमित शारीरिक, मानसिक तथा आध्यात्मिक अभ्यास हो, जुन हामी प्रत्येक मानवले आआफ्ना दिनचर्याकै रूपमा गरिराख्नु सर्वोत्तम कर्म हुन्छ किनकि शरीर र मनका विकार हटाए तिनीहरूको मधुर मिलन गराउनु नै योग हो।

यसले हाम्रो मन तथा शरीरका अनावश्यक विकार मेटाएर स्वस्थ, पवित्र एवम् मर्यादित जीवन जिउन उत्प्रेरित पनि गर्छ। अहिलेको तनावपूर्ण एक्काईसौं शताब्दीको जीवनशैलीबाट राहत पाउन योग एक प्रकारले हाम्रो जीवनको नभइनहुने दिनचर्याकै रूपमा अभिन्न अंग बनिसकेको रहेछ नि ?

हुन त योगको प्रतिपादन सर्वप्रथम महर्षि पतञ्जलीले नै गरेका हुन्। तथापि करिब एक दशकदेखि आधुनिक आध्यात्मिक योगगुरु बाबा रामदेवले यिनलाई र यिनको योगदानलाई पुनस्र्थापित र पुनर्जीवित तुल्याउन महान् योगदान गरिराखेको कुरा सर्वविदितै छ।

आजको दिनमा पतञ्जली योगपीठका माध्यमले भारतलगायतका देशमा यिनका लाखौं शिष्य प्रत्येकले योगगुरुको भूमिकामा दैनिक हजारौं मान्छेलाई योग प्रशिक्षण दिइरहेका छन्। महर्षि पतञ्जलीले आफ्नो योग दर्शनमा योगका प्रमुख आठ अंग उल्लेख गरेका छन्। जसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि पर्छन्। योग दिवसको औचित्य तब थाहा हुनेछ, जब हामी यी सबै तत्वको बोध गरी अरूलाई सहजै बोध गराउन सक्नेछौं।

सर्वप्रथम् यम भन्नाले चांहि अनुशासन नै बुझिन्छ। यमअन्तर्गत् अहिंसा सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह पनि पर्छन्। अहिंशा भन्नाले मन वचन र कर्मले कसैको पनि अहित नगर्नु, चित्त नदुखाउनु हो। त्यस्तै अस्तेयको अर्थ नचोर्नु वा लुकेर नगर्नुपर्ने कुनै पनि काम नगर्नु हो, अर्थात् कसैको धन वा वस्तुमा लोभ नगर्नु हो। यसैगरी ब्रह्मचर्य भनेको आफ्ना इन्द्रियलाई बसमा पारेर अघि बढ्नु हो।

त्यस्तै अपरिग्रह भन्नाले आवश्यकभन्दा बढी वस्तुको संग्रह नगर्नु वा अकुत सम्पत्ति नथुपार्नु भन्ने बुझिन्छ। तसर्थ योगमा लाग्ने सबैले यमअन्तर्गतका यस्ता सम्पूर्ण शारीरिक तथा मानसिक अनुशासनको पालना अनिवार्र्य गरिराख्नुपर्छ।

यसैगरी योगको दोस्रो अंग भनेको नियम हो। जसको सिधा अर्थ आत्मानुशासन बुझिन्छ। आत्मानुशासनबिना सच्चा योगी बन्न सकिँदैन। जसअन्तर्गत वास्तवमा शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वर प्रणिधान पर्छन्। शरीर र मनलाई शुद्ध राख्ने प्रक्रिया नै शौच हो भने जस्तोसुकै अवस्थामा पनि सन्तुष्ट रहनसक्नु नै सन्तोष हो। अर्कातर्फ हाम्रो आत्मसंयम, धैर्य र दृढसंकल्प तपभित्र पर्छन्। त्यस्तै स्वाध्याय भनेको आत्मचिन्तन गर्नु हो।

महत्वपूर्ण तथा जीवनोपयोगी पुस्तक अथवा धर्मग्रन्थको अध्ययन गर्नु हो। र्ईश्वर प्रणिधान भनेको ईश्वरप्रति आस्था वा श्रद्धा भन्ने बुझिन्छ, जसलाई अर्को शब्दमा आस्तिक पनि भनिन्छ। यसरी हेर्दा योगका आठ भागमध्ये यम र नियम हाम्रो दैनिक व्यवहारसँग सम्बन्धित रहेको देखिन्छ किनकि यसले कर्तव्यनिष्ठ र सकारात्मक सोचको विकास गर्नुका साथै सानालाई माया र ठुलालाई आदर गर्नु, हिंसा र लोभलालचमा नपरी जीवनमा सन्तुष्ट रहनमा जोड दिन्छ।

योगको तेस्रो अंग आसन हो, जसले हाम्रो शरीरलाई सुख र स्थिरतापूर्वक राख्ने अभ्यास गर्छ। योगका आसन पनि धेरै प्रकारका छन्। विधिपूर्वक यदि योगासन गरेमा यसबाट अपेक्षित फाइदा लिन सकिन्छ। नियमित योगासन गर्नाले हाम्रो शरीर स्वस्थ हुन्छ र मन पनि शान्त हुन्छ। यसबाट उत्साह, उमंग र आत्मविश्वास पनि बढ्दै जान्छ र मनको चञ्चलता बिस्तारै हट्दै जान्छ। यसले गर्दा हामी दीर्घजीवी हुँदै जान्छौं।

योगको चौथो अंग प्राणायामलाई लिन सकिन्छ। श्वासप्रश्वासको गतिलाई नियन्त्रण गर्नु नै प्राणायाम हो। श्वास नै एकप्रकारले हाम्रो प्राण हो। यसैमा हाम्रो जीवन छ। हाम्रो श्वासको गति ठिक नभएसम्म हाम्रो मन पनि शान्त हुँदैन। तसर्थ मनलाई राम्ररी सकारात्मक रूपले सञ्चालन गर्न प्राणायाम गर्नु आवश्यक हुन्छ। प्राणायामका प्रमुख प्रकारहरू– अनुलोम विलोम, कपालभाति, भस्त्रिका आदि। नियमित प्राणायाम गर्नाले हाम्रो मानसिक अवस्थामा धेरै नै सुधार आउँछ, जसले हरेक किसिमको तनावमा राहत ल्याउँछ। यसले गर्दा दुषित सास बाहिर फाली स्वच्छ अक्सिजन फोक्सोमा पुर्‍याउने काम गर्छ।

योगको पाँचौं अंग प्रत्याहार हो। मन तथा इन्द्रियलाई नियन्त्रणमा राखी अन्तर्मुखी हुने अवस्था नै प्रत्याहार हो। मानव जीवनमा जे जति समस्या देखापरेका छन्, ती सबैको मूल कारण हाम्रा अनियन्त्रित इन्द्रिय नै हुन्। यसकै नियन्त्रणले हामीलाई हरेक प्रकारका मानसिक तथा शारीरिक सुखको अनुभूति प्राप्त हुन्छ।

योगको छैटौं अंगका रूपमा धारणालाई लिन सकिन्छ। कुनै पनि कार्य अठोटका साथ एकाग्रतापूर्वक लागिरहनु नै एक प्रकारले धारणा हो। यसको मुख्य काम हाम्रो चञ्चल मनलाई स्थिर र शान्त गराउनु हो। एकाग्रताबाट जुनसुकै कार्यमा सफलता प्राप्त गर्न सकिन्छ।

योगका अन्तिम दुई अंग भनेका ध्यान र समाधि हुन्। अथात् कुनै पनि विषयमा मनलाई पूर्ण रूपमा केन्द्रित गर्नु नै ध्यान होला। यसैगरी जुनसुकै परिस्थितिमा समान भावले नित्यनिरन्तर मनमा आनन्दको अनुभूति भइरहनु नै समाधि हो। समाधि नै योगको अन्तिम अवस्था हो। यसर्थ नियमित योगासन र प्राणायाम गर्नाले हाम्रो रगतमा रहेको बाक्लोपना घटाइ रक्तसञ्चारको गतिलाई सामान्य गराउँछ।

यसबाट मुटुको धड्कन पनि सामान्य हुनुका साथै हरेक मांसपेशी पनि तन्दुरुस्त हुन्छन्। यति मात्र कहाँ हो र ? यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। हाम्रो शरीरमा ऊर्जाको सञ्चार हुन्छ। यसले हाम्रो शरीरको अनावश्यक तौल पनि घटाउँछ। यसले हार्मोनको कार्यक्षमता बढाउनुका साथै मनमस्तिष्कको क्षमता पनि अभिवृद्धि गर्छ।

नियमित योगले आत्मविश्वास बढ्दै जान्छ, मानसिक भय, त्रास, चिन्ता, तनाव घट्दै जान्छन्। मनमा अनियन्त्रित विचार आउँदैनन्। प्रतिकूल परिस्थितिलाई सहज रूपमा लिने क्षमता बढ्छ। समस्या वा चुनौतीबाट भाग्ने होइन, सामना गरी समाधानको बाटो निकाल्ने क्षमताको अभिवृद्धि हुन्छ।

यति मात्र कहाँ हो र ? यसले हामीलाई र हाम्रा सन्ततिलाई कुसंगति र कुलतमा लाग्न दिँदैनन्। जहिले सात्विक जीवनशैलीप्रति उत्प्रेरित गर्छ। सहनशीलता, धैर्यता र कार्यकुशलतामा अभिवृद्धि गर्छ। मानसिक शान्ति र चिरस्थायी सुखमा मन प्रवृत्त हुन्छ।

योगले शारीरिक, मानसिक तथा आध्यात्मिक तिनै प्रकारका सुख प्रदान गर्छ। यो केवल शारीरिक व्यायाम होइन, हाम्रो दिनचर्या हो, जीवन जिउने उत्कृष्ट कला पनि हो। यसको महत्व आजभोलि संसारभरि नै बढ्दै गइरहेको छ। संयुक्त राष्ट्र संघले २१ जुनलाई विश्व योग दिवसका रूपमा मनाउने घोषणा गर्नुको तात्पर्य योगको महत्वलाई विश्वव्यापी बनाउनु हो।

नेपालमा पनि विभिन्न संस्थाले योगासन, प्राणायाम र ध्यानको अभ्यास गराउँदै आएको छ। यसरी नियमित योग गरेर स्वस्थ हुनुपर्छ भन्ने भावनाको विकास जनसमुदायमा पनि हुँदै गएको छ।

प्रकाशित: ५ फाल्गुन २०८० ०६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App