पूर्वमन्त्री बृजेश कुमार गुप्ताले नेकपा (एमाले) परित्याग गरेका छन् । चार पटक प्रतिनिधिसभा सदस्य जितेका तथा गत निर्वाचनमा झिनो मतले पराजित गुप्ताले आफू अब एमालेमा नरहेको बताएका हुन् ।
नागरिकसँग फोनमा सोमबार कुराकानी गर्दै दुई महिनाअघि आफ्नो बुवा स्वर्गीय भगवान दास गुप्ताको बाल मन्दिरमा भएको पुण्यतिथि समारोहमा आफूले एमाले पार्टी छोडेको घोषणा गरिसकेको बताए । पार्टी छाडेको बताए पनि उनले हालसम्म पार्टीमा राजीनामा दिएका छैनन् । बक्तव्य र भिडियो समेत निकालेका छैनन् । एकवर्ष देखि नै एमालेसँग दुरी बनाएका गुप्ता एमालेको जिल्ला र केन्द्रीय अधिवेशनमा समेत सहभागी भएनन् ।
बृजेश ईन्जिनियरका स्थायी जागीर छाडेर २०५६ सालदेखि ४ पटक लगातार सांसदमा जितेका थिए । सुरुमा राप्रपा, त्यसपछि तमलोपा र दुई पटक एमालेबाट सांसद जितेका थिए । पाँचौ पटक भने कांग्रेस नेता सुरेन्द्रराज आचार्यसँग झिनो मतले पराजित भएका थिए ।
‘मैले एमाले पार्टी छाडी सकेको छु, त्यसबारे एमाले नेताहरुलाई समेत जानकारी गराइ सकेको छु,’ उनले भने ।
उनले आफू जनताको सेवककारुपमा रहेको त्यही अनुसार अघि बढने बताए । जेनजी आन्दोलनपछि परिवर्तित समयमा आफूले जनभावना अनुसार अघि बढने र जनताले भने राजनीतिबाट सन्यास समेत लिने उनको भनाइ छ ।
एमाले छाडेका गुप्ताले अब अघि के गर्ने भन्ने विषयमा आफू अझै छलफल मै रहेको बताए । तर उनका निकटवर्तीहरु भने नेता गुप्ता रास्वपामा जाने दाबी गर्छन् ।
प्रकाशित: २१ पुस २०८२ १९:१८ सोमबार





