coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘हराएको सहर’ र ‘खास्टो’ मा ‘समित’को फड्को

पाठक्यौली

२०७९ सालमा स्रष्टा मनीषकुमार शर्मा ‘समित’ सँग उनको ‘हराएको सहर’ शीर्षकको लघुकथासङ्ग्रह प्रकाशित हुने लर्कासर्कामा भेट भयो। र, संयोग मैले सो कृतिमाथि भूमिका लेख्ने अवसर पाएँ। म आफैं पुलकित भएँ। त्यो बेला म लघुकथाकार समितलाई भौतिक वा अभौतिक कुनै तरिकाले पनि चिन्दिन थिएँ। दुर्लभ संयोग थियो त्यो भेटको क्षण।

फेरि २०८० सालमा लघुकथाकार समितको अर्को लघुकथाकृति ‘खास्टो’ प्रकाशित भयो। मैले सामाजिक सञ्जालबाट थाहा पाएँ। म पुलकित भएँ र लगत्तै खास्टोको पिडिएफ मसमक्ष अमेरिका आइपुग्यो। यति बेलासम्म भने म लघुकथाकार समितसँग निकै नजिकिई बसेको छु। याने यारी दोस्ती नै भएको छ।

वर्तमानमा मध्यपुर ठिमी, लोकन्थली वडा नं-१, भक्तपुरलाई  बासस्थान बनाएका समित विसं २०३१ मा विराटनगरेली भएर जन्मेका हुन्। व्यवस्थापनको स्नातकोत्तर तहको प्रमाणपत्र बोकेर उनी अध्यापन कार्यलाई जीवनयापनको मेलो समर्पित छन्।

दुई लघुकथासङ्ग्रह प्रकाशित गराइसकेका समित कथासङ्ग्रह, उपन्यास तथा हाइकुसङ्ग्रह प्रकाशनको तयारीमा छन्। कोशी प्रदेश लघुकथा सम्मान २०८० बाट पुरस्कृत भएका छन्। विविध साहित्यिक संघसंस्थामा संलग्न छन्।

यो संक्षिप्त आलेखको प्रयोजन लघुकथाकार समितमा एक वर्षको अन्तरालमा प्रकाशन भएका दुई लघुकथाकृति ‘हराएको सहर’ र ‘खास्टो’ को तुलनात्मक आधारमा लघुकथा शिल्पमा आएको परिपाठलाई कुन्यू बनाउनु हो। अर्थात् उनको लघुकथा लेखनीमा आएको परिवर्तन सन्दर्भ केलाउने हो।

‘हराएको सहर’ लघुकथासङ्ग्रहको आवरण निलो सेतो पृष्ठभूमिमा हराएको कालो आकृति छ। जसमा अमूर्त सहर छ। कृतिको पश्चभागमा कृतिकार समितको तस्बिर र छोटो व्यक्तिगत विवरण छ। प्रकाशक आशा शर्मा रहेको यो ‘हराएको सहर’ ६८ ओटा लघुकथा तथा रु १८० को पेटारो बोकेर आएको छ। डा. पुष्करराज भट्ट र खेमराज पोखरेलको भूमिका रहेको छ।

यसैगरी अर्को लघुकथासङ्ग्रह ‘खास्टो’ को आवरणमा एउटा सालिकलाई खास्टो ओढाइरहेकी विदीर्ण आमाको अमूर्त चित्र छ। पश्चभागमा लघुकथाकार मनीषकुमार शर्माको व्यक्तिगत विवरण छ। प्रकाशक हाम्रो लघुकथा केन्द्र रहेको छ। शेखरकुमार श्रेष्ठको प्रकाशकीय, ममता मृदुल तथा ध्रुव मधिकर्मीको भूमिका र कृतकिारको लघुअभिव्यक्ति रहेको छ।

कृति शीर्षकका हिसाबमा तुलना गर्दा ‘हराएको सहर’ निकै दर्बिलो महसुस हुन्छ। हराएको सहरले एउटा प्रबल प्रभावजन्यता देखाउँछ। आम समस्या देखाउँछ। ‘खास्टो’ शीर्षक पनि कमजोर भने छैन। यसको पनि प्रभावजन्यता कमजोर छैन। यद्यपि उनका दुवै कृतिले कृतिभित्रकै एक लघुकथाको शीर्षकलाई टिपेर कृति शीर्षक बनाएका छन्। यो पुरानो परिपाटी हो र यसरी शीर्षक राख्दा सङ्ग्रहभित्रका लघुकथाका सबै  विषयवस्तुलाई न्याय हुन्न। शीर्षकका लागि शीर्षक हो भने कुरा बेग्लै हो।

लघुकथा आख्यानकै एउटा विशिष्ट रूप हो। आकारीकरणका हिसाबले लघु हुने भएकाले लघुकथा भनिएको हो। लघुकथाको मापन गर्ने आधार भनेको पनि आख्यानकै मूल तत्त्व नै हो। ती तत्त्वको प्रस्तुतीकरणमा धेरथोर हुनु भनेको अर्कै कुरा हो।

स्रष्टाले समाजमा विपर्यास द्वन्द्व देख्छ। द्वन्द्वको कारण कम्तीमा दुई अमिल्दा परिवेश हो। यिनै दुई अमिल्दा परिवेश, घटना, विचार वा व्यक्तिका बिचमा द्वन्द्व गराएर स्रष्टाको चिन्तनलाई जित गराउनु भनेको द्वन्द्व विनिर्माण हो।

‘हराएको सहर’ भित्र समेटिएका लघुकथाहरूमा घुस खाने कि नखाने भन्नेमा द्वन्द्व छ। राजनीतिमा मत किन्ने नेता र भोक, लेखक र लेख चोर, धर्मप्रचार र परिवर्तन, काम कमिसन र ढलेको भवन, परिवेश र कर्मकाण्ड, कामकर्मी र मालिक, मृत्यु र वृद्धाश्रम, कपी र तरबार, सहर र गाउ, यौनमनोविज्ञान र आदर्श, घुस र बाध्यता, ज्यानमारा ब्याज र विज्ञापन, वृद्ध र वृद्धाश्रम, ब्रह्माण्डको सत्य र जीवनको छिद्र प्वाल, शिक्षा र थेसिस किनबेच, गाउँको प्रगति र मान्छे बेचबिखन, आमा र गरिबी, आत्महत्या गर्न खोज्ने युवा र फाँसीको फैसला दिने न्यायाधीश, शाकाहारी मांसाहारी, प्रेम र मूल्य जस्ता विषयमा द्वन्द्व विनिर्माण गरिएको छ।

‘खास्टो’ मा धर्म र अन्धविश्वास, मान्छे र विष, नेता र नैतिकता, राजनीति र इमान, भाषण र दरिद्रता, वृद्ध र वृद्धाश्रम, साहित्य र साहित्य चोर, छोराको सालिक र आमाको खास्टो, मान्छे र पशु, लोग्ने र स्वास्नी, महिला र पुरुष, यौन र आदर्श, फेसबुक र जीवन, मजदुर र न्याय, खर्च र चाड जस्ता विषयलाई द्वन्द्व बनाइएको छ।

द्वन्द्व निर्माण तथा द्वन्द्व अभिव्यक्त गर्न कथिएको कथ्यलाई समेत मध्यनजर गर्ने हो भने दुवै कृतिमा करिबकरिब समानता देखिन्छ। कृतिकार बाँचेको संसार, भोगेको भोगाइ, सोचेको समाज, अध्ययनको दायरा तथा यी सबैले बनाएको चेतीयसन्दर्भ नै त आउने हुन् सिर्जनामा।

अनपेक्षित तथा अलौकिक चिन्तन गर्न पनि गाह्रो कुरा हो। कल्पना भन्नु पनि जपनाको प्रतिच्छाया मात्र त हो। त्यसैले दुवै लघुकथासङ्ग्रहभित्र समेटिएका लघुकथाहरूको द्वन्द्वविधान तथा कथ्यविधान समान जस्तै देखिन्छन्। भावभूमि समान छन्। उठाइएका समस्याहरू समान छन्।

पात्रहरू कथानकअनुकुलका छन् ।उनका दुवै कृतिमा थिम लगभग एकै प्रकारका छन्। वादका हिसाबले मिश्रित छन्। कति त परम्परावादी छन्। कति प्रगतिशील छन्। कति थिम आदर्शवादी पनि छन्।

रूप विधान तथा शैली विधानका आधारमा हेर्दा भने लघुकथासङ्ग्रह ‘हराएको सहर’ र ‘खास्टो’ दुवैमा आनका तानको फरक देखिन्छ। आकाश पातालको फरक छ।

‘हराएको सहर’ मा लामालामा शीर्षक थिए भने खास्टोमा शीर्षकीकरणमा चुस्तता देखिएको छ। उठानका आधारमा हेर्दा ‘हराएको सहर’ मा केही लघुकथाको उत्थानमा परम्परागत उठान याने विवरणात्मक उठान पनि भएको पाइन्छ।

साथै लघुकथामा कथानकको विकासमा तीव्र र बक्ररेखीय तथा संक्षिप्त हुनुपर्ने भए पनि सहजताका साथ अबलम्बन गर्न सकेको प्रतीत हुँदैन। उत्कर्षमा चुस्ततापूर्वक पुग्न सकेका छैनन्। समापनमा कतिपय लघुकथामा प्रतिध्वन्यात्मकता उत्पन्न हुन सकेका छैनन्। समापनमा विस्तार भएका छन्। तथापि केही लघुकथामा स्वैरकल्पना तथा बिज वाक्यको निर्मााण भएको छ।

तर ‘खास्टो’ लघुकथासङ्ग्रहमा आइपुग्दा उनका लघुकथामा रूपविधान तथा शैलीविधानमा अत्यन्त निखारपन आएको छ। ज्यामितीय तवरले तिखारिएको छ। सुधारिएको छ। उठानमा आकस्मिकता, विकासमा संक्षिप्तता तथा तीव्रता, उत्कर्षमा चुस्तता, समापनमा प्रतिध्वन्यात्मकता, लघुत्व आदि शिल्पमा खरो उत्रेका छन्। अर्थात् पहिलो लघुकथासङ्ग्रहको रूपविधानमा देखिएका समस्याहरू धेरै हदसम्म समाधान भएका छन्।

‘खास्टो’ मा आइपुग्दा लघुकथाकार समित प्रस्तुतिमा भिन्नता, भीडमा फरक अनुहार, लेखनमा संयमितता, दायित्वबोध, शीर्षकमा नै लघुत्व र संक्षिप्तता जस्ता विशेषता बोकेर आएका छन्।

संक्षिप्तता, सूत्रात्मकता, साङ्केतिकता, आकस्मिकता र स्वयंमा पूर्णता लघुकथामा अपरिहार्य हुन्छ। कौतूहतूहलता, साङ्केतिकता, एकोन्मुखता, चरम उत्कर्ष, बिज वाक्य, स्वैरकल्पनाको प्रयोग, अणु सामर्थ्य जस्ता उत्कृष्ट तत्व पनि समावेश भएको छ।

त्यसो भएकाले ‘खास्टो’ का कतिपय लघुकथालाई एकपल्ट सरर पढेर पल्लो छेउ पत्ता लगाउन सकिन्न। भाषा खेलाउन सिपालु छन् लघुकथाकार। मधेसको आञ्चलिकता, नेपाली भाषको ठेटपनका साथै तत्सम शब्द पनि प्रयोग गरिएको छ। लाद्रो, उम्तिएर, हल्लुँडो जस्ता ठेट शब्दको प्रयोगले लोप हुँदै गएका नेपाली भाषाका शब्दले त्राण पाएका छन्।

यसो भए तापनि कुनै पनि सिर्जना कल्पनाको जेनिथ हुन सक्दैन। स्तरीयता तथा सन्देशमा सम्पादन नहुन सक्ने भन्ने कुरा आउँदैन। सुधारको सधैं गुञ्जाइस रहिरहन्छ। ‘थ्याेरी अफ डाउट’ का आधारमा हेरेर नै नवीन विचार तथा शैलीको प्रादुर्भाव हुने हो। समाजमा स्थापित वाद वा विचारलाई लकिरका फकिर मान्दा नयाँ विचार वा नयाँ प्रस्तुति आउन्न। यसकारण लघुकथाकार समितका लघुकथामा पनि यिनै सिद्धान्तका आधारमा परिमार्जन तथा सम्पादनको गुञ्जाइस हुने नै कुरा हो।

लघुकथाकार समितको पहिलो लघुकथाकृति ‘हराएको सहर’ कृतिमा अत्यन्त धेरै सम्पादनको आवश्यकता देखिन्छ। शीर्षकदेखि समापनसम्म, सन्देशदेखि व्यङ्ग्यसम्म, कथ्यदेखि पात्रसम्म, आदर्शदेखि अग्रगमनसम्म सुधारका सम्भावनाहरू छन्। कतिपय शीर्षक अनावश्यक लामा छन्। लघुकथाको शीर्षकीकरणको सूत्रभन्दा बाहिर पनि गएका छन्।

‘सक्कली अनुहारमा नक्कली छाप’, ‘उसले के बिगार गर्यो?’, ‘मृत्युमा लुकेको सुख’, ‘बेटीकी सादी करनी है’ जस्ता शीर्षकहरूले पनि स्थान पाएका छन्। यस्ता शीर्षकहरू स्वाभाविक रूपले लघुकथाका लागि असुहाउँदिला हुन्।

तर ‘खास्टो’ का लघुकथाहरूका शीर्षकमा कौतूहलता, लघुत्व तथा विषयसँगको सामिप्य मिलेको छ। पद वा पदावलिमा शीर्षक राखिएको छ। अर्थात् ‘खास्टो’ भित्रका लघुकथामा भने शीर्षक चातुर्य देखिन्छ। सुन्दर छन्।

आख्यान लेखनमा लेखक आफैं बोल्दैन। पात्र बोल्छ। घटना बोल्छ। प्रस्तुत लघुकथाकृतिका कतिपय लघुकथामा लेखक आफैंले बोलेको प्रतीत हुन्छ। कतिपय लघुकथामा परिवेशको अति व्याख्या गरिएको छ। लघुकथा आख्यान भएकाले परिवेश त हुन्छ तर गौण हुन्छ। कथानक हुन्छ तर विस्तारमा बन्देज हुन्छ। कथानक लामा हुने कारण कथ्य विस्तारीकरण हो।

यसबारेमा वरिष्ठ आख्यानकार ब्लेज पास्कलको लघुकथाको परिभाषा ‘प्रिया! आज मैले तिमीलाई लेखेको चिठी सदाभन्दा निकै लामो छ। किनभने मसँग छोट्याउन समय थिएन’ को मर्मलाई बुझ्दा हुन्छ। किनभने लामो लेखेर वा बोलेर भाव अभिव्यक्त गर्न सजिलो हुन्छ। तर त्यही कुरालाई एकदम छोटोमा भन्नुपर्यो भने थप शिल्प र मेहनत चाहिन्छ। थप समय चाहिन्छ। थप ऊर्जा चाहिन्छ। खासमा भन्ने हो भने सिर्जनाको शिल्प नापिने नै लघुप्रस्तुतिमा हो।

यसैगरी ‘हराएको सहर’ का अधिकांश लघुकथाको समापनमा विस्तार भएको छ। समापनमा विस्तार हुनु भनेको लघुकथा अवनतितिर जानु हो। यसो भएकाले यो सङ्ग्रहका कतिपय लघुकथामा समापन वाक्यले समापन गरिएको छ भने कतिपय लघुकथामा समापन वाक्यको पनि अभाव छ।

बिज वाक्यले समापन गर्ने कुरा झन् गाह्रो नै हो। सकेसम्म बिज वाक्य बनाउन सके सुन्दर भन्ने कुरा हो। यसैगरी कतिपय लघुकथामा विवरण मात्र भेटिन्छ। सम्बादको अभाव भएकाले यस्तो भएको हो।

अब समितको ‘खास्टो’ लघुकथासङ्ग्रहतिर जाऊँ। यो लघुकथासङ्ग्रहमा समेटिएका लघुकथाहरू परिपाक पुगेको, खिरिलो र चुस्त छन्। तथापि केही अबुझाइ तथा कैरन त बाँकी नै रहेको छ। यो कृतिलाई पढिरहँदा छोटो पार्ने प्रेसरमा लघुकथा लेखिएको जस्तो लाग्छ। किनकि अत्यन्त छोटा छन् र ती जबर्जजस्ती चौखुर्याइएका जस्ता लाग्छन्। त्यसैले वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी ‘आवश्यक जति घटना र वर्णनको अभाव पो भयो कि!’ भन्छन्।

कतिपय लघुकथामा अलि प्रष्टता चाहिने हो कि! अलि सरलसँग बुझिने बनाउने कि! कथानकको यो चौखुर्याइले प्रस्तुतिमा तथा भाव प्रक्षेपणमा जम्पिङ भएको जस्तो लाग्छ। कथावस्तु उफ्रेको जस्तो लाग्छ। कतिपय लघुकथामा कथ्यको तादात्म्य मिलाउन नसकेको जस्तो लाग्छ। शीर्षक एकातिर कथ्य अर्कोतिर भएको पनि हो कि।

लघुकथासङ्ग्रहमा जुन तहका लघुकथाहरू समावेश गरिएका छन्, ती रूपविधानका आधारमा अत्यन्त अब्बल छन्। तर कथानकचाहिं उही पुराना र सामान्य छन्। उही आदर्शवाद, यथास्थितिवाद तथा समाज व्यवस्थाले अपनाउने खोलका आधारमा पनि लघुकथा सिर्जना गरिएको छ।

मेरो भनाइ के हो भने अब्बल बुनौटको लघुकथामा अब्बल तथा प्रभावजन्यता भारी भएको कथानक पनि हाल्न पाए सुनमा सुगन्ध हुने थियो। कथानक प्रस्तुतिमा कथानक तथा पात्र परिवेशको पनि महत्त्व हुन्छ। यो लघुकथासङ्ग्रहमा ज्यादातर सम्वादै सम्बादबाट नै लघुकथा तुरिएको छ। यसले गर्दा नाटकीय तत्त्व हाबी भएको छ र आख्यानात्मक तत्त्वको ह्रास भएको छ।

लघुकथा लेखनमा विचार, चिन्तन, मनन, पठन तथा अग्रगम्यताले ठूलो महत्त्व राख्छ। यो कृतिमा समावेश गरिएका लघुकथाहरू यस मामलामा भने अझै फट्किनुपर्ने देखिन्छ।

किनभने आख्यान भनेको, कथानक, पात्र, दवन्दव, सेटिङ तथा थिमको समिश्रण हो। मुख्य रूपमा अविस्तारीकरणका आधारमा कथानक निर्माणमा पनि ध्यान राख्नुपर्ने हो कि। सम्बादमा पनि पात्रको उपस्थिति देखाउन पाए थप बोधीय हुने कुरा पनि नकार्न सकिन्न।

अब आलेखको पुछारमा आइपुगेको छु। स्रष्टा समितका दुई लघुकथाकृति ‘हराएको सहर’ तथा ‘खास्टो’ का बिचमा समानता तथा असमानता केलाउँदा केलाउँदै यो आलेख तयार भएको छ।

खास गरी ‘खास्टो’ लघुकथासङ्ग्रहमा नेपाली भाषाका जटिल हिज्जे प्रणालीलाई व्यवस्थित गरी शुद्ध बनाइएको छ। यो शुद्धताका लागि लघुकथाकार समित तथा प्रकाशक सम्पादक शेखर श्रेष्ठ सरलाई बधाई छ।

किनभने कृतिको भाव जतिसुकै राम्रो भए पनि यदि शुद्धाशुद्धि मिलेको छैन भने हलुवामा बालुवाझैं हुन्छ। यो कृति शुद्धताका हिसाबमा पनि निकै राम्रो छ।

उपसंहारमा पुग्दा सर्जक समितलाई भन्नै पर्ने कुरा भनेको लेखनका लागि छानिएका विषयमा चिन्तन, मनन गरी विषयको विविध पक्षमा घोरिएर मात्र चयन गर्नुपर्छ भन्ने हो। आफूले प्रस्तुत गर्न चाहेको घटना वा वाद वा विचारको प्रभावकारिता तथा नविनताबारेजागरूक हुन पाएका सुन्दर लघुकथाको सिर्जना हुन्छ। जतिसुकै रूपविधान मिलाए पनि यदि कथ्यको प्रभावकारिता कमजोर भयो भने लघुकथा स्वाभाविकैले कमजोर हुन्छन्।

उदाहरणका लागि लघुकथाले उठाएको समाजमा रक्सी सेवनको नकारात्मक प्रभावलाई चिन्तन मनन गरेर हेर्यो भने कस्तो दृश्य देखिएला? यथार्थ कुरा के हो?रक्सी खराब हो वा होइन? मर्न त मान्छे अति रक्सी खाएर पनि मरेको छ। अति चिनी खाएर पनि मरेको छ।

विश्वको समाजको त कुरै छाडौं, नेपालकै परिप्रेक्षमा हेर्ने हो भने पनि बाहुन क्षेत्रीबाहेकका अन्य जातमा रक्सी संस्कृति हो। त्यसो भएकाले नयाँ विषय वा पुरानै विषयलाई पनि नयाँ चिन्तन र पाटोबाट लेख्न सकियो भने झन् राम्रो हुन्छ।

अब समग्रतामा भन्ने हो भने यति बेला मलाईअनुभूत भइरहेको छ कि समितको लघुकथाकृति ‘हराएको सहर’ उनको लघुकथा लेखनयात्राको फेदी थियो। याने सुरुवात थियो। बन्दोवस्तीका सामानको हेक्का थिएन। रहरको यात्रा थियो। 

समितको लघुकथा लेखनीको यात्राको एक वर्षकै अवधिको अन्तरालमा प्रकाशित भएको ‘खास्टो’ ले समितको लघुकथाप्रतिको त्याग, तपस्या, लगन र साधनालाई उजागर गरेको छ।

रहर दायित्वमा परिवर्तन भएको छ। प्रतिभाअभ्यास तिब्र भएको छ। र, यसले लघुकथा लेखनीलाई उच्च स्तरमा पुर्याएको छ। लपसिक्खाका लागि यो कृति रूपविधानको मानक नै हुने छ। जसले जे भने पनि लघुकथाकार समितको गुणवत्ता कसैले छेकेर छेकिन्न भन्ने प्रमाण ‘खास्टो’ भएको छ।

अब अन्त्यमा भनूँ कि लघुकथाकार मनीषकुमार शर्मा समित मेरा मित्र हुन्। मित्रको स्तरीय लघुकथा लेखनको ग्राफ ज्यामितीय ढङ्गले उकालिएको छ। यो यात्रा अविचलित उँभो लागिरहोस्। प्रज्ञातृष्णा जागृत भइरहोस्।

जय लघुकथा!

प्रकाशित: २९ माघ २०८० १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App