६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

हरेक शनिबार पुराण र वेद वाचन

विश्व हिन्दु महासंघ म्याग्दीले हरेक शनिबार सदरमुकाम बेनीमा पुराण र वेद वाचन गर्ने भएको छ। मौलिक रीति, रिवाज तथा संस्कार संरक्षण अभियानमा सक्रिय महासंघले खुल्लामञ्चस्थित भगवती मन्दिरपरिसरमा माघ ८ देखि १८ पुराण, १८ उपपुराण र चार वेद वाचन गर्ने महासंघ म्याग्दीका अध्यक्ष डण्डपाणि उपाध्यायले बताए।

‘हरेक हप्ता करिब डेढ घन्टा वाचन गरिन्छ, ज्ञानका भण्डार मानिने वेद र पुराण वाचनका लागि जिम्मेवारीसमेत दिइएको छ’, अध्यक्ष उपाध्यायले भने।

आगामी सोमबार सदरमुकाम बेनीमा वेद र पुराणसहित बजार परिक्रमा गरिने तथा पण्डित नीलकण्ठ आचार्यले पहिलो वाचन गर्ने कार्यक्रमसमेत तय भएको उपाध्यक्ष बिक्रम श्रेष्ठले बताए।

‘सोमबार शुभारम्भ हुन्छ, हरेक शनिबार वाचन हुन्छ’, उपाध्यक्ष श्रेष्ठले भने। सुरुका दिन सबै जातजाति, धर्म र संघसंस्थालाई आमन्त्रण गर्न पत्रचारसमेत गरिएको छ। सबै धर्ममा आस्था राख्नेबीच भाइचारा सम्वन्ध कायम राख्दै धर्म परिवर्तन गराउँदै हिँड्नेलाई निरुत्साहित गर्न आवश्यक रहेको विश्व हिन्दु महासंघ म्याग्दीले जनाएको छ।

विश्व हिन्दु महासंघ म्याग्दीका निर्वतमान अध्यक्ष कृष्णप्रसाद शर्माले वाचनसहित भजनकीर्तनलगायतका धार्मिक गतिविधि नियमित सञ्चालन गरिने बताए। म्याग्दीमा ‘आफ्नो धर्मको रक्षा गरौंं, बन्धुत्व भाव जगाऔं’ भन्ने मूल अभियानसहित पालिका र वडास्तरमा समिति गठनसहित विभिन्न कार्यक्रम हुँदै आएका छन्।

प्रकाशित: ५ माघ २०८० ०६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App