१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

खेलकुदमन्त्रीले गरे राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज काभ्रेपलान्चोकको सदरमुकाम धुलिखेलमा निर्माण हुने राष्ट्रिय हक्की खेलमैदानको निरीक्षण गरेका छन्।

उनले खेलमैदान निर्माणका लागि धुलिखेल नगरपालिकाद्वारा प्रदान गरिएको जमिनलाई व्यवस्थित बनाउन गुरुयोजनासहितको बजेटका लागि निरीक्षण गरेका हुन्।

मन्त्री श्रेष्ठले धुलिखेल नगरको वडा नं-११ र १२ को सिमानामा निर्माणाधीन खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सहयोग गर्ने बताए। उनले भने, ‘नेपाल हरेक हिसाबले सम्भावना नै सम्भावना भएको देश हो, हामीले पूर्वाधारमा भन्दापनि व्यवस्थापनमा ध्यान दिनुपर्छ।’

मन्त्री श्रेष्ठले नेपालमा हरेक खेलका लागि पर्याप्त भौगोलिक संरचना भएकाले पूर्वाधारमा लगानी गर्नु नपर्ने तर खेलअनुसारका जमिन व्यवस्थापनमा अनुगमन, निरीक्षणमा जोड दिनुपर्ने बताए।

खेलमैदानको अवलोकनका लागि नेपाली हक्की सङ्का केन्द्रीय पदाधिकारी, जिल्लास्थित पदाधिकारी एवं स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

उक्त खेल मैदानलाई बाग्मती प्रदेश सरकारले चालु आवमा आवश्यक गुरुयोजना बनाउने गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल हक्की सङ्घका केन्द्रीय अध्यक्ष अनिल शर्माका अनुसार बागमती प्रदेशस्थित खेलकुद विकास परिषद्द्वारा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० को तयारी अन्तिम चरणमा पुगेको छ।

तीन वर्षमा तीन चरणमा निर्माण हुने भनिएको रङ्गशालाको पहिलो चरणमा मैदान, दोस्रोमा प्याराफिट र त्यसपछि होस्टेल निर्माण हुनेछ। करिब ८० करोडमा रङ्गशाला तयार हुने प्रारम्भिक अनुमान गरिएको शर्माले बताए।

मन्त्री श्रेष्ठले आजै धुलिखेलको हजार सिँढी, भैरव मुर्तिस्थललगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गरेका थिए।

प्रकाशित: ५ जेष्ठ २०८१ २१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App