१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

गुल्मी बस दुर्घटना: घाइते एक जनाको मृत्यु (अपडेट)

गुल्मीमा बस दुर्घटना हुँदा घाइते भएका १३ जना मध्य एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ।

पाल्पा रिब्दोकोट गाउँपालिका-१ बस्ने ४० वर्षीय युवराज कुवरको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। दुर्घटनाका अन्य घाइतेहरूको उपचार भइरहेको छ।

बिहीबार पोखराबाट तम्घासतर्फ जाँदै गरेको लु १ ख ८१७५ नम्बरको बस बेलुका करिब ५ बजेको समयमा रुरुक्षेत्र गाउँपालिका–१ मक्वादीस्थित रिडी–तम्घास सडक खण्डमा दुर्घटना भएको थियाे।

प्रहरीका अनुसार बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको थियो। दुर्घटनामा बस चालक स्याङ्जा वालिङ नगरपालिका-५ बस्ने २८ वर्षीय मनोज बस्याल गम्भीर घाइते भएका छन्। उनको बायाँ खुट्टा र शरीरमा भित्री चोट लागेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको छ।

यस्तै, अन्य घाइते हुनेहरुमा स्याङ्जा हरिनाथ-५ बस्ने ३५ वर्षीय खेमराज लम्साल, कास्की मादी गाउँपालिका बस्ने २३ वर्षीय रोशनी नेपाली, गुल्मी रुरुक्षेत्र गाउँपालिका-१ बस्ने ३० वर्षीय रिता बि.क, पाल्पा रिब्दिकोट गाउँपालिका-१ बस्ने ६५ वर्षीय तारा प्रसाद पाण्डे, डडेलधुरा नवदुर्गा गाउँपालिका-२ बस्ने ३६ वर्षीय राज बहादुर साउद, गुल्मी रेसुङ्गा नगरपालिका-१० बस्ने केशब अर्याल, ठेगाना नखुलेको २१ वर्षीय ईन्द्रा सुबेदी, गुल्मी गुल्मिदरबार गाउँपालिका-२ बस्ने २० वर्षीय ओम बहादुर बलाल, गुल्मी रुरु क्षेत्र गाउँपालिका-३ बस्ने २३ वर्षीय गंगा बहादुर वि.क, ठेगाना नखुलेको २३ वर्षीय सुशिला नेपाली, र ४२ वर्षीय शान्ति सुनार रहेका छन्।

प्रकाशित: ३ जेष्ठ २०८१ २०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App