म साहित्यको रस लिएर आउँछु
म अर्थहीन शब्दहरू बटुलेर
एक ठाउँमा सुन्दर रूपमा समेटेर आउँछु
तिमी एकैछिन बस्दै गर जिन्दगी
म साहित्यको रस लिएर आउँछु
अनि
मनमा आएका जथाभावी
र मनपरी शब्दहरूलाई
कविता हो भन्नेर सुनाउँछु
चारपाँच बहाना बनाउँछु
तीनचार चाहना सुनाउँछु
दुईतीन वाहवाह बटुल्छु
एकदुई आहा कमाउँछु
‘एकछिन हराउँछु
एकछिन रमाउँछु
वास्तविकतालाई कल्पनाबाट मेटेर आउँछु
तिमी एकैछिन बस्दै गर मन
म साहित्यको रस लिएर आउँछु
म एकछिन आफूलाई
महान सोच्छु
आफूलाई धर्म
आफूलाई विज्ञान सोच्छु
मै जात मै वर्ण
मै अर्जुन मै कर्ण
मै कृष्ण मै राम
मै संसारको सबै धाम
म नै शेक्सपियर म नै देवकोटा
लाखौंमा म नै एउटा
म भिन्ची मै पिकासो
म नै संगीत मनै हाँसो
संसारमै म बलवान्
मै मान्छे मै भगवान्
‘तर एकछिन
म सब भ्रम मेटेर
आफूलाई भटेर आउँछु
तिमी एकैछिन बस्दै गर इतिहास
म साहित्यको रस लिएर आउँछु
फेरि त्यही शब्द
त्यही अर्थ
त्यही भाव
त्यही ख्वाव्
म मेरो पुरानो कविता
नयाँ प्रकारले छापेर आउँछु
तिमी एकैछिन बस्दै गर कवि
म साहित्यको रस लिएर आउँछु।
-प्रभात पौड्याल
प्रकाशित: २६ पुस २०८० ०६:१९ बिहीबार