३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

गजब हुँदो रहेछ सम्बन्ध कसैले मुटुमै राखिदिन्छन्!

मुक्तक

१) मुक्तक

बाहिर जति घमाइलो घाम भए पनि मन संधै ओसिएको छ,

अधिकारको वकालत गर्नेहरूबाटै अधिकार खोसिएको छ।

विगत बिर्सेर वर्तमानमा संस्कारको चर्को बहस गर्नेहरूले नै,

बिर्सिए कहालीलाग्दो अतीत त्यै राँको अहिले झोसिएको छ।

२) मुक्तक

गजब हुँदो रहेछ सम्बन्ध कसैले मुटुमै राखिदिन्छन्,

खामभित्र मुटु उपहार पठायो नालीमा फ्याँकिदिन्छन्।

यहीं त फरक देखिंदो रहेछ धन र मन बीचमा साथी,

मन भएकाहरूले कुरुप अनुहार पनि संगालिदिन्छन्।

३) मुक्तक

मान्छ्को मन न हो बहकिदिन्छ सधैंभरि एकनास हुँदैन,

माया गर्नेले एकोहोरो माया गरिरहन्छ कुनै आस हुँदैन।  

यति त बुझ्नै पर्छ सबैले मनोरोगको उपचार विधिलाई,

बुझेर पनि बुझपचाउनेको नियत सफा खरोखास हुँदैन।

४) मुक्तक

आङ पनि सिरिङ हुँदोरहेछ चिसो बतास चलेपछि,

त्यत्तिकै ढोका खुल्ने रहेछ चुकुलले बदमास गरेपछि।

उल्का, अचम्म नै गर्दैछन्, डोकोले पो लाज छोप्दैछन्,

जति छोप्यो लाज उति ह्वाङ्गै हुन्छ मनमा त्रास बढेपछि।

५) मुक्तक

मान्छेले जतिसुकै घमण्ड गरोस्,आखिर चितामा जल्नै पर्छ,

धनदौलतले चाहे भकारी भरोस्,आखिर चितामा जल्नै पर्छ।

मरेर गएपछि सधैं बाँचिरहने  गतिलो काम गर्न नसके पनि,

बाँच्दा आँखामा कंसिगर नपरोस् आखिर चितामा जल्नै पर्छ।

६) मुक्तक

जतिजति झर्छन् आँसु, उतिउति मुटु भक्कानिन्छ साथी,  

जसले गहिरो चोट दिन्छ, उसैलाई भगवान् ठानिन्छ साथी।

कसैले पनि अचम्म मान्नु पर्दैन यो दुनियाँको चलन देख्दा,

राम्रा छोडिन्छ अनि हाम्रालाई उम्मेदवार छानिन्छ साथी।

) मुक्तक

बुझाउन सकिन्न चित्त सवालको मिठो जवाफ दिंदा समेत,

झन् आफ्नैले मुन्टो बटार्छन् उपहार बोकेर उभिंदा समेत।

हेर्नुस् चित्त बुझाउन कठिन रहेछ गर्दन ओछ्याइदिए पनि,

एकोहोरो तेल मात्रै थप्दिन्छन् दियोमा बत्ती सकिंदा समेत।

प्रकाशित: १५ पुस २०८० ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App