७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

नपिइएको विष,निर्दोष चोर

संस्मरण

घटना २०५८ सालतिरको हो। बाइस वर्ष बितिसकेछ। लामो समय बिते पनि त्यस घटनाले अहिलेसम्म मलाई चोट दिइरहेको छ। समय आफ्नै गतिमा दौडिरह्यो। कति चाँडो बित्यो पत्तो पाइनँ।

तर, त्यस समयमा हिमालय माध्यमिक विद्यालय डाडीमाडी दैलेखका शिक्षकले दिएका पीडा जति बिर्सिन खोजे पनि बिर्सिन सक्दिनँ। पीडाले मुटुमा लागेको घाउ निको बनाउन सकेको छैन।

दैलेख जिल्लाको डाडीमाडी बजारमा हजुरबाले बनाइएको हाम्रो थोत्रो घर छ। यताउताका छिमेकीको अतिक्रमणले मरिचजस्तै चाउरिएको छ। जीर्ण चाउरिएको आफ्नो घरमा बस्न पनि छिमेकी र बजारका डनको डर मान्नुपर्ने अवस्था थियो।

त्यही घरमा हाम्रो होटल थियो। कान्छा काका र म बस्थ्यौं। साँझबिहान होटलमा दुनियाँले खाएका जुठा भाँडा माझ्थें। होटलका काममा काकालाई सघाउथेँ। दिउँसो हिमालय माविमा पढ्न जान्थें।

विद्यालय शिक्षाका लागि कक्षा ९ मा भर्ना भएको थिएँ। कक्षा ८सम्म धुलेश्वर माध्यामिक विद्यालय चगत्रामा पढेको थिएँ। हिमालय माध्यमिक विद्यालयको नयाँ विद्यार्थी थिएँ।

त्यस विद्यालयमा पढेको त्यहाँका पुराना विद्यार्थीलाई मन परेको थिएन। आफ्नो भाग खोस्न आएको ठानी रिस गर्थे। पढाइमा प्रतिस्पर्धा गर्न सक्दैनथे। बाहुन काठो भन्थे। सकेसम्म हेप्ने दबाउने गर्थे।

कक्षा ९ को पढाइ सामान्य किसिमले चलिरहेको थियो। त्रैमासिक परीक्षा भयो। मैले राम्रो अङ्क प्राप्त गरें। मेरो प्राप्ताङ्क अन्य विद्यार्थी राजा साहेब बाबुसाहेबकोभन्दा बढी थियो। त्यो देखेर राजासाहेब बाबुसाहेबहरूको रिसको पारो अझ चढ्दै गयो।

अर्धवार्षिक परीक्षा भयो। अर्धवार्षिक परीक्षामा झन् राम्रो अङ्क प्राप्त गरें। विद्यालयका पुराना विद्यार्थीको रिसले सीमा नाघ्यो। राजासाहेब बाबुसाहेबको भन्दा बढी अङ्क ल्याएको शिक्षकलाई पनि मन परेको थिएन।

उहाँहरूको नजरमा राजासाहेब बाबुसाहेब उपल्लो दर्जाका विद्यार्थी थिए। म त होटलमा भाँडा माझ्ने तल्लो दर्जाको विद्यार्थी थिएँ। भाँडा माझ्ने केटो प्रथम हुने भयो भन्ने डर थियो। प्रथम त बाबुसाहेबलाई मात्र बनाउनुपर्छ भन्ने मान्यता थियो। बाबुसाहेबलाई प्रथम बनाउन अप्ठ्यारो परेको कुरा मैले बुझेको थिएँ।

परीक्षाको नतिजामा मलाई कहिल्यै पछि पार्न सकेनन्। नतिजामा पछि पार्न नसकेपछि शिक्षकलाई पीर परेको थियो। विद्यार्थी आत्तिएका थिए। मेरा खुट्टा तानिरहेका थिए। शिक्षकहरू मौन हुनुहुन्थ्यो। व्यवहार फरक थियो।

विद्यार्थीहरूले घोचपेच र शारीरिक आक्रमण गर्न थालिसकेका थिए। मलाई कसरी सिध्याउने भनी योजना बनाइरहेका थिए। मेरो कोही थिएन। म एक्लो थिएँ। निरीह थिएँ। कसैलाई केही गर्न सक्दिनथें शिक्षक विद्यार्थीको दुर्व्यवहार सहन विवश थिएँ।

वार्षिक परीक्षा आयो। म पनि परीक्षामा सहभागी थिएँ। परीक्षा सहज रूपमा अघि बढिरहेको थियो। दिइएका विषयको परीक्षा राम्रो गरेको थिएँ। गणित विषयको परीक्षा दिएर घर आई होटलका जुठा भाँडा माझिरहेको थिएँ। एउटा विद्यार्थी आएर ‘स्कुलमा विजयनारायण सिंह सरले बोलाउनुभएको छ,जाऊ’ भन्यो।

सिंह सरले गणित र विज्ञान विषय पढाउनुहुन्थ्यो। सरले किन बोलाउनुभएछ भनेर भाँडा माझ्न छाडेर स्कुल गएँ। स्कुलमा उहाँले भन्नुभयो, “स्कुलबाट प्रश्नपत्र हराएका छन्। तिमीले चोरेको हो?“

म छाँगाबाट खसे जस्तै भएँ। होइन सर, मैले प्रश्नपत्र चोरेको छैन भनेँ।

उहाँले फेरि भन्नुभयो,“तिम्रो कापी मोटो छ। सबै प्रश्न हल गरिएको छ। यो कसरी सम्भव हुन्छ? अरूका कापी खाली छन्। तिमीले प्रश्नपत्र चोरेर हल गरेका हौ।’’

मैले धेरै पटक प्रश्नपत्र नचोरेको जवाफ दिएँ। तर, उहाँले चोरेकै हो भन्नुभयो। अरू सरहरू पनि उहाँको कुरामा सहमत हुनुभयो। मेरो कुरा कसैले सुन्नुभएन।

माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो। ज्यान जोगाउन निकै गाह्रो थियो। सरकार र विद्रोही पक्ष जसले जति बेला पनि मान्छे मार्थे। मान्छे मार्नु सामान्य कुरा थियो।

अनिकालको बीउ जोगिए जसरी ज्यान जोगियो। पलपल खुकुरीको धारमा हिंड्नुपर्यो। खुकुरीको धारमा हिंडेर पनि बाँचियो।

त्यतिबेला स्कुलमा पढाइ हुँदैन्थ्यो। वर्षभरिमा मुस्किलले बीस प्रतिशत कोर्ष पूरा हुन्थ्यो। स्कुल भगवान् भरोसामा चल्थ्यो। ठूलावडा शिक्षक कोही आफ्नो सट्टामा शिक्षक राखेर शहर तथा राजधानीमा बस्थे। कोही स्कुल नआएरै तलब खान्थे। त्यसको सुरुवात प्राधानाध्यापक बद्रीप्रसाद तिमिल्सेनाले गर्नुभएको थियो।

उहाँले ९ कक्षाको नेपालीको भानुभक्त आचार्यको कविता ’देह र आत्मा’  पहिलो पाठ सुरु गर्नुभयो। त्यसपछि उहाँ कक्षामा आउनुभएन। स्कुलमा पनि कहिल्यै देखिनँ। जीवनमा उहाँले पढाएको एक घण्टी पढेर शिष्य बन्ने अवसर प्राप्त गरेको थिएँ।

उहाँले राखिदिनुभएका सट्टा शिक्षकबाट नेपाली पढेको थिएँ। यसका लागि उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। सट्टा शिक्षक राखी पढ्ने वातावरण मिलाइदिनुभएकामा हजुरलाई सलाम। अन्य शिक्षक पढाउन पनि आउनुभएन। तपाईंले जसरी सट्टा शिक्षक पनि राखिदिनु भएन। धन्न, हजुरले सट्टा शिक्षक राखिदिनुभयो र त पढ्ने मौका मिल्यो। यसका लागि हजुरको विद्वताको मुक्तकण्ठले प्रशंसा गर्दछु।

स्कुलबाट प्रश्नपत्र हराएका त रहेछन्। तर मैले चोरेको थिइनँ। स्कुलले केही विद्यार्थीलाई केरकार गरी चोर करार गर्‍यो। मलाई पनि त्यसमा मुछियो। म दोषी थिइनँ। निर्दोष थिएँ। तर, दोषी बनाइयो। आरोप स्वीकार्न बाध्य बनाइयो। आरोप अस्वीकारे सार्वजनिक मुद्दा लगाएर जीवन बर्बाद पारिदिने उर्दी जारी गरियो। ज्यान मार्ने धम्की दिइयो।

बाँच्नका लागि उहाँहरूले जे भन्नुभयो त्यही मान्नु मेरो बाध्यता थियो। धान खाने मुसो चोट पाउने बिरालो भयो। मर्नुभन्दा बौलाउनु बेस ठानें मुटुमाथि पहाड बोकें। आँखाबाट झरी बर्सियो।तर कसैको मन पग्लिएन।

मन पग्लियोस् पनि कसरी? शिक्षक विद्यार्थीको मलाई फसाउने षड्यन्त्र पूर्ण रूपमा सफल भएको थियो। शिक्षकहरू सोचेको कुरा पूरा भएकोमा निकै खुशी हुनुहुन्थ्यो। विद्यार्थीहरू झन् खुशी थिए किनकि उनीहरूले भनेजस्तै भएको थियो।

होटलका भाँडा माझेर पढिरहेको निर्दोषलाई दोषी बनाई फसाइएको थियो। बाँकी परीक्षा दिन दिइएन। चोरको पगरी लगाई विद्यालयबाट निष्कासन गरियो। मेरो पक्षमा बोलिदिने एकजना पनि थिएन।

मेरा बाबा निर्दोष छोरालाई दुनियाँले चोर भनेको सुन्न विवश हुनुहुन्थ्यो। कति पीडा भयो होला बाबालाई कल्पना पनि गर्न सक्दिनँ। निर्दोष भएर नि हजुरको नाक काटिएको महसुस गराएकामा क्षमाप्रार्थी छु।

हजुरको ठूलो पहुँच थिएन। राजनीतिक दलको नेता पनि हुनु हुन्नथ्यो। सामान्य किसान हुनुहुन्थ्यो।सामान्य सरकारी जागिरे हुनुहुन्थ्यो।

विचरा! गृहिणी मेरी आमालाई केही थाह थिएन। तपाईंको छोरो चोर भएर आफ्नो इज्जत गएको कुरा सट्टा शिक्षकले बताउनुभएछ। उहाँका कुराले आमाको मुटुमा गाँठो परेछ।

मुटुमा घाउ लागेर अहिलेसम्म दुखिरहेको छ। कहिल्यै निको नहुने मुटु रोग लागेको छ। मेरा कारणले आमा मुटु रोगी बन्नुपर्दा असाध्य पीडाबोध हुन्छ।

विद्यालयको व्यवहार नराम्रो थियो। प्रधानाध्यापक, शिक्षक र विद्यार्थीले शत्रुता साँधे। वास्तविकता के हो बुझेनन्? आफ्नो कान छामेनन्, कागकापछि दौडिए। निर्दोष हुँदाहुँदै चोर प्रमाणित गरियो। निर्दोषलाई चोर प्रमाणित गर्दा बालमनोविज्ञानमा कस्तो प्रभाव पर्ला भनी सोच्ने कुनै शिक्षकलाई फुर्सद थिएन।

सायद यस्तो कुराको ज्ञान नि थिएन। म सानो थिएँ। कलिलो मेरो मानसपटलमा नकारात्मक प्रभाव पर्‍यो। समाजमा मुख देखाउन सक्ने स्थिति थिएन। यस्तो अवस्थामा बाँच्न निकै गाह्रो भयो।

बिनादोष चोर भन्दा आत्महत्या गर्ने अवस्थामा पुगें। तर भित्री मनले भन्यो आत्महत्या गरेर समस्याको समाधान हुँदैन,जे पर्छ सामना गर्नुपर्छ। डटेर अघि बढ्नुपर्छ। सुन्दर संसार हेर्न खुलेर बाँच्नुपर्छ। सत्य एक दिन अवश्य खुल्नेछ। सत्यको विजय हुनेछ।

सत्य कुरा खुलेको त छैन। जित पनि आजसम्म हुन सकेको छैन। तैपनि पीडासहित बाँचिरहेको छु, बाँचिरहने छु। म मरे पनि मलाई बिनाकसुर चोर भनी पीडा दिने मेरा गुरुहरूको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दछु।

एक चोरका रूपमा २०५८ साल अन्तिमतिर त्यहाँबाट विस्थापित भएँ। अहिलेसम्म विस्थापित नै छु। त्यसपछि त्रिभुवन माध्यामिक विद्यालय नयाँ बजार दैलेखमा पढ्न थालें। त्यहाँ पढ्दै गर्दा हिमालय माध्यमिक विद्यालय डाडीमाडीमा अङ्ग्रेजी विषय पढाउनुभएको लीलाराम सिजापति सर पनि सरुवा भएर त्यहीं आउनुभएको थियो।

एकदिन उहाँले भन्नुभयो, “डाडीमाडीबाट लखेट्दा यहाँ आयो, यहाँबाट पनि लखेटे कहाँ जाला? ’’

दुनियाँले मलाई यति लखेटिसकेको थियो कि भित्तामा नै पुर्‍याइएको थियो। मेरो जाने ठाउँ कहीं थिएन। म जहाँ गए पनि त्यहाँका केही शिक्षक अहिलेसम्म मलाई चोर भन्दै हिंड्नुभएको छ।

मलाई चोर नभनेसम्म उहाँहरूले खाएको खाना पनि पच्दैन। निद्रा पनि पर्दैन। शान्ति सर बर्दिया गएर मेरा परिचित मित्रहरूसँग मलाई चोर भन्नुहुन्छ। कोही सर काठमाडौंको रत्नपार्कमा जम्मा भएर चोर भन्दै पत्रकार सम्मेलन गर्नुहुन्छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मलाई चिन्ने कसैले मेरो बारे सोधे, चिन्नुहुन्छ भने हिमालय माविका शिक्षक र उहाँले पढाउनुभएका विद्यार्थी ’ए त्यो चोर त्यसलाई किन नचिन्नु ’ भन्ने जवाफ आएको मेरा परिचित साथीले मलाई सुनाउँछन्।

त्यति नभनेसम्म उहाँहरूको आत्माले शान्ति पाउँदैन। तैपनि मैले उहाँहरूलाई केही भनेको छैन,भन्ने पनि छैन। सबै आआफ्नो विवेकले चल्ने हो। उहाँहरूको विवेकले मलाई चोरभन्दा अरू केही देखेन, ठीकै छ।

उहाँहरूले उठ्दाबस्दा जति बेला पनि मलाई चोर भने नि उहाँहरूप्रति नकारात्मक कहिल्यै बनेको छैन। सकारात्मक सोचकासाथ आफ्नो बाटो आफैं बनाउँदै हिंडिरहेको छु। भविष्यमा पनि निरन्तर यसरी नै हिंडिरहनेछु।

नपिइएको विष लाग्दा जिउँदै मरेको छु। हरदिन मरेर नि बाँचेको छु। बाइस वर्षदेखि जसले जे भने पनि सहेर बसेको छु। अब त सहने बानी परिसकेको छ। सहनै नसके पनि सहेको छु। चाहिनेभन्दा नि बढी सहनशील भएको छु। यस बानीदेखि आफैंलाई रिस उठ्छ।

अनुहारमा कालो पोतिएको छ। अनुहारमा पोतिएको कालो दाग धोएर गएको छैन। धोएर कहिल्यै जाने नि छैन। इज्जतमा दाग लागेको छ। यो दाग जीवनभर मेटिने नि छैन। थाहा छ तर पनि बाँचेको छु। यो दागसहित बाँचिरहने छु।

मेरो जीवनको अँध्यारो,कालो र तीतो यस क्षणलाई कहिल्यै बिर्सिने छैन। यसलाई पक्षपोषण गर्ने तत्कालीन प्रधानाध्यापक शिक्षक र विद्यार्थीलाई पनि बिर्सिने छैन। उहाँहरूले गरेको विशिष्ट कार्यका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु किनकि उहाँहरू मेरा प्रेरणाको स्रोत हुनुहुन्छ।

-डा.रामकृष्ण आचार्य , ‘ विशेष्य’

प्रकाशित: ५ पुस २०८० ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App