२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

डोजर आतङ्कका डोब

नेपालमा पदयात्रा गर्न चाहनेहरूका लागि शरद् ऋतु उत्तम मानिन्छ। वर्षा सकिएपछि छर्लङ्ग भएको आकाशमुनि हिमालका चुचुराको मनमोहक दृश्य देखिन्छ। दिउँसोको घामले उच्च पहाडी भागमा पनि शरीरलाई पर्याप्त न्यानो दिएको हुन्छ र हिमपात सुरु भई नसकेको अवस्थामा हिमपहिरोका कारणले बाटैमा अड्किनुपर्ने खतरा पनि कमै हुन्छ।

भनिन्छ, मौसम भनेको युवतीको चाहना जस्तै हो, कुनै पनि बेला बदलिन सक्छ। पर्वतीय क्षेत्रमा झलमल्ल घाम लागेको दिन पनि हेर्दाहेर्दै सर्वत्र बादलले ढाकेर अन्धकार हुन बेर लाग्दैन। त्यसो भए पनि लामो पदयात्रामा निस्केकाहरूका लागि निराश हुने अवसर नै जुट्दैन किनभने एकदुई दिनको बतास–पानी र त्यसले ल्याउने अखप्य चिसोपछि हिमाल अझ सुन्दर हुन्छ र घाम झन् न्यानो भएर झुल्किन्छ।

सगरमाथा क्षेत्र, मुक्तिनाथ, हेलम्बु–गोसाईंकुण्डजस्ता पदयात्राका लोकप्रिय स्थलहरू धेरै अघि नै पुगिसकेकाले यसपटक म नयाँ गन्तव्यको खोजीमा थिएँ। पदयात्राप्रेमी साथीहरूसँगको सामान्य सरसल्लाहपछि मनाङको साइत जु¥यो। पर्यटकीय गन्तव्यका दृष्टिकोणले मनाङ भन्नाले सोही नामको जिल्लाको उपल्लो भेकमा ३५२० मिटरको उचाइमा रहेको एक सानो गाउँलाई बुझ्नुपर्ने रहेछ।

मनाङ जिल्ला त लमजुङको च्याम्चे कटेर म्यार्दी खोलाको पुल तर्नासाथ सुरु भइहाल्छ तर मनाङ गाउँ सदरमुकाम चामेबाट दुई–तीन दिन उत्तर–पश्चिमतर्फ हिँडेपछि मात्र पुगिन्छ। पदयात्रीहरूको भाषामा ‘अन्नपूर्णा वृत्त’ नामले प्रसिद्ध यस मार्गमा मनाङ एक प्रमुख बिसौनीका रूपमा चिनिन्छ। मनाङबाट नै ४,९४९ मिटरको उचाइमा रहेको तिलिचो ताल र ५,४१६ मिटरको उचाइमा रहेको थोरोङ ला नाका जाने बाटो छुटिन्छ। यी क्षेत्रको पदयात्राअघि पर्यटकहरू मनाङमा केही दिन बिताउँछन् र लेक नलागोस् भनेर शरीरलाई हिमाली वातावरणका लागि अभ्यस्त बनाउँछन्। तर मनाङ फगत एकदुई दिन आराम गर्न पायक पर्ने बिसौनीका कारणले मात्र आकर्षक भएको होइन। यो आफैंमा एक गन्तव्य हो, जसका वरपर कैयन् रमणीय र सुन्दर प्राकृतिक तथा सांस्कृतिक स्थल छन्। मेरो लक्ष्य पनि मनाङ गाउँलाई नै आधार मानेर एकै दिनमा फर्कन भ्याइने वरपरका स्थानहरूमा पदयात्रा गर्नु नै थियो।  

प्रकृति र संस्कृति

पर्यटकहरू रमाउनलाई आवश्यक पर्ने यी दुवै कुरा मनाङ गाउँको सेरोफेरोमा नै उपलब्ध छन्, जसको अवलोकन गरेर यहाँ कैयन् दिन बिताउन सकिन्छ। तीमध्ये जो तिलिचो ताल वा थोरोङ ला (अर्थात् दुवैतर्फ) जाने लक्ष्य राखेका छन् र मनाङमा एकदुई रात विश्रामका लागि मात्र रोकिएका छन्, उनीहरू भोलिपल्ट नै झन्डै डेढघण्टाको पैदल यात्राको दुरीमा रहेको चोंकोर डाँडाको टुप्पोसम्म (उचाइ ३८०० मिटर) लम्किन्छन्। चोंकोर डाँडा मस्र्याङ्दीको दाहिने किनारमा अर्थात् मनाङबाट नदीपारि पर्छ।

यहाँबाट पूर्वमा मनास्लु, दक्षिणमा अन्नपूर्ण शृङ्खलाका विभिन्न चुचुराहरू र गंगापूर्णा, पश्चिममा तिलिचो हिमालदेखि उत्तरतर्फ खातुन काङ, चुलु, पिस्साङलगायत चारै दिशातर्फ कैयन् चुचुराहरू देखिन्छन्। यीमध्ये कतिको त नाम भन्न सक्ने मानिस फेला पार्न पनि मुस्किल हुनेरहेछ। चोंकोर डाँडाको फेदीमा गंगापूर्णा हिमताल छ। यसको मुख्य स्रोत गंगापूर्णा हिमाल मुनिको हिमनदी हो। जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिको असर यहाँ टड्कारै देख्न सकिन्छ। हिमनदी र ताल दुवै लोप हुँदै छन्। अलिअलि बाँकी रहेको पानी रोकेर तालको नामसम्म राख्नका लागि सामान्य बाँध हालिएको छ।    

झन्डै त्यति नै दुरीमा मस्र्याङ्दीको देब्रे किनारतर्फ मनाङ बजारको शीरमा टंकी छो बौद्ध विहार रहेको छ। यहाँसम्म उक्लेर गुम्बा, साथसाथै मनाङ उपत्यका र मस्र्याङ्दी नदीमाथि उठेको अन्नपूर्णा शृङ्खलाको समुच्च भीमकाय स्वरूपको दृश्यावलोकन गर्न सकिन्छ। मनाङ बजारबाट आधा घण्टा पूर्वतर्फ हिँडेर गए अर्को रमणीय र सांस्कृतिक दृष्टिले महŒवपूर्ण स्थान भ्राका गुम्बा पुगिन्छ। पहाडमा खोपेर बनाइएको यस गुम्बा ६०० वर्ष पुरानो मानिन्छ। अद्भुत वास्तुकलाले सजिएको यस गुम्बाको निर्माण तिब्बतबाट आएका कर्मापा एघारौंबाट भएको हो भन्ने विश्वास पनि गरिँदो रहेछ। एक दिनको विश्राम र उच्च हिमाली क्षेत्रको वातावरणसँग अभ्यस्त हुन चाहेका पर्यटकहरूलाई यी चार स्थान घुमेपछि दिन सजिलै बित्छ। बाँकी केही घण्टा नुहाइधुवाइमा बिताउनुपर्छ किनभने थोरोङ ला होस् या तिलिचो जता गए पनि आगामी दिनमा मनाङकै जस्तो सुविधा पाइने छैन। तर मनाङमा अरू केही दिन बस्ने योजना भएकाका लागि भने ४६०० मिटरको उचाइमा रहेको खिचो हिमताल र ४६०० मिटरको उचाइमा रहेको मिलारेपा गुम्बा प्राथमिकतामा पर्छ। यी दुवै स्थान जाने बाटो भ्राकाबाट नै छुट्टिन्छ।  

लोप हुँदै गएका मौलिक स्थाननामहरू  

मनाङ जानुअघि नै भक्तपुरमा घटेको एक घटनाबाट मलाई पर्यटकीय आकर्षणका स्तम्भहरूको स्थानीय नाम उपेक्षित भएको भान भएको थियो। दत्तात्रय मन्दिर पछाडिको प्रसिद्ध मयुर झ्याल ‘म्ह्यखाइया झ्या’लाई ‘मोनालिजा विन्डो’ बनाएछन्। इन्टरनेटमा पनि भक्तपुरको मयुर झ्याल भनेर खोजे गुगल र युट्युबले ‘नेपालको मोनालिजा’ भनेर देखाउने रहेछ। पोखराको पातलो छाँगोलाई ‘डेभिस फल्स’, माछापुच्छ«ेलाई ‘फिस्टेल’, स्वयम्भूलाई ‘मन्की टेम्पल’ नामकरण गरिएकै शैलीमा पर्वतीय क्षेत्रमा पनि विदेशी नाम दिने रोग लागेको रहेछ।

बेंसी सहरबाट माथि लागेपछि कैयन् सुन्दर झरनाहरू देखिन्छन्, जसमध्ये च्याम्चेमाथि बाटैमा पर्ने एउटा झरनाको आकार पहाडको टुप्पोबाट पानी खान मस्र्याङदी झरेको गँगटाको जस्तो छ। यसलाई पहिला च्याम्चे झरना नै भनिन्थ्यो। अहिले ‘अक्टोपस फल्स’ भनिँदो रहेछ। त्यसरी नै माथि उल्लिखित खिचो हिमताललाई पनि ‘आइस लेक’ भनेर चिनाउने गरिएको रहेछ। हिमशिखरहरूको दृश्यावलोकनका लागि समेत अति लोकप्रियता कमाएको यस तालको नाम फेर्नुपर्नाको कारण दुई अक्षरको ‘खिचो’ उच्चारण गर्न गाह्रो भएर त होइन होला। केही वर्षअघि ठुलो ज्वालामुखी फुटेर अन्तर्राष्ट्रिय समाचारमा आएको आइसल्यान्डको पर्वतको अप्ठ्यारो भए पनि त्यसको नाम परिवर्तन भएको कतै सुनिएको छैन।  

आश्चर्य लाग्दो कुरा के छ भने काठमाडौं, भक्तपुर र पोखराजस्तै लमजुङको झरना र मनाङको हिमतालको नाम विदेशीले बिगारेका कारण हामीले पनि त्यस्तै अनुशरण गर्नु परेको होइन। जसरी आजकल काठमाडौंका ‘युट्युबे’ भनेर चिनिएका ‘विद्वान्हरू’ अंग्रेजी शब्द नघुसाई नेपालीमा एउटा पनि वाक्य बनाउन र बोल्न जान्दैनन्, तिनैको देखासिकी गरेका स्थानीय ठालु र अयोग्य गाइडहरूले ‘पढेलेखेको’ देखिन जथाभावी विदेशी भाषा घुसाउन श्रेयस्कर ठानेका हुन्। यदि यो स्वच्छन्दता जारी रहे एक दिन अन्नपूर्णाको नाम ‘माउन्टेन ग्रेन’, काठमाडौंको नाम ‘टेम्पल उडर’ पोखराको नाम ‘लेक सिटी’ नहोला भन्न सकिन्न।  

प्रश्न नामको मात्र पनि होइन। पर्यटकको पथ प्रदर्शन गरेका नेपाली गाइडहरूको योग्यता कस्तो छ र तिनीहरूलाई नेपालको भौगोलिक, सांस्कृतिक र पर्यटनसँग सम्बन्धित विषयमा उचित तालिम दिइएको छ कि छैन भन्ने हो। केही वर्षअघि सोह्रश्राद्ध सकिने बेलामा म जोमसोमबाट कागबेनी जाँदै थिएँ र वरपर पर्यटकहरू पनि हिँडिरहेका थिए। बाटोमा श्राद्ध गर्न जान लागेका र श्राद्ध गरेर फर्केका नेपालीहरूको भिड थियो। मेरो नजिकै हिँडेको एक अमेरिकी पर्यटकले आफ्नो गाइडलाई किन यतिका सङ्ख्यामा नेपालीहरू देखिए भनेर प्रश्न गरेको सुनें तर गाइडले केही बताउन सकेन। त्यो देखेर मैले कागबेनीमा श्राद्ध गरिने परम्पराबारे बताइदिएँ। मनाङको एक आकर्षण मिलारेपा गुफा र त्यसमुनि रहेको गुम्बा हो। तर, मिलारेपा को हुन् ? त्यस गुफाको महŒव के हो ? कसरी त्यहाँ गुम्बा रहन गयो ? भन्ने जिज्ञासाको उत्तर त्यहाँ खटिएका गाइडहरूसँग छैन। बौद्ध दर्शनको आस्थाअनुसार मानिसले पुनर्जन्म पाएर धेरै चोलामा गरेको ध्यान र कर्मपछि मात्र निर्वाण प्राप्त गर्छ, तर के विश्वास गरिँदो रहेछ भने मिलारेपाले एकै जन्ममा आफ्नो कर्मसिद्धी गरेर परिनिर्वाण हासिल गरेका थिए। गाइड भनेको पर्यटन दुनियामा देशको प्रवक्ता हो तर आफ्नो देशबारे बताउन नसकेपछि ऊ विदेशीका लागि अनुकूल भइदिँदो रहेछ। हाम्रा मौलिक नामहरू गुमिरहेको कारण पनि त्यही हो।

डोजर आतङ्क  

अन्नपूर्णा वृत्त संसारमै प्रसिद्ध पदयात्रा मार्गमध्ये एक हो।  उच्च हिमाली भेग हुँदै जाने यस मार्ग प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक धरोहरले भरिपूर्ण छ। तर हाल आएर यी सबै सम्पदाको अस्तित्वमाथि नै एउटा ठुलो मानव निर्मित खतरा मडराइरहेको छ। त्यो हो डोजर आतङ्क र त्यसले निम्त्याएको विनाश। नेपालको हिमाली पर्यावरण, जनजीवन र  समग्र पर्यटन उद्योगमाथि नै यसले पु¥याउन सक्ने अपूरणीय क्षति दृष्टिगत गरेर नै डोजर आतङ्क  यस नियात्राको शीर्षकमा नै उल्लेख गरिएको हो।

मनाङतर्फ पदयात्रा गर्न चाहनेहरू पहिला बेंसीसहरदेखि नै हिँड्न थाल्थे। अहिले पदयात्रा समय छोट्याएर धारापानी या चामेबाट सुरु गर्छन्। अधिकांश पर्यटक चामेसम्म गाडीमा जान्छन् भने केही धारापानीसम्म गाडीमा गएर त्यहाँबाट हिँड्न थाल्छन्। कोही त मनाङ र झन् माथि खङसारसम्मै गाडीमा जान्छन्। पर्यटकहरूले चाहेर पदयात्राको दुरी छोट्याएका होइनन्। लमजुङको स्याँगेदेखि मनाङखङसारसम्मको पाँच–छ दिनको पदयात्रा–मार्ग डोजर लगाएर पूरै ध्वस्त बनाइएको छ। हिमाल, नदी र झरनाको दृश्य हेर्दै वनपाखाको स्वच्छ हावाको सास लिएर पदयात्रामा आएका पर्यटकहरू घुँडाघुँडासम्म धुलो आउने बाटोमा नाकमुख थुनेर हिँड्न बाध्य छन्। त्यही पीडादायक यात्राको अवधि कम गर्न उनीहरू ज्यानको खतरा मोलेर भए पनि थोत्रा जिपमा कोचिएर जोखिमपूर्ण यात्रा गर्छन्।उता डोजर आतङ्कका मालिकहरू पर्यटकहरूको यही बाध्यताबाट धनी भइरहेका छन्।  

डोजर आतङ्क माओवादी आतङ्ककालमा हुर्केबढेको तर अहिले स्थानीय ठालु, डोजर धनी र भूमाफियाको त्रिकोणात्मक खटनपटनबाट चलेको गतिविधि हो। भूमाफियाले कुन जग्गाको मूल्य बढाउने भनेर ठाउँ निर्धारण गर्छन्, स्थानीय ठालुले त्यहाँ बाटो निकाल्न आवश्यक भयो भनेर सम्बन्धित निकायलाई परिचालन गर्छन् र डोजर व्यवसायीले सोहीअनुसार पहाड फोर्छन् र डोजरको शुल्क असुल गरेर फाइदा उठाउँछन्। बाटो निकालेर महँगोमा जमिन बेचेपछि त्यो धुलोमा ती कोही बस्दैनन्, सबै काठमाडौं आउँछन् र खनिसकेको बाटो अलपत्र हुन्छ,  जसको कथा छुट्टै छ। यस विषयमा कुनै योग्यताप्राप्त इन्जिनियरको प्राविधिक सल्लाहबिना गाउँगाउँमा जथाभावी ‘सडक’ खोलिएको कुराको जानकारी एक वरिष्ठ वामपन्थी नेताले धेरै अघि नै सार्वजनिक रूपमा गराइसकेका हुन्।

अहिले यो आतङ्कको प्रभाव पर्यटनमा पनि परेको देखिन्छ। यदि असल मनसायले सडक निर्माण गर्न चाहेको भए वर्षौंदेखि सुचारु रूपले चलिरहेको मनग्य आर्थिक लाभ दिइरहेको पदयात्रा मार्गमा डोजर लगाउनुपर्ने आवश्यकता नै थिएन। पदयात्रा मार्गलाई जोगाएर पनि सडक बनाउन सकिन्थ्यो, आखिर पैदल बाटोले ओगट्ने जमिन नै कति हुन्छ र ! तर यसैको कारण वनविनाश, भूस्खलन र मोटर दुर्घटनाबाट वर्षौं मानिसहरूको मृत्युजस्ता वातावरणीय र मानवीय क्षति व्यापक रूपमा भइरहेको छ र सरकार बेखबर भएर या दुराशयका कारण पूरै अनुपस्थित छ।  

दिग्भ्रमित पर्यटन नीति  

नेपालको कुनै ठोस पर्यटन नीति छजस्तो लाग्दैन र त्यो भएको कतैबाट महसुस पनि हुँदैन। तर, यदाकदा पर्यटनसँग जोडिएका विषयमा नाराहरू लगाएको सुनिन्छ। राजधानीतिर सहरैपिच्छे ठुलठुला विमानस्थलको निर्माण, वाइडबडी जहाजको खरिद र नयाँ पर्यटकीय गन्तव्य खोल्ने कुराले प्राथमिकता पाइरहेको देखिन्छ। तर यस्ता कार्यक्रमको लक्ष्य के हो भन्नेमा नीतिनिर्माता आफैं स्पष्ट देखिँदैनन्।  

पर्यटनबाट देशले प्राप्त गर्ने आम्दानी भनेको पर्यटकहरू आएर गरेको खर्चको कुल रकम हो, जुन उनीहरूको सरदर दैनिक खर्च र नेपालमा बस्ने अवधिमा निर्भर गर्छ। पर्यटकहरूको सङ्ख्या नबढाई उनीहरूको नेपाल बस्ने अवधि मात्र बढाएर त्यति नै आम्दानी गर्न सकिन्छ। त्यसरी नै हामीले दिने सेवाको गुण र बिक्री गर्ने वस्तुको परिमाण बढाएर पर्यटकको प्रतिव्यक्ति खर्च बढाउन सक्छौं। पर्यटकको सङ्ख्या थप्न भौतिक संरचनामा धेरै लगानी गर्नु पर्छ र ठुलो सङ्ख्यामा पर्यटक ल्याए त्यसको वातावरणीय प्रभाव पनि महँगो साबित हुन सक्छ।

ठुलठुला जहाज, जताततै विमानस्थल, पर्यटन वर्ष र ‘भिजिट नेपाल’ जस्ता कार्यक्रम पर्यटकको सङ्ख्या बढाउन मात्र लक्षित छन्, देशको आम्दानी बढाउन होइन। मनाङकै उदाहरणमा पनि डोजर आतङ्कले पर्यटकहरूको नेपाल बस्ने अवधि उल्लेखनीय मात्रामा घटाएको छ। ससाना गाउँमा बास बस्दै जाँदा पर्यटकहरूको खर्चले स्थानीय जनताको आयमा सकारात्मक प्रभाव पाथ्र्यो, नेपालीको रहनसहन र संस्कृतिको पनि परिचय हुन्थ्यो तर पर्यटकलाई सिधै मनाङ पु¥याएर डोजर आतङ्कका सञ्चालकहरूले निम्न आय भएका गाउँलेहरूको व्यवसाय र रोजगारी खोसेका छन् भने पर्यटकहरूको नेपालबारे बढी जानकारी लिने अवसर पनि छिनेका छन्।  

जुनसुकै देशले पनि पर्यटनबाट मुख्य दुईवटा लक्ष्य हासिल गर्न चाहेको हुन्छ। पहिलो, पर्यटकहरूको आगमनलाई राष्ट्रिय अर्थतन्त्रको हितमा प्रयोग गर्नु, दोस्रो, उनीहरूमार्फत विश्वलाई आफ्नो देशको परिचय दिलाउनु।आर्थिक पक्षमा नेपालको पर्यटन व्यवसाय समग्रमा घाटामा गइसकेको छ किनभने विदेशी पर्यटकको आगमनबाट नेपालले कमाएको आम्दानीभन्दा नेपाली पर्यटकहरूले विदेश गएर गरेको खर्च बढी भएको तथ्याङ्क छ। मनाङको उदाहरणले पर्यटकीय क्षेत्रलाई डोजर आतङ्कसामु आत्मसमर्पण गरेर नेपाल दोस्रो लक्ष्यमा पनि असफल हुँदै गएको सङ्केत गरेको छ।  

प्रकाशित: ३० मंसिर २०८० ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App