१९ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

सिद्धान्तको विजय

कथा

आखिर दसैं पनि सकियो। महामारीपछि यसपालिको दसैं अलि भिडभाडयुक्त नै थियो। अझ भन्नुपर्दा सबैले आफ्ना मान्यजन, घरपरिवारसँग पहिलेको तुलनामा बढी नै रोमाञ्चक तवरले मनाए। त्यसो त मैले पनि विभिन्न कारणले तीनचार वर्षदेखि लगाउन नपाएका सबै मान्यजनसँग यसपटकको टीका थापें। आफ्नो राम्रो भएपछि अरूको पनि राम्रै भयो होला भन्ठान्नु आखिर मानवीय स्वभाव पनि त हो।

व्यथा उही त हो, दसैं राम्रोसँग मनाए पनि सबै थान्कोमान्को गर्नै पर्‍यो। जमरा–टीका विसर्जन गर्नै पर्‍यो। दसैंपछि पनि त बाँच्नु नै छ। त्यसैले दसैंपछिको ज्यान थकित छ। हल्का रातको समय। चन्द्रमा आकाशमा टल्किरहेको छ। वरिपरि सबै टोल घुर्न लागिसके। मेरा आँखाको निद्रा भने कोसौं टाढा थियो। आखिर ऊ किन भागिरहेको छ? मैले भेउ नै पाउन सकेकी थिइनँ। कतै भोलिदेखि अफिस जानुपर्छ भनेर त होइन? वा यति रोमाञ्चक दसैं सकियो भन्ने चिन्ताले? यस्तै यस्तै प्रश्न मनमा आइरहे। तर उत्तर दिने कसले? त्यसैले प्रश्न आफै उठ्थे र त्यसैगरी बिलाउँथे, जसरी पोखरीमा पानीका फोका बन्छन् र आफै बाटो लाग्छन्।

धन्न भगवान्ले मोबाइल भन्ने जिनिस बनाइदिएको छ। नत्र दुनिया निदाइरहेका बेला जिउँदो-जाग्दो यस्तो व्यक्तिका लागि रात कति निराश हुँदो हो। म पनि अपवाद हुने कुरै भएन। तानें, सिरानछेवै चार्जमा राखिएको मोबाइल। अनि रमाउन खोजें त्यसैमा। फेसबुकको भित्तो चाहारें एकपटक सररर। त्यसपछि ट्विटरलाई पनि के अन्याय गर्नु जस्तो लाग्यो। टिकटक त मेरो फेबरेट नै भइहाल्यो। छाड्ने कुरै भएन।

राम्रा पक्ष पनि छन् सोसल मिडियाका। समाजमा के भइरहेको छ वा समाज कता गइरहेको छ भनेर थाहा पाउन समाजशास्त्रीय अध्ययन नै चाहिन्न। न साथीसँगी को कहाँ पुगेका छन् भनेर सोधीखोजी नै गरिरहनुपर्छ। कसैका घरमा ठाकठुक परेकोदेखि सूतक र जुठोसमेतको जानकारी दिन्छ यसैले। त्यसैले सामाजिक सञ्जाललाई कटुवाल पनि भन्ने गरेको छु मैले।

त्यति मात्र कहाँ हो र? आफैले बिर्सेका आफूसम्बन्धी तिथिमितिसमेत सम्झाइदिन्छ यसले। अझ टिकटकले त कसैभित्र लुकेको खुबीसमेत उजागर गरिदिन्छ। र, निरसता अनि दिक्दारीसमेत भगाइदिन्छ। आखिर दुनिया यसैको लतमा त्यत्तिकै फसेको कहाँ हो र?

आँखा टिकटकमा छन्। छेउमा श्रीमान् सुतिरहेका। बेलाबेला मतिर हेर्दै ‘कति मोबाइल हेरिरहेको? सुत’ भन्थे। मचाहिँ सुने–नसुनेझैं गरेर मोबाइल हेरिरहन्थें। टिकटकबाट छुटेका आँखा एक्कासि भित्ताको घडीमा पुगेर रोकिए-घन्टे सुई दुईमा पुगिसकेर पनि अगाडि बढ्ने तरखरमा रहेछ। त्यसपछि भने भएन अब भनेर जबर्जस्ती सुत्न खोजें। खोजेर मात्र के गर्नु? निद्रा पनि त आउनुपर्‍यो। आ, कति हेर्नु मोबाइल मात्र भनेर फेरि एफएम रेडियो बजाएँ। नागरिक एफएम मिठो गीत सुनाउँदै थियो आफ्नै तालमा। म पनि त्यही तालमा रम्ने प्रयास गरिरहें-

नआऊ जून कोठामा राति, मसँग लाडिन, 

कसैको भइसकेको मन, सक्दैन बाँडिन।

उक्त मधुर गीतमा यति डुबेछु कि सुन्दासुन्दै २० वर्षअघिको याद पो एकपछि अर्को गरेर आउन थाल्यो–म काभ्रेमै कक्षा १२ मा पढ्दै थिएँ। फुपूले ‘काठमाडौंको राम्रो घरको केटो, पढेलेखेको छ, आँखा चिम्म गरेर दिए हुन्छ’ भन्दै विवाहको कुरो ल्याउनुभएको थियो। आमाबाबाले फुपूको प्रस्तावमा नाइँनास्ती गर्ने कुरै थिएन। सोझै ‘हुन्छ’ भनिदिनुभयो। उहाँहरूले ओके त गर्नुभयो तर मेरो भने मास्टर बन्ने सपना थियो। त्यो पनि आफ्नै गाउँको। शिक्षाको ज्योति गाउँभर छर्ने रहर थियो, पशुपतिमा शतबीज छरेझैं।

जीवन आफूले सोचेजस्तो सिधा मार्गमा मात्र कहाँ अघि बढ्ने रहेछ र? न प्रतिकार गर्न सक्थें न त कन्भिन्स नै। आखिर विवाह भइछाड्यो। हेर्दाहेर्दै छोरीबाट बुहारीमा परिणत भएँ। कसैकी भाउजू बनें, कसैले माइजू भन्न थाले। सुश्रीबाट श्रीमती त हुने नै भइहालें।

जिम्मेवारीहरू मात्र फेरिएनन्, थपिए पनि। आफ्नो सपनाचाहिँ यी सबै गतिविधिसँग सती गइरहेका थिए।

वैवाहिक जीवन चलिरहेकै थियो। जस्तोसुकै प्रतिकूलतालाई पनि अनुकूलतामा ढाल्नु नै सफलताको सूत्र हो भन्ने बुझेकी थिएँ। त्यसैले अँगाल्ने प्रयास गरिरहें, हरदम। सासूससुरा, नन्दआमाजू, देवर, भान्जाभान्जी सबैको माया पाइरहेकै थिएँ। त्यसैले घरमा खुसी नै थिएँ। बुहारी बन्नुपर्दा गाह्रो हुन्छ भन्थे। तर मैले भने त्यो गाह्रो कस्तो हुन्छ भन्ने कहिल्यै अनुभव गर्न परेन। घरमा यति धेरै रमाएछु कि माइती नै बिर्सन पुगेछु, अर्थात् घरको वातावरणले कहिल्यै माइतीको याद आउनै दिएन।

नेपाली समाज न हो, बिहेको तीनचार वर्ष बितेपछि पनि बच्चा नभएपछि सासूससुराले नातिनातिनाको इच्छा गर्न थाले, नजानिँदो तवरले। त्यसपछि पो म झल्यास्स भएँ-मलाई मेरा श्रीमान्ले छोएको थाहै छैन। घरपरिवारका सबै सदस्यको इच्छा आकाङ्क्षा पूरा गर्दागर्दै खुसी भइरहेकी मलाई पनि त बच्चाको रहर थियो। तर श्रीमान्ले अहिलेसम्म आफूलाई छुँदै नछोएको कुरा कसलाई सुनाऊँ? कसरी सुनाउन सक्छु यस्तो कुरा ? त्यसैले आफै तड्पिनुको विकल्प मसँग थिएन।

त्यसपछि श्रीमान्सँग नजिक हुने उपाय खोज्न थालें। उनीसँग एकछिन पनि नछुट्टिने बहानाहरू बनाउन थालें। उनी कतै बाहिर जाँदा आफू पनि सँगै जान थालें। यसरी सबलले नचाहँदा नचाहँदै पनि केही समय हामी सँगै रहने भयौं। बाहिर पनि सँगै हुन थाल्यौं। तर पनि एउटी श्रीमतीले श्रीमान्बाट पाउनुपर्ने मायाबाट भने वञ्चित नै भइरहें। म सबलसँग जति जति नजिक हुन खोज्थें, उनी मसँग उति उति टाढा हुन खोज्थे। हुँदाहुँदा उनी मबाट टाढिने बहानाहरू पो खोज्न थाले। यसै क्रममा उनले मलाई काली, भैंसी, जङ्गलीजस्ता शब्द प्रयोग गर्न थाले। जतिखेर पनि रिसाउन थाले।

सुरुमा त मैले खासै माइन्ड गरिनँ किनकि श्रीमान्ले श्रीमतीलाई यस्ता शब्द, त्यो पनि आफ्नो कोठाभित्र वा दुईजना मात्र भएका ठाउँमा भन्दा के फरक पर्छ र? आखिर माया गरेर भनेको पनि त हुन सक्छ जस्तो लाग्यो।

जब यस्तै शब्द र व्यवहार घरपरिवारका अगाडि अर्थात् बाहिरफेर पनि हुन थाल्यो, त्यसपछि भने मुटु छियाछिया हुन थाल्यो। हृदयभित्रै धारिलो हतियारले घोचेजस्तो पीडा हुन थाल्यो। घरको कुरा माइतीमा गएर भन्नु पनि ठिक लागेन।

जब ममाथि श्रीमान्ले यस्तो व्यवहार गरेको सबैले थाहा पाए, घरपरिवारका सदस्य पनि चकित भए किनकि यो सबैको कल्पनाबाहिरको कुरा थियो। खासमा सासूससुरादेखि सबैजना हामी मिलेको देख्न चाहन्थे। बुहारीले सुख पाएको, खुसी भएको हेर्न चाहन्थे। त्यसैले उनीहरूले मेराविरुद्ध कहिल्यै पनि छोराको पक्षमा बोलेनन्। यसपछि त झन् छोराको अनपेक्षित व्यवहार र शैलीलाई लिएर सासूससुरा उल्टै चिन्तित हुन थाले।

नातिनातिना चाहिएका सासूससुरा पनि अब त आफ्नो चाहना मारेर ‘छोरीका रूपमा भित्रिएकी बुहारीलाई मात्र खुसी राखिदिए हुन्थ्यो’ भन्ने तहमा पुग्नुभयो। यसर्थ बाबुआमाभन्दा पनि माया गर्ने सासूससुरा पाएकामा भने म निकै भाग्यमानी थिएँ। सोझै भन्नुपर्दा मेरो हरेक चाहनालाई खुसीमा परिणत गर्न हरसम्भव प्रयत्न गर्ने नै मेरा सासूससुरा थिए।

एक दिनको कुरा हो। ससुराबाबाले बोलाउनुभयो र पढाइलाई निरन्तरता देऊ भन्नुभयो। यसका लागि कलेज भर्ना हुने सल्लाह पनि दिनुभयो। ‘उमेर भरखरको छ, जीवनको कुनै भरोसा छैन। कुन बेला कुन मोड लिन्छ के थाहा? हामीलाई तिम्रो चिन्ता लागिरहन्छ।

हाम्रो अगाडि तिमी आफ्नै खुट्टामा उभिएको देख्न पाए हाम्रा बाँकी दिन सन्तुष्टमय हुने थिए,’ उहाँले भन्नुभयो। जसले पनि आफ्नो भविष्य आफै बनाउनुपर्ने र यसका लागि शिक्षा मुख्य रहेको उहाँको बुझाइ थियो। त्यसैले मेरो उज्ज्वल भविष्यका लागि उहाँले यो सुझाव दिइरहनुभएको थियो।

ससुराबाबाको सुझाव नकार्नुपर्ने कुनै कारणै थिएन। मैले स्वीकारोक्तिको मुन्टो हल्लाउँदै ‘हस् बाबा’ भनें र आफ्नो कोठामा आएँ। रातको दश बजिसकेको थियो। उही त हो, दिनभरको थकान। सिरानमा टाउको राखेर पल्टें। सबल अझै घर आइपुगेका थिएनन्। मलाई भने उनको प्रतीक्षा निकै लामो लागिरहेको थियो किनकि आज मैले उनलाई बाबाआमाको प्रस्ताव सुनाउनु थियो, अनि यसबारे उनको प्रतिक्रिया सुन्ने हतारो थियो। त्यसैले अघिपछि त निद्रा आउन गाह्रो हुने मलाई आज त झन् के आउँथ्यो र?

करिब एघार बजेको थियो। सबल आए। सिट्ठी बजाउँदै कोठामा पसे। म हत्त न पत्त उठें अनि ढोका लगाएँ र भनें-सिट्ठीको आवाजले निदाइसकेका आमाबाबालाई डिस्टर्ब हुँदैन? के गरेको सबल यस्तो? भलादमी घरको छोराले यस्तो गर्न सुहाउँछ? बिचरा बुढा भएका आमाबाबाले थाहा पाउनुभयो भने? उहाँहरूलाई त तिमीले खुसी पो राख्नुपर्छ त। कस्तो सन्तान हौ तिमी? ती बुढा भइसकेका आमाबाबाले तिमीसँग खुलेर कुरा पनि गर्न सक्दैनन्।

‘तँ धेरै नबोल् है जङ्गली काली भैंसी। कुनै कुरा गर्न आउँदैन? समाजमा उठबस गर्न जानेकी छैनस्? तैंले आधुनिकता भनेको के हो बुझेकी छैनस्? त्यही पनि मजस्तो बुझेको, विदेशमा पढेको केटो पाइछेस्। खासमा मेरो चाहनाको जीवनसाथी अर्कै थियो। तैपनि आमाबाबाको इच्छा भनेर तँ जस्ती जङ्गलीलाई सहेर बसेको छु। तँ त मेरो खुट्टामा पनि सुहाउँदिनस्,’ एकोहोरो प्रवचन दिएर उनी आफ्नै पाराले सुते, जसरी अघिपछि सुत्ने गर्थे।

उनी त निदाए होलान् तर मेरो भने सम्भावित निद्रा पनि हराम गर्‍यो उनको भनाइले। उनका प्रत्येक शब्दले मेरो मनमुटुमा घोचिरह्यो, निरन्तर। जुन घरलाई आफ्नो भनेर बिहे गरेर आएँ, जसलाई श्रीमान् स्विकारेर बसें, आज उनैबाट यस्ता वाणी आएपछि सहूँ कसरी? न माइत गएर यी सबै कुरा खुलस्त सुनाउन सक्छु, न त सासूससुरालाई नै भन्न सक्छु। कस्तो आपत् आइलाग्यो हे प्रभु! आँखाबाट बलिन्द्र आँसु बगेको बग्यै भयो। आज पहिलोचोटि जीवनमा आफैदेखि निराश भएकी थिएँ। के गरूँ, कसो गरूँ? छटपटी रोकिएन।

सबलले भनेका केही कुरा त ठिक पनि थिए। म उनीजति पढेकी थिइनँ। उनीजस्तो आधुनिक समाजमा हुर्केकी पनि होइनँ म। मेरा लागि यसो गर्नु सपना मात्र थियो। हो, म अलि काली पनि थिएँ अर्थात् उनीजस्तो गहुँगोरी थिइनँ। तर यसमा मेरो के गल्ती? पहिल्यै हेर्नुपर्दैनथ्यो? त्यतिबेलै विवाह गर्दिनँ भन्नुपर्दैन? विवाह भएको यत्रो वर्षपछि मन परेको मान्छेसँग विवाह गर्न पाइनँ भनेर रिस पोख्ने हो? त्यो पनि मसँग। चाहेको मान्छेसँग विवाह गर्न नदिएको मैले हो? यावत् प्रश्न थिए मसँग तर सुनाऊँ कसलाई ? पोखौं कोसामु? कसले देओस् यिनका उत्तर?

तर पनि म उनले दिएका सबै हन्डर सहेरै बसेकी थिएँ। हे ईश्वर! म के गरूँ? छटपटी रोकिएन। जुनेली रात पनि औंसीजस्तो लागिरहेको थियो। रातबाहेक मेराअगाडि केही थियो त मात्र छटपटी। रुँदारुँदै कतिबेर घुप्लुक्क निदाएछु, पत्तै भएन।

‘चाहना, चाहना! के भो बा तिमीलाई? नौ बजिसक्यो तर पनि उठिनौ। सन्चो पो भएन कि?’ ब्युँझँदा त सासूआमाको हात निधारमा रहेछ। उहाँ मेरो ज्वरो नापिरहनुभएको थियो आफ्नो कोमल हातले। उहाँको स्पर्श नै पनि मेरा लागि निकै ठुलो सान्त्वना हुन्थ्यो सधैं। त्यसैले यो मायाले मलाई एक्लो नभएको महसुस गरायो।

उठें। आमाको मुख हेरें। भन्नुभयो-‘सबल बिहानै गइसक्यो, जरुरी काम छ भनेर। आऊ तिमीलाई मन पर्ने खाना बनाएकी छु। सन्चो नभएको भए बरु खाना खाएर पल्ट।’

कुरा सुनेर एकोहोरो उहाँलाई नै हेरिरहेकी थिएँ। आमाको बुहारीप्रतिको बुझकीपन देखेर भावविह्वल भएँ। महिलाले महिलाको भावना ठ्याक्कै बुझेको देखेर उहाँप्रति नतमस्तक भएँ। अनि मनमनै सोचें-सबलले जे सोचे पनि अब बाबाआमाको मुख हेर्छु र उहाँहरूकै सेवा गरेर बस्छु। यति दयावान् र बुझकी बाआमाको मप्रतिको स्नेहलाई कुनै हालतमा नजरअन्दाज गर्ने छैन।

बाबाकै सल्लाहअनुसार पढाइमा व्यस्त हुँदै गएँ। अब मेरो एउटै मात्र उद्देश्य थियो-सकेसम्म पढाइ छिटो पूरा गरेर समाजमा एउटा फरक व्यक्तित्वको पहिचान बनाउनु। त्यही लक्ष्य पूरा गर्न दिनरात लागिपरें।

उता सबल भने पूरै समय राम्री केटीको कल्पनामा क्लब र बारमा बिताउन थाले। उनी यस्तो भइसकेका थिए कि आमाबाबाले समेत केही सिप नलागेर सम्झाउनै छाडिसकेका थिए। त्यसैले अब यो घरमा उनीहरूका लागि म मात्र सबैथोक थिएँ भने मेरा लागि उहाँहरू।

समय न हो, किन चुप लागेर बस्थ्यो र? आफ्नै पारामा काँचुली फेरिरहेको थियो। यति बेलासम्म म प्रहरी अधिकृत भइसकेकी थिएँ। ड्युटी थियो हनुमानढोकामा। आमाबाबाबाहेक मेरो अरू को नै थियो र? त्यसैले दायित्व पनि धेरै हुने कुरा भएन। यही कारण म काममै समर्पित हुन्थें प्रायः।

एकदिनको कुरा हो। ड्युटीमै थिएँ। एक्कासि एउटा जवान देखापर्‍यो मेराअगाडि। अनि सलाम ठोकेर आत्तिँदै भन्न थाल्यो-एउटा बन्दीले आत्महत्या गर्न लाग्यो, लौ न, के गर्ने होला?

ऊतर्फ हेरें अनि सोधें कारण।

कारण यस्तो रहेछ-ऊ होटलमा एउटी केटीसँग रङ्गेहात समातिएको रहेछ। घरपरिवारले थाहा पाएपछि बेइज्जत हुन्छ भनेर आत्महत्या गर्न खोजेको रहेछ। यही क्रममा ब्लेडले नसा काटेर कोठा नै रक्ताम्य तुल्याइसकेको रहेछ।

त्यो बन्दी भएको कोठामा गएँ। अनि सोधें उसलाई-वा! मिस्टर, तिमीलाई समाजले नराम्रो ठान्ने काम गर्न डर लाग्दैन अनि पक्राउ परेपछि चाहिँ परिवार र समाजको डर? यस्तो डर नै थियो भने किन सोचेनौ यस्तो नराम्रो काम गर्नुअघि नै?

मैले यसो भनिरहँदा घोप्टे मुन्टो लगाएर बसेको थियो ऊ। यसो लट्ठीले अनुहार मास्तिर गर्न के लगाएको थिएँ, तीन छक परें-उनी रहेछन् सबल।

आफ्नै अगाडि बन्दीका रूपमा सबललाई देख्दा सहिसक्नु भएन। त्यो पनि अनैतिक क्रियाकलाप गरेबापत समातिएको। अनि उल्टै बेइज्जत हुने डरले आत्महत्याको बाटो रोजेको।

हत्त न पत्त आफ्नो कार्यालय कोठामा गएँ। हे भगवान्! के देख्नुपरेको? जुन घरमा म एउटा पतिव्रता सिद्धान्तसाथ अडिग छु, जो भनेर समर्पित छु, आज त्यही घरमा उसैको यो अवस्था? हे आराध्यदेव! तिमी साँच्चै अन्तर्यामी हौ भने मलाई भनिदेऊ, अब म कसरी अघि बढौं? ती बुढाबुढी आमाबाबाको मायाको ऋण कसरी तिरौं?

म आफ्नो काममा व्यस्त भइरहें। कामलाई सर्वेसर्वा ठानेर अघि बढिरहें। यो घटनापछि सबल पनि सुध्रन थाले। त्यसपछि उनी बाबाआमाको ज्ञानी छोरा भएर उनीहरूकै स्याहारसुसारमा लागे। बाबाआमाका अगाडि हामी छोराबुहारी थियौं। मैले भने आफ्नो कामलाई जीवनसाथी बनाइसकेकी थिएँ। यसरी कर्मको पूजा गर्दै समाजका विकृति छिमोल्ने क्रममा सँगालिएका भोगाइ र गराइले मलाई एउटा धारिलो तरबार बनाएको छ। जसले समाजका विकृति छिमोल्दै अगाडि बढिरहेकी छु।

याद र सम्झनाले मन ठन्डा मात्र बनाएन, शान्त पनि तुल्यायो। त्यसपछि रेडियो बन्द गरें र शरण परें उनै निद्रादेवीको।

प्रकाशित: १८ कार्तिक २०८० ०१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App