नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिमाथि आलोचना गरेका छन्। कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री स्याक्सको आलोचनात्मक लेख साझा गर्दै भट्टराईले यो विश्वभरका गैरजिम्मेवार नेताहरूका लागि आँखा खोल्ने पाठ बन्न सक्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल एक्समा उनले स्याक्सको लेखलाई उत्कृष्ट भन्दै लेखेका छन्, ‘अमेरिकी राष्ट्रपतिको त्रुटिपूर्ण व्यापार नीतिहरूमा जेफ्री स्याक्सद्वारा लिखित अर्को उत्कृष्ट लेख। यो विश्वभरका अन्य गैरजिम्मेवार नेताहरूका लागि आँखा खोल्ने कुरा हुन सक्छ।’
जेफ्री स्याक्सले ‘कमन ड्रिम्स’ मा प्रकाशित लेखमा ट्रम्पको व्यापार नीतिलाई ‘बेतुका’ र ‘हानिकारक’ भनेका छन्। उनले अमेरिकाको व्यापार घाटा विदेशी मुलुकले ठगेर नभई अमेरिकाको आर्थिक लापरवाही, धनी वर्गका लागि कर छुट, र अनावश्यक युद्धमा खर्बौं डलर खर्चका कारण भएको तर्क गरेका छन्। ट्रम्पको भन्सार शुल्कले यो घाटा नघट्ने, बरु अमेरिकी जनताको जीवनस्तर घटाउने र विश्व अर्थतन्त्रलाई हानि पुर्याउने उनको चेतावनी छ।
अप्रिल ४ मा ट्रम्पले विश्वभरबाट आयात हुने सामानमा भारी भन्सार शुल्क लगाएका छन्। चीनले पनि जवाफी कारबाहीस्वरूप अमेरिकी सामानमा ३४ प्रतिशत शुल्क लगाएको छ। यसले विश्वव्यापी व्यापार युद्धको जोखिम बढाएको छ। स्याक्सले यो नीतिले आयात र निर्यात दुवै घट्ने, अमेरिकी उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने र विश्व व्यापारको लाभ गुम्ने बताएका छन्। अमेरिकाले नेपालबाट आयात हुने सामानमा पनि १० प्रतिशत शुल्क लगाएको छ।
प्रकाशित: २३ चैत्र २०८१ ११:२४ शनिबार