वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पुर्याउन सके र नेपालीहरूको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किन सक्ने बताएका छन् ।
आज काठमाडौंमा आयोजित थाइल्यान्डमा नेपालीहरूको इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले नेपाल र थाइल्याण्डबीच सबै कुरा समान भएको तर राजसंस्था नेपालमा नभएको बताए ।
उनले अब नेपालमा आउने राजा नेपाली माथि दण्ड बजार्ने, शासन गर्ने नभई नेपालका विविध समुदायबिचको समन्वय कायम गराउने कार्यतत्वको रुपमा राजा आउन सक्ने उल्लेख गरे । उनले नेपालमा राजा आएसँगै नेपाल र थाइल्यान्ड पुनः सबै किसिमबाट समान हुने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपालीले मान्छे बेचेर खाने गरेको बताए।
कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री मिथिला शर्माले गीत, सङ्गीत र भाषाको माध्यमबाट एक अर्कालाई जोडेर संसारभरका नेपालीहरूको एउटा माला बन्नुपर्ने बताइन । उनले नेपालीहरूले जहाँ गए पनि गर्वका साथ म नेपाली हुँ भन्न सक्नुपर्ने बताइन ।अभिनेत्री शर्माले नेपाली जातिलाई जोगाइराख्ने दायित्व सबै नेपालीहरूको भएको धारणा राखिन ।
प्रकाशित: ३२ श्रावण २०८० १५:२८ बिहीबार





