पर्यटकीय राजधानी पोखरामा आजदेखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ। सिर्जनशील कलाकार समूह, पोखराको आयोजनामा तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे।
प्रदर्शनीले नेपाली कलाकार र कलाकृतिलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसलाई सिकाइको माध्यमका रूपमा लिइएको आयोजक पक्षको भनाइ छ। प्रदर्शनीमार्फत नेपाली तथा अन्तरराष्ट्रिय कलाकारबीच अनुभव, सीप र प्रविधिको आदानप्रदान हुने र पोखरालाई कलाका माध्यमबाट विश्वसँग जोड्ने विश्वास गरिएको छ।
आयरल्याण्डकी कलाकार लोरा मर्फी नेपाली कलाकारसँगै प्रदर्शनीमा सहभागी भएकी छन्। उनले पोखरा र आसपासका क्षेत्रका कलाकारलाई अन्तरराष्ट्रिय कलाकारसँग जोड्ने प्रयास गर्दै आएको उल्लेख गरिएको छ। प्रदर्शनीमा सहभागी हुने विदेशी कलाकारको संयोजन मर्फीले गरेकी हुन्।
पोखरा–९ नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारका कलाकृति राखिएका छन्। सिर्जनशील कलाकार समूहका अध्यक्ष डीबी गुरुङका अनुसार प्रदर्शनीमा ३३ जना नेपाली कलाकार तथा अमेरिका, अष्ट्रेलिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्याण्डका १५ जना विदेशी कलाकार सहभागी छन्।
सात देशका कलाकारका ७० वटा कलाकृति प्रदर्शनीमा राखिएको छ। प्रदर्शनी नेपाली कलाकार र उनीहरूको सिर्जनालाई विश्वस्तरका कलाकारमाझ पुर्याउने माध्यम बन्ने अपेक्षा गरिएको छ। कलाकृति बिक्रीमा पनि राखिएकाले नेपाली कलाकारलाई आर्थिक लाभ पुग्ने आयोजक पक्षको भनाइ छ।
प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिने जनाइएको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य राधिका कँडेलका अनुसार नेपाली कला र कलाकारलाई अन्तरराष्ट्रिय रूपमा चिनाउने तथा कलामार्फत संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो।
गत वर्ष आयोजित प्रदर्शनीमा विदेशी कलाकारले नेपाली कलाकृति महँगो मूल्यमा खरिद गरेको विवरण पनि सार्वजनिक गरिएको छ। प्रतिष्ठानले कला प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिँदै राजधानी र ठूला सहरमा सीमित ललितकला गतिविधिलाई विकेन्द्रित गर्ने प्रयास गरिरहेको जनाएको छ।
चित्रकलालाई व्यावसायिक रूपमा सफल विधा मान्दै नयाँ पुस्तालाई ललितकला अध्ययनतर्फ आकर्षित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। आयोजक सिर्जनशील कलाकार समूह, पोखराका अनुसार दोस्रो चरणको प्रदर्शनी आगामी माघ १० गतेदेखि सुरु हुनेछ, जसमा २० जना विदेशी कलाकारसहित नेपाली कलाकारको सहभागिता रहनेछ।
प्रकाशित: २४ पुस २०८२ १८:४६ बिहीबार





