७ माघ २०८२ बुधबार
image/svg+xml
शिक्षा

नामजस्तै नमूना बन्दै गुरुङचौरी

उदयपुरको बेलका नगरपालिका ४ स्थित एक सामुदायिक विद्यालय नमूना बन्दै गएको छ । सामुदायिक विद्यालयतर्फ शिक्षा मन्त्रालयले ‘एक स्थानीयतह एक नमूना विद्यालय’ घोषित जनता नमूना माध्यमिक विद्यालय गुरुङचौरी पूर्वाधार संरचना र शैक्षिक सुधारसँगै ‘नमूना’ बन्दै गएको हो ।  

सरकारले नमूना घोषणा गरेको ३ वर्षयता विद्यालयलाई साँच्चै उदाहरणीय बनाउन भवनलगायत पूर्वाधार संरचना निर्माण तथा शैक्षिक सुधारका थुप्रै गतिबिधिहरु भईरहेका छन् । हालसम्म २ वटा अत्याधुनिक नयाँ भवनहरु बनिसकेका छन् भने तेस्रो भवन निर्माणाधीन अवस्थामा छ ।  

अघिल्ला भवनहरु ‘नेपाल सरकार, नमूना विद्यालय विकास कार्यक्रम (एमएसडिपी)’को ३ करोड ८० लाख अनुदानमा ३ तले सुविधासम्पन्न भवन बनिसकेको र अर्को भवन निर्माण भईरहेको प्रधानाध्यापक (प्रअ) सम्मर राईले बताए । विद्यालयलाई ५ वर्षभित्र नमूना बनाईसक्ने एमएसडिपीसँग सम्झौता भएको प्रअ राई बताउँछन् । सो अवधिमध्ये ३ वर्ष बित्न लागेको छ भने बाँकी २ वर्षभित्र आवश्यक संरचनाहरु सबै बनाईसक्ने तथा गुणस्तरीय शिक्षाका लागि आवश्यक शिक्षक दरबन्दी पूर्ति, तालिम, क्षमता विकासलगायत कामहरु भईरहेको छ ।  

स्थानीय चन्द्रबहादुर गुरुङका २ छोरा निरकाजी र अर्जुनकाजी तथा छोरी गङ्गामायाले दिएको १५ करोड मूल्य बराबरको २ बिगाहा जमिनमा फैलिएको विद्यालय परिसरमा एमएसडिपीकै विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) अनुसार भौतिक संरचनादेखि विद्यालय सुधारका अन्य कामहरु धमाधम भईरहेको छ ।

डिपिआर अनुसार आकर्षक भवन, खेल मैदान, शौचालय, चमेनागृह, छात्राबासलगायत संरचनाहरुसँगै घेराबेरा (कम्पाउण्ड वाल) निर्माण गर्ने क्रम चलिरहेको छ ।  

परिसरभित्र आकर्षक र सुविधासम्पन्न दर्जन वटा ब्लक (भवन)हरु बन्नेछन् भने फराकिलो खेलमैदान, मैदान बीचमा सरस्वति मन्दिरसहितको मञ्च (स्टेज), छात्रछात्राका लागि अलग अलग आबास भवन, पुस्तकालय, समीक्षालय भवन (अडिटोरियम हल) भवनहरु प्नि बन्ने डिपिआरमा उल्लेख छ । विद्यालय परिसरमा फुलबारी पनि बनाइने योजना रहेको प्रअ राईले बताए । यी सबै संरचना निर्माण गर्न ५ वर्षे गुरुयोजना बनेको छ । जसमा कुल ३४ करोड लागतको प्राविधिक इस्टीमेट रहेको उनको भनाई छ ।  

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज तामाङका अनुसार प्राविधिकधारतर्फ कक्षा ९ देखि सिभिल इन्जिनियरिङको पठनपाठन भईरहेको छ भने कक्षा ११ र १२ मा विज्ञान, शिक्षा र व्यवस्थापन विषयमा पढाई हुदै आएको छ ।  

३ वर्षअघि ३ सय १५ जना विद्यार्थी रहेको विद्यालयामा हाल १ हजार ८ सय पुगिसकेका छन् । निजी विद्यालयमा चर्को शूल्क लाग्ने विज्ञान विषय यो विद्यालयमा निःशूल्क पढ्न पाउने व्यवस्था मिलाइएको छ ।  

विद्यालयले तयार गरेको गुरुयोजना अन्तर्गतको डिपिआर  

 

प्रकाशित: २४ पुस २०८२ १८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App