९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

सौर्य विद्युत् उत्पादक संघमा नयाँ नेतृत्व चयन

सोलार व्यवसायीको छाता संस्था नेपाल सौर्य विद्युत् उत्पादक संघको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। संघको निर्वाचनबाट भरतकुमार मल्ल अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा मल्ल र हरिनारायण गौतमबिच प्रतिस्पर्धा भएको थियो।

संघको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा दीपक गौतम, प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले, द्वितीय उपाध्यक्षमा सुदर्शन बानियाँ, महासचिवमा नेत्रबहादुर खत्री, कोषाध्यक्षमा रामप्रसाद कोइराला, सचिवमा केशवराज शर्मा चयन भएका छन्।  त्यसै गरी सदस्यमा राजेन्द्रबहादुर खड्का, निस्था गौतम, विश्व शाह, कृष्णराज चुदाली, योगेन्द्रबहादुर श्रेष्ठ, दीपकराज पौडेल, तिलकलाल श्रेष्ठ, कुमार बस्नेत र सुबोध रिमाल रहेका छन्।

नेपालमा सौर्य ऊर्जाको विकास, प्रवर्द्धन र रूपान्तरणसहित दिगो र हरित विकासमा योगदान गर्दै आएको यस सौर्य विद्युत् उत्पादक संघले यसै वर्ष आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) मनाएको छ। संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको छ।

संघको २५औँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट आगामी दुई वर्षको कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो।  संघले बदलिँदो समयअनुसार छाता संगठनको अवधारणामा आधारित सामूहिक कम्पनी स्थापना गरी सौर्य ऊर्जाका ठुला परियोजना सञ्चालन गर्ने तयारी पनि अघि बढाउने जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत कार्यान्वयन हुने कार्यक्रम घट्दै गएको सन्दर्भमा संघको पहलमा सौर्य ऊर्जासम्बन्धी कार्यक्रमका लागि बजेट थप गराउन प्रयास गरेको जनाएको छ । यस वर्ष मिनिग्रिड, सौर्य बत्ती, सौर्य पम्प, सौर्य खानेपानी, संस्थागत तथा रूफटप सोलार प्रणाली जडानलगायत कार्यक्रमका लागि आवश्यक बजेट निकासा र पूर्ण कार्यान्वयनमा जोड दिइने संघले जनाएको छ।

साथै, देशका दुर्गम क्षेत्रमा विद्युत् पहुँच विस्तार, कृषि उत्पादन वृद्धि र डिजेल पम्प विस्थापनका लागि सौर्य सिँचाइ प्रवर्द्धनमा विशेष पहल गरिनेछ । संघले नवीकरणीय ऊर्जाको २५ वर्षे अनुभवलाई उपयोग गर्दै सरकार, निजी क्षेत्र र दातृ निकायसँग सहकार्य बढाउने जनाएको छ।

प्रकाशित: २४ पुस २०८२ १९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App