३ पुस २०८१ बुधबार
image/svg+xml
कला

शिरिषकाे फूल

कथा

‘केही त बोल।’

समाती राखेको हात अलिक झट्कारेर मैले उनीतिर हेरें। भँगेरो जस्तो चञ्चल मान्छे लाटोकोसेरो जस्तो मौन देखेर म अचम्ममा परें। नखिपोटबाट महालक्ष्मीस्थानतिर हिंड्दा एउटा छुट्टै खालको आनन्द र उमंग उत्पन्न हुन्थ्यो हामीमा कारण थिए गगनचुम्बी शिरिषका बोटहरू। हामीले चैत-वैशाखमा शिरिषका निला फूलहरू पृष्ठभूमि बनाएर धेरैचोटि तस्वीर लिएका थियाैं।

बाटाभरि छरिएका निला शिरिषका हाँगाहरूमा ढकमक्क फुलेका फूलहरूमा पिन्क टिसर्ट र निलो जिन्स पाइन्टमा ऊ जत्तिको खुलेकी केटी मैले कहिल्यै देखेको थिइनँ। मेरो सर्कलमा काठमाडौंका  बाटामा हिंड्दा आजभोलि शिरिषका फूलहरू भेट्न कमै हुन्छ।

महालक्ष्मीस्थानबाट चोक काटेर लगनखेल जाँदै थियौं। उ चूपचाप थिइन्। हातहरू अझ कसिलो पार्दै बल्ल उसले मुख खोली, ‘सन्देश, हाम्रो सम्बन्ध यही शिरिषको फूल जस्तै हुने भयो, खास रंग नभरिंदै झर्ने।’

- त्यसैले होला हामीलाई यी फूलहरू निकै प्रिय लाग्थे।

- आज हाम्रो यो अन्तिम यात्रा हो। मैले गल्ती गरें कि गरिनँ मलाई थाहा छैन। तर, आज मैले मेरो बाबाको प्रस्तावमा सहमति जनाएँ। अन्तत मेरो बिहे हुने भयो र बिहेको केही दिनमै म अमेरिका जान्छु होला। तर,कसम तिमीलाई र यी शिरिषका फूलहरूलाई म निकै मिस गर्ने छु।

म छाँगाबाट खसे जस्तै भएँ। एकछिनसम्म  त उसले जोक गरेकी हो कि जस्तो लाग्यो। तर, बेलुका उसको मोबाइलमा फोन लागेन। त्यो दिनदेखि अहिलेसम्म उसको मोबाइल अफका अफ छ।

सातदोबाटोका शिरिषका बोटहरूलाई फराकिलो बाटाको चाइनिज सपनाले खाए जस्तै मेरो र उसको साथलाई उसको अमेरिकी सपनाले खाइदियो। जब चैत-वैशाख लाग्छ तब एकचोटि फेरि पारिजातको ‘शिरिषको फूल’ पढ्न मन लाग्छ, जो ऊ र मसँगै बसेर म पढ्ने र ऊ सुन्ने धेरैचोटि गरियो।

याद आउँछ, ती शिरिषका बोटहरूको जसको पृष्ठभूमिमा ऊ निकै खुल्थी। कसम ऊ गुलाबको फूल बनी होला तर म उस्तै छु बेदाग निलो शिरिषको फूल जस्तै।

प्रकाशित: २५ चैत्र २०७९ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App