२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रोनाल्डो देखेर रोमाञ्चित मन

घुमफिर

फुटबलप्रेमी माझ निकै चर्चित नाम हो रोनाल्डो। एक रोनाल्डो ब्राजिलका, अर्का पोर्चुगलका। रोनाल्डोजस्तै चर्चित छ नेपालको एउटा जङ्गली हात्ती पनि, जसको नाम हो रोनाल्डो। चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपरको जङ्गलमा घुमिहिँड्ने त्यो हात्तीले मानव बस्तीमा पसेर धेरै उत्पात र विपत्ति पनि मच्चाएको छ। भीमकाय शरीर भएको त्यो हात्तीले धेरै उपद्रो मच्चाएकै कारण मान्छेले ऊप्रति धेरै चासो दिएर हेर्ने गरेका हुन्। झन् त्यसको नामै विश्वप्रख्यात फुटबल खेलाडी रोनाल्डोसँग मिल्दो नाम राखिएपछि झन् बढी मान्छेले त्यो हात्तीप्रति चासो लिने गरेका छन्।

नेपालको आन्तरिक तथा बाह्य पर्यटनमा रोनाल्डो एउटा आकर्षणको केन्द्रका रूपमा रहँदै आएकोमा सन्देह छैन। चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो सबैको आकर्षण र खोजीकै विषय बन्दै आएको छ। अहिले चितवनमा रोनाल्डो आउँदा डराउनेभन्दा रमाउनेहरूको सङ्ख्या बढी छ। यसअघि नानापाटेकर, रोमियो र टुइटे नामका भाले हात्तीहरू निकै प्रख्यात थिए। अहिले ती मरिसकेका छन्।

जसको जित उसैको राज भनेझैं भाले (मत्ता) हात्तीहरूको लडाइँमा जसले जित्यो उसले चितवनको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको हात्तीसारमा रहेका ढोईहरूसँग प्रेमलीला गर्न पाउने अनौठो नियम रहेछ हात्तीहरूकै बीचमा। अहिले धुर्बे, गोविन्दे जस्ता बलिया भाले हात्तीलाई परास्त गरेको रोनाल्डो विशेषगरी त्यहाँ आउने गरेको छ। यसो त रोनाल्डोबाट बचेर धुर्बे र गोविन्दे पनि कहिलेकाहीं आउने गरेको त्यहाँ हात्ती स्याहार्ने (माहुते) हरूले बताए।

गत फागुन २७ गते शनिबार अपरान्ह करिब चार बजेतिर रोनाल्डो हात्ती जङ्गलबाट त्यहाँ आएको थियो। हात्ती प्रजनन तथा तालिम केन्द्रको अवलोकनका क्रममा यस पङ्क्तिकारलाई पनि पहिलो पटक चर्चित हात्ती रोनाल्डोलाई प्रत्यक्ष देख्ने अवसर प्राप्त भएको थियो। पहिलो पटक चर्चित हात्ती रोनाल्डोलाई प्रत्यक्ष देखेर मन रोमाञ्चित भएको थियो।

प्रजनन केन्द्रको दक्षिण–पश्चिम दिशाबाट जङ्गल छिचोल्दै आफ्नै गतिमा लस्किँदै आएको रोनाल्डो आफ्नो नजिकै आउँदा हात्ती हेर्न आएका दर्शकहरू रोमाञ्चित भएर चिच्याएका थिए ‘रोनाल्डो आयो’ भनेर। रोनाल्डोलाई नजिकैबाट देख्न पाएर दर्शकहरू निकै रोमाञ्चित भएका थिए र दङ्ग परेका थिए। तस्बिर र भिडियो खिच्नमा सबै तल्लीन भएका थिए।

भीमकाय रोनाल्डो आफ्नो नजिक आइसक्दा पनि तस्बिर र भिडियो खिच्नमा व्यस्त दर्शकहरूले रोनाल्डोको डर पनि बिर्सेका थिए। माहुतेहरूले हकारेपछि मात्रै दर्शकहरू डराउँदै पछि हटेका थिए। विशेषगरी रातो रङको पोसाक लगाएका मान्छेलाई रोनाल्डोको नजिक जान रोक्दै थिए माहुतेहरू। सायद त्यो रङले रोनाल्डोलाई उत्तेजित बनाउँदो हो।

हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मनपूरण चौधरीका अनुसार झन्डै बाइस–तेइस वर्षअघिदेखि नै रोनाल्डो त्यहाँ आउँदो रहेछ। स्थानीय हात्तीलाई जङ्गली हात्तीबाटै प्रजनन गराउने उद्देश्यले २०४४ सालमा स्थापित हात्ती प्रजनन तथा तालिम केन्द्रमा हात्ती प्रजनन गराउने मुख्य भाले हात्तीमध्ये रोनाल्डो नै एक रहेछ।

केन्द्रमा रहेका ढोईसँग प्रेमलीला र संसर्गका लागि नै आउने रहेछ रोनाल्डो। रोनाल्डो अपरान्ह तीन–चार बजेको समयमा आउँदो रहेछ। रोनाल्डो आउँदा केन्द्रको अवलोकनमा आउने दर्शकहरू निकै रोमाञ्चित हुँदा रहेछन्। पछिल्लो समय जन्मिएका छावाहरू प्रायः सबै रोनाल्डोकै सन्तान रहेको प्रमुख चौधरीको भनाइ छ।

भीमकाय हात्ती रोनाल्डो आएपछि हात्तीसारका अरू पोथी हात्तीहरू शान्त हुँदा रहेछन्। त्यहाँका सबै पोथी हात्तीलाई गर्भवती बनाउन सफल रोनाल्डोको सबै पोथी हात्तीप्रति उत्तिकै प्रेम रहेछ। छावाहरूलाई पनि उसले उत्तिकै माया गर्दोरहेछ। अपरान्ह ४ बजेतिर आएको रोनाल्डो भोलिपल्ट बिहानसम्म पनि त्यहीं थियो। तर त्यहाँ खोरमा बाँधिएका हात्तीहरूभन्दा अलि पर उभिएको रोनाल्डो छिनमा नजिक आउने र छिनमा पर जाने गर्दै थियो। रोनाल्डो मान्छेको भिड देखेपछि भने केही रिसाएझैं गरेर मान्छेतिरै आउन खोज्दोरहेछ। त्यसपछि मान्छेहरू पर भाग्दा रहेछन्। त्यहाँका माहुतेहरूले पनि हात्ती अवलोकनका लागि आउने दर्शकलाई रोनाल्डो आउँदा त्यसको नजिक नजान सचेत गराउँदा रहेछन्।

रोनाल्डोलाई हेर्ने क्रममा निकै रोमाञ्चित भइयो। हेर्दै जाँदा देखियो रोनाल्डोको त पुच्छर नै थिएन। अरू हात्तीका लामा–लामा पुच्छर थिए, रोनाल्डोको थिएन। बरु पुच्छरको ठाउँमा गहिरो घाउ देखिन्थ्यो। सायद त्यो पुच्छर काटिँदाको अथवा चुँडिदाको घाउ थियो। त्यो घाउ चिलाएर हो कि, रोनाल्डोले बेलाबेलामा पोथी हात्ती बाँधिएको मोटो काठको थाममा रगड्थ्यो। दुई–चारचोटि त्यसरी रगडेपछि उसले राहत महसुस गरेजस्तो देखिन्थ्यो।

आखिर कसरी काटियो अथवा चुँडियो त रोनाल्डोको पुच्छर? यो जान्नका लागि तत्काल एक माहुतेसँग सोधियो। उनको भनाइअनुसार गाईवस्तुको पुच्छरमा लाग्ने एक खालको किराले खाएर त्यो पुच्छर आफैं झर्‍यो भन्ने थाहा भयो। तर यो कुरामा अलि विश्वास नलागेपछि फेरि अर्को माहुतेलाई सोधियो। उनले चाहिँ जङ्गलमा अर्को हात्ती अथवा गैंडासँग जुध्दा भाग्ने क्रममा अर्को हात्ती अथवा गैंडाको सिङले हानेर अथवा टोकेर पुच्छर चुँडिएको थाहा भयो। पहिलो पटकमा आधा पुच्छरमात्रै चुँडिएको र दोस्रो भिडन्तमा चाहिँ पूरै पुच्छर चुँडिएको एक माहुतेले बताए।

माहुतेहरूको कुराले अझै चित्त नबुझेपछि यथार्थ तथ्य पत्ता लगाउने उद्देश्यले प्रजनन केन्द्रका प्रमुख मनपूरण चौधरीसँगै सोधियो। उनको भनाइअनुसार तीन वर्षअघि जङ्गली हात्ती र गैंडासँग भिडन्तमा परेर उसको आधा पुच्छर झरेको थियो। पछि फेरि जङ्गली हात्तीसँगको भिडन्तमा अर्को हात्तीले टोकेर उसको बाँकी पुच्छर पनि झर्‍यो। अहिले उसको पुच्छर छैन र पुच्छर चुँडिएको भागमा घाउ बाँकी नै छ। त्यहाँबाट पानी बग्ने गरेको छ।

घाउ संक्रमण भएर शरीरभित्रसम्म फैलिने सम्भावना थियो। जसका कारण रोनाल्डोको छिट्टै मृत्यु पनि हुनसक्थ्यो। त्यस्तो भएमा स्थानीय पीडित जनतालाई त राहत मिल्थ्यो तर हात्ती प्रजननमा भने समस्या हुनसक्थ्यो। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएको हात्ती नहुँदा नेपालको स्थानीय पर्यटन व्यवसायमै पनि धक्का पुग्न सक्थ्यो।

यही तथ्यलाई मनन गरेर सम्बन्धित चिकित्सकहरूसँग परामर्श गरी उपचार गर्ने प्रयास गरेको केन्द्रका प्रमुख चौधरीले बताए। तर त्यो घाउ करिबकरिब निको भइसकेको र घाउको खतमात्रै बाँकी रहेको भन्ने बुझिन आएकाले थप उपचार नगरिएको पनि प्रमुख चौधरीले बताए। यद्यपि पुच्छरको फेदमा अझै पनि घाउ देखिन्छ। पुच्छरबिनाको रोनाल्डो पनि अद्यापि दर्शकहरूको आकर्षणको केन्द्र बनिरहेको छ।

अहिले ऊ तुलनात्मकरूपमा शान्त र ज्ञानी छ। यद्यपि उसबाट भयभीत चितवनवासीको कमी छैन किनभने रोनाल्डोले विभिन्न कारणले उत्तेजित भएर बेलाबेलामा स्थानीयलाई आक्रमण गर्ने गरेको छ। अहिलेसम्म झन्डै बाइस जना स्थानीयको ज्यानै गइसकेको केन्द्र प्रमुख चौधरीको भनाइ छ। अहिले भने चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा रोनाल्डोभन्दा धुर्बे र गोविन्देलाई खतरनाक हात्ती मान्ने गरिएको छ। विशेषगरी गोविन्देले मान्छे देख्नासाथ आक्रमण गर्ने गरेको प्रमुख चौधरीको भनाइ छ।

अहिले रोनाल्डो केही बुढो भएको छ। तैपनि उसको जोसमा केही कमी आएको छैन। उसको प्रभुत्व त्यहाँ अझै कायमै छ। अहिले निकै खतरनाक भनिएका धुर्बे र गोविन्दे हात्ती पनि रोनाल्डोसामु पराजय स्वीकारेर बसेका छन्। रोनाल्डोको उपस्थिति भएको ठाउँमा आउन ती दुवै डराउँछन्। त्यसैले खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा भएका ढोईहरूसँग रोनाल्डोकै बढी राज चल्छ। रोनाल्डोलगायत धुर्बे र गोविन्देको आगमनलाई पनि निकै सुखदरूपमा लिने गरिएको छ, हात्ती प्रजननका दृष्टिले र दर्शकको मनोरञ्जनका दृष्टिले पनि, किनभने अहिले प्रजनन केन्द्रमा भाले (मत्ता) हात्ती एउटा पनि छैन।

पटक–पटक आइरहने, माहुतेहरूले खान दिने र त्यहाँका ढोईहरूसँगको प्रेमले गर्दा रोनाल्डो मान्छेप्रति कम आक्रामक बनेको छ। उसको नजिक पुगेर धेरैले तस्बिर खिच्ने गरेका छन् तर रोनाल्डोलाई विश्वास गरिहाल्न भने माहुतेहरू पनि तयार छैनन्। भन्छन्, ‘कतिखेर आक्रामक बन्छ, भन्नै सकिन्न। त्यसैले भयभीत नभए पनि सजग चाहिँ हुनैपर्छ।’

धेरै कुरा बुझिसकेपछि उक्त हात्तीको नामचाहिँ कसरी रोनाल्डो रह्यो भन्ने बुझ्ने जिज्ञासा मेट्न केन्द्र प्रमुख चौधरीलाई सोधियो। यसो त समूहबाट छुट्टिएका हात्तीहरूलाई चिन्न सजिलोका लागि र उनीहरूको पहिचानका लागि बढी चल्तीको नाउँ राख्ने गरिएको उनको भनाइ छ। तर रोनाल्डोको सन्दर्भमा भने अलि फरक प्रसङ्ग छ। उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जका संरक्षणकर्मीले नै रोनाल्डो नाम राखेका हुन्। सन् २००२ को विश्वकपमा ब्राजिलका स्टार खेलाडी रोनाल्डोले धमाधम गोल गरिरहँदा यता नेपालको चितवन राष्ट्रिय निकुञ्ज सौराहामा एउटा हात्ती ढोईहरूलाई गर्भाधान गराउन निकै सक्रिय थियो। रोनाल्डोले धमाधम गोल गरेजस्तै एकपछि अर्को ढोईलाई गर्भाधान गराउन सक्रिय भएकैले रोनाल्डोकै सम्झनामा निकुञ्जका संरक्षणकर्मीहरूले उक्त हात्तीको नाम रोनाल्डो राखेका रहेछन्।

अहिले प्रजनन केन्द्रस्थित हात्तीसारमा गण्डकीकली, कोशीकली, कर्णालीकली, लोकतन्त्रकली, चितवनकली, हिमालीकली, देवीकली, समरकली, प्रेमकली, तीर्थमानकली र ऐश्वर्यमाला नामका एघार वटा वयस्क ढोई र सात वटा छावा छन्। अवलोकनकर्ताहरू जनही पचास रूपैयाँको टिकट काटेर त्यहाँ प्रवेश गर्न सक्छन्।  

प्रकाशित: ११ चैत्र २०७९ ०२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App