coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नेपालगन्जमा ‘नेपथ्य लाइभ कन्सर्ट’ को तयारी पुरा

नेपालगन्ज रंगशालामा हुन लागेको ‘नेपथ्य लाइभ कन्सर्ट’ को तयारी पुरा भएको छ। मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि सांगितिक कार्यक्रमको पुर्वसन्ध्यामा नेपालगन्ज रंगशालामा आयोजित पत्रकार सम्मेलनमा तयारी पुरा भएको आयोजकले जनाएको हो।  

नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा आश्रमले रंगशालामा उक्त कन्सर्ट आयोजना गर्न लागेको हो। नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले बिहीबार अपरान्हबाट आफ्ना गीतहरु प्रस्तुत गर्नेछन्। सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए।

चर्चित गायक गुरुङले माया, प्रेम लगायत मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु पनि कन्सर्टमा प्रस्तुत गर्ने उनले जनाए। आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ। पत्रकार सम्मेलनमा कन्सर्ट मुल आयोजक समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ लगायत विभिन्न समितिका पदाधिकारीले कन्सर्टको तयारीबारे जानकारी दिएका थिए।  

दानवीर एवं समाजसेवी जे.के. सिंहले मानव सेवा आश्रमको भवन निर्माणका लागि बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया सुरु हुन लागेको छ। सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने महाअभियानसहित मानवसेवा आश्रमले यही बैशाख १ गतेबाट नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १० मा घर भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ।

प्रकाशित: २८ मंसिर २०७९ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App