coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

स्थानीय तह निर्वाचन: तनहुँमा कांग्रेस खस्कियो, माओवादी सुध्रियो

तनहुँमा यसपालीको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको नतिजा केही खस्किएको देखिन्छ। गत निर्वाचनको तुलनामा स्थानीय तहदेखि वडासम्ममा कांग्रेसको नतिजा खस्किएको हो।  

तनहुँ कांग्रेसको पकड जिल्लाको रुपमा लिइन्थ्यो। गत स्थानीय निर्वाचनमा जिल्ला समन्वय समितिका लागि एक्लै बहुमत पुर्‍याएर कांग्रेस आफूलाई अब्बल प्रमाणित पनि गरेको थियो। तर, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसको गढ भत्काउँदै कम्युनिष्ट बलियो बन्न थालेको थियो। यसपाली भएको स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टी त बनेको छ नै, तर जिल्ला समन्वयमा नेकपा एमाले र माओवादीसँग नमिलेसम्म बहुमत नपुग्ने स्थितिमा खुम्चिएको छ।

जिल्लाका १० मध्ये नेपाली कांग्रेसले पाँचवटा स्थानीयतहमा मात्र जित हासिल गरेको छ। व्यास नगरपालिका, भानु नगरपालिका र ऋषिङ गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै पदमा कांग्रेस उम्मेद्वार जितेका छन्। शुक्लागण्डकी नगरपालिका र देवघाट गाउँपालिकाको प्रमुखमा पनि कांग्रेसले जित दर्ता गराएको छ। म्याग्दे र बन्दीपुर गाउँपालिकाको उपप्रमुख कांग्रेसको पोल्टामा परेको छ।    

गत निर्वाचनमा कांग्रेसले व्यास, भानु, ऋषिङ, म्याग्दे र आँबुखैरेनीमा प्रमुख उपप्रमुख दुवै जितेको थियो। शुक्लागण्डकीको प्रमुख र देवघाटको उपप्रमुख पनि कांग्रेसले जितेको हो। यसपाली आँबुखैरेनीको प्रमुख उपप्रमुख र म्याग्देको प्रमुख कांग्रेसले गुमाएको छ। देवघाटको प्रमुखमा भने कांग्रेसले जित दर्ता गराएको छ। वडातर्फ नेपाली कांग्रेसले ४६ वडाध्यक्ष जितेको छ। कांग्रेसबाट खुला वडा सदस्यमा उम्मेद्वारी दिएका १००, दलित महिला सदस्य र खुला महिला सदस्यमा ४७–४७ जनाले जित हासिल गरेका छन्।  

हतारोमा टिकट वितरण भएकाले यसपाली नतिजा केही खस्केको नेपाली कांग्रेस जिल्ला कार्य समिति तनहुँ सचिव लक्ष्मीभक्त खनाल बताउँछन्। ‘हतारोमा टिकट वितरणले आकांक्षीलाई मिलाउने समय पनि भएन। गठबन्धन हुने नहुने टुंगो अन्तिमसम्म भएन। गठबन्धन हुने भनेर उम्मेद्वार चयन गर्‍यौ। गठबन्धनका लागि भनेर छानिएका उम्मेद्वार उठ्न पाएनन् त्यसले पनि नतिजामा प्रभाव पारेको छ’, उनले भने। कांग्रेसको नेतृत्वले तल्लो स्तरका जनतालाई दिनुपर्ने वास्तविक सेवा सुधार गर्नपर्ने देखिएको उनको भनाई छ। कांग्रेसका नेताहरु बजारमुखी भएकाले पनि अघिल्लो निर्वाचनमा जस्तो लोकप्रिय मत अहिले नपाएको खनाल स्वीकार्छन्।  

कांग्रेसको पकड भनिएको स्थानीय तह र वडामा बडो सकसपुर्ण जित हासिल गरेका छन् कांग्रेस उम्मेद्वारले। व्यास नगरपालिका र ऋषिङ गाउँपालिकामा कांग्रेसले प्रमुख उपप्रमुख त जित्यो तर बडो सकसपूर्ण ढंगले।  

यसपाली पनि दोस्रो बनेको नेकपा एमालेले भिमाद नगरपालिका र घिरिङ गाउँपालिकाको प्रमुख उपप्रमुख दुवै जितेको छ। म्याग्दे र बन्दीपुर गाउँपालिकाको प्रमुख मात्र जितेको थियो। यी दुई पालिकामा अघिल्लो पटक पराजित भएको थियो। तर अघिल्लो पटक जितेको देवघाटको प्रमुख र शुक्लागण्डकीको उपप्रमुख गुमाएको छ। २८ वडाको  वडाध्यक्ष एमालेका उम्मेद्वार विजयी भए। खुला वडा सदस्यमा ५७, दलित महिला र खुला महिला सदस्यमा ३२/३२ जनाले जितेका छन्।  

नेकपा माओवादी केन्द्रले अघिल्लो पटक जितेको बन्दीपुर गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै गुमाएको छ। तर समग्र जिल्लाको नतिजामा भने माओवादीले केही सुधार गरेको पाइन्छ। आँबुखैरेनी गाउँपालिकाको प्रमुख उपप्रमुख दुवै माओवादी केन्द्रले जितेको छ। यसपाली शुक्लागण्डकी र देवघाट गाउँपालिकाको उपप्रमुख पनि माओवादीको पोल्टामा परेको छ। वडातर्फ पनि माओवादीले सुधार गरेको छ। पहिले पाँच वडाध्यक्ष मात्र जितेको माओवादीले यसपाली सात वडाध्यक्ष, १२ खुला वडा सदस्य, छ दलित महिला सदस्य र पाँच खुला महिला सदस्य जितेको छ।  

जिल्लाका ८५ मध्ये चार वडामा स्वतन्त्र उम्मेद्वारले वडाध्यक्ष जितेका छन्। कांग्रेसबाट विद्रोह गरेर उम्मेद्वारी दिएका भानु र ऋषिङमा दुई/दुई स्वतन्त्र उम्मेद्वारले जित हासिल गरेका हुन्। राप्रपाले र स्वतन्त्र उम्मेद्वार एक/एक वडा सदस्य जितेका छन। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) को गृह जिल्लामा नेकपा एकिकृत समाजवादीका एक जना उम्मेद्वारले पनि विजय हासिल गरेनन्।  

यसपालिको निर्वाचनमा जिल्लाका ६४.४० प्रतिशत मतदाताले मतदान गरेका छन्।  जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाता मतदान गर्न योग्य थिए। प्रारम्भिक विवरण अनुसार जिल्लामा एक लाख ५७ हजार ३५५ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले जानकारी दिए। उनका अनुसार मतदान गर्न योग्य भएर पनि ८६ हजार ९८५ मतदाताले मतदान नै गरेनन्।

अघिल्लो पटक २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा ४ प्रतिशत कम मत खसेको हो। त्यतिबेला एक लाख ९४ हजार ४७१ कुल मतादाता रहेकोमा एक लाख ३२ हजार ९४४ मतदाता मात्रै सहभागी भएका थिए। ४४५ जनप्रतिनिधि चयन गर्न जिल्लामा एक हजार ६३६ जना चुनावी मैदानमा उत्रिएर प्रतिष्पर्धा गरेका थिए।  

प्रकाशित: १० जेष्ठ २०७९ ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App