जुम्लाको पातारासी–७, पटमारा तीन दिन भेडा पालन तालिम सम्पन्न भएको छ। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय जुम्लाले ‘सीप सिकौँ, आत्मनिर्भर बनौँ’ नारासहित मङ्सिर १५–१७ गते ३६ जना महिलालाई भेडा–बाख्रा पालन तालिम दिएको हो।
सहभागीहरूले यो तालिमलाई जीवन बदल्ने अवसर भनेका छन्। हिमाली जुम्लाको कठोर भूगोल र सीमित अवसरबिच सीपमूलक तालिमले खोलिदिएको ‘व्यावसायिक द्वार’लाई सहभागीहरूले जीवनपरिवर्तनकारी भनेका छन्।
पटमारा गाउँकी विमला थापा, वर्षौँदेखि भेडा–बाख्रा पाल्दै आएकी साधारण कृषक हुन्। तर तालिमपछि आधुनिक पशुपालक बन्न उनी तयार देखिन्छिन्। ‘हामीले थोरै बुझेका, थोरै गरेका काम पनि यति महत्त्वपूर्ण रहेछन् भन्ने थाहा भयो,’ उनले तालिमपछि भनिन्, ‘रोग लागेपछि कसैलाई बोलाउने, झोलझाम लगाउने मात्र होइन, घरमै उपलब्ध सामग्री प्रयोग गरेर उपचार गर्न सकिने रहेछ। अब हाम्रो प्रयास व्यवस्थित व्यवसायतर्फ मोडिनेछ।’
तालिमले महिलाहरूमा आत्मविश्वास जगाउनुका साथै परम्परागत पशुपालन प्रणालीलाई आधुनिक, वैज्ञानिक र व्यावसायिक दिशातर्फ मोड्ने मार्गसमेत तयार गरेको छ। सहभागी सरिता थापाले व्यक्त गरिन्, ‘अब हामी घोकन्ते मात्र होइन, ज्ञान प्रयोग गरेर काम गर्छौँ। पशुपालनलाई घरेलु काम होइन, कमाइ दिने व्यवसाय बनाउँछौँ।’
यस्तै शाखा प्रमुख अनिल खड्का पछिल्ला वर्षयता ग्रामीण महिलाहरूमा उद्यमशीलता बढ्ने क्रमलाई नजिकबाट नियालिरहेको बताए। ‘हाम्रो उद्देश्य केवल कर्जा दिनु मात्र होइन, कर्जा उपयोग गर्ने कौशल जगाउनु पनि हो,’ उनी भन्छन्, ‘स्थानीय भेडा–बाख्रा पालौँ, सीप सिकौँ, आत्मनिर्भर बनौँ—यो नारालाई व्यवहारमा रूपान्तरण गर्ने सशक्त माध्यम यस्तै तालिमहरू हुन्।’
उनका अनुसार तालिममा भेडा–बाख्राका नस्ल पहिचानदेखि रोग व्यवस्थापन, पोषण, घाउ–चोट उपचार, गोठ व्यवस्थापन, परम्परागत तर वैज्ञानिक रूपमा प्रभावकारी घरेलु उपचार प्रविधिसम्म सबै विषय व्यावहारिक रूपमा समेटिएको थियो। खड्काले अगाडि भने, ‘हामी महिलालाई आर्थिक रूपमा सक्षम नागरिक बनाउने लक्ष्यसहित क्रियाशील छौँ। यो तालिम त्यो यात्राको अर्को महत्त्वपूर्ण चरण हो।’
भेडा–बाख्रा जुम्लावासीको जीवनशैली मात्र होइन, अर्थतन्त्रको मेरुदण्डसमेत बनेको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालयका तथ्याङ्क अनुसार जुम्लामा हाल करिब ८८ हजार भेडा र ४६ हजार ३ सय ६ बाख्रा छन्। करिब ६९ हजार हेक्टर चरन क्षेत्र भएको जुम्लामा भेडा पालन पुर्ख्यौली पेसाका रूपमा पुस्तौँदेखि निरन्तर छ।
पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापा जुम्लालाई हिमाली जिल्लामध्ये सबैभन्दा बढी भेडा पालन हुने जिल्ला भनेर परिभाषित गर्छन्। उनले भने, ‘जुम्लामा भेडाबाट हुने आम्दानी निकै सन्तोषजनक छ । त्यसैले ८ वटै स्थानीय तहका गाउँहरूमा यो पेसा समान रूपमा फैलिएको छ।’
जुम्लामा एक चन्दननाथ नगरपालिका र सात वटा गाउँपालिका छन्। कर्णाली प्रदेश सरकारले गोठालालाई व्यवसायतर्फ आकर्षित गर्न मासिक एक हजार ५ सय रुपैयाँका दरले वार्षिक १८ हजार रुपैयाँ ‘गोठालो भत्ता’ उपलब्ध गराउँदै आएको छ।
पातारासी–७, पटमारा अहिले ‘भेडा–बाख्राको राजधानी’ बन्न पुगेको छ। एक सय ९० भन्दा बढी घरधुरी रहेको गाउँमा एक घरसँग औसत सय भेडा छन्। धेरै परिवारका लागि यो व्यवसाय मात्र नभई जीविकाको मुख्य आधार, वार्षिक आम्दानीको प्रमुख स्रोत र परम्परागत पहिचानसमेत बन्न पुगेको छ।
प्रकाशित: १९ मंसिर २०८२ १३:४४ शुक्रबार





-1200x560-600x400.jpg)