काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन्।
आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार काँग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत पाएको छ भने एमालेका उपप्रमुख पदका उम्मेदवार दनुवारले नौ हजार ५३४ मत पाएर विजयी भएका हुन्।
प्रमुख पदका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले आठ हजार ११५ मत पाएका छन् भने उपप्रमुखका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का चेतप्रसाद गौतम(मणि)ले नौ हजार १० मत पाएका छन्।
त्यस्तै वडाहरूमा क्रमशः वडा नं १ मा माओवादी केन्द्रका जयबहादुर तामाङले ५९४ मत पाई विजयी भएका छन् भने वडा नं २ मा कांग्रेसका रामेश्वर दाहालले ९३४ मत पाई विजयी भएका छन्। वडा नं ३ मा कांग्रेसका सुन्दर अधिकारीले ८०५ मत, वडा नं ४ मा कांग्रेसकै सुन्दर तामाङले ९१० मत, वडा नं ५ मा एमालेका सीताराम ढुंगानाले ६१४ मत र वडा नं ६ मा नेकपा ९एकीकृत समाजवादी०का रामशरण दुलालले एक हजार ३८२ मत पाई विजयी भएका छन्।
त्यस्तै वडा नं ७ मा कांग्रेसका रामकृष्ण दंगालले ६९६ मत, वडा नं ८ मा काँग्रेसकै सञ्जय तामाङले एक हजार १५८ मत, वडा नं ९ मा एमालेका रामकाजी श्रेष्ठले एक हजार ११ मत, वडा नं १० मा एमालेकै नारायण प्रसाद सापकोटाले ६५५ मत, वडा नं ११ मा काँग्रेसका हीराकाजी तामाङ ९१६ मत, वडा नं १२ मा काँग्रेसका ज्ञानबहादुर दनुवारले एक हजार १७७ मत र वडा नं १३ मा काँग्रेसका सुकुवीर तामाङले ७०४ मत पाई विजयी भएका छन्।
सो नगरपालिकाको वडा नं १३ कोशिदेखास्थित श्रीराम मावि मतदान केन्द्रमा गत वैशाख ३० गते शुक्रबार भएको मतदानमा मतपत्र वितरणको क्रममा विवाद भएपछि स्थगित भएकामा यही जेठ ३ गते पुनः मतदान भएको थियो। यसका कारण ढिला गरी मतगणना भएको थियो। पाँचखालको मतगणना सम्पन्न भएसँगै जिल्लाका १३ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ। अधिकांश पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आआफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार समेत सम्हालिसकेको छ।
प्रकाशित: ९ जेष्ठ २०७९ ०३:०६ सोमबार