२४ पुस २०८२ बिहीबार
image/svg+xml
विचार

विद्यार्थीको रोजाइमा पुरानै विश्वविद्यालय

पुस १० गते बिहीबार त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह काठमाडौंको दशरथ रंगशालामा सम्पन्न भयो। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह नियन्त्रक सूर्यकान्त कलौनीका अनुसार यसपटक २०८१ असार १ देखि २०८२ जेठ ३१ सम्मको एक शैक्षिक सत्रमा त्रिविबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहमा गरी कुल ८९ हजार एक सय ९१ विद्यार्थी दीक्षित हुन योग्य भएका छन्। तर तीमध्ये १६ हजार तीन सय ८० विद्यार्थीले मात्र दीक्षान्त समारोहमा प्रत्यक्ष सहभागिता जनाउने औपचारिक रूपमा फारम भरेका थिए।

दीक्षित विद्यार्थी ९० हजार योग्य भए पनि दीक्षान्त समारोहमा भाग लिने विद्यार्थी संख्या १७ प्रतिशत मात्र देखिनु राम्रो संकेत होइन। विद्यार्थीलाई उसले हासिल गरेको ज्ञान र सीपको कदर गर्दै विश्वविद्यालयले दीक्षित गर्नु भनेको विद्यार्थीलाई उच्च सम्मान गर्नु हो। यसैकारण होला बिहीबार दशरथ रंगशालामा विद्यार्थी र अभिभावकको बाक्लो उपस्थितिले त्यस दिन साँझसम्म काठमाडौं उपत्यकामा कुनै शैक्षिक महोत्सवको माहोल देख्दा त्रिविप्रति आलोचना गर्नेहरू पनि गर्व गरेको देखिन्थ्यो।

साथै पछिल्लो समय युवा पुस्तामा देशभक्तिको भावना पनि छाएको त्यही दीक्षान्त समारोहमा देखियो। किनभने पदक र पुरस्कार पाउनेहरू पनि आफूले पाएको ज्ञान र सीप आआफ्नो क्षेत्रमा स्वदेशमै बसेर उपयोग गर्ने तयारी र योजना पनि बनाइरहेको देख्दा देशका युवामा देशप्रतिको मोह जागेको महसुस जोकोहीले गरिरहेका थिए। 

बर्सेनि ८० हजारदेखि ९० हजार हाराहारीमा विद्यार्थी त्रिविबाट दीक्षित हुन्छन्। देशमा जति विश्वविद्यालय खुले पनि त्रिविको उच्च शिक्षाको भार भने कम भएको छैन। सबैभन्दा बढी विद्यार्थी दीक्षित गराउने विश्वविद्यालयका रूपमा त्रिवि परिचित छ। काठमाडौं केन्द्रित दीक्षान्त समारोहले प्रतिविद्यार्थी करिब २० हजारदेखि २५ हजार खर्च हुँदो रहेछ। दीक्षान्त निकै खर्चिलो हुने भएकाले विद्यार्थीको उपस्थिति केही कम देखिएको छ। यसैकारण होला, त्रिविले आगामी शैक्षिक सत्रदेखि दीक्षान्त क्षेत्रगत रूपमा गर्ने तयारी गरिरहेको छ। 

नयाँ विश्वविद्यालयमा विद्यार्थीको आकर्षण किन भएन ?
हरेक वर्ष पाँच लाखभन्दा बढी विद्यार्थीले कक्षा १० पास गर्छन्। तीमध्ये ५० हजार विद्यार्थी विदेश जान्छन्। ५० हजार विद्यार्थीले त्रिविबाहेकका विश्वविद्यालय र खाडीमा दुःख गर्छन्। चार लाख विद्यार्थीलाई शिक्षित, दीक्षित तथा प्रशिक्षित गर्ने काम त्रिविले नै गरिरहेको छ। मुलुकमा पछिल्लो समय विश्वविद्यालयहरूको संख्यात्मक वृद्धि निरन्तर भइरहेको छ। संविधानले व्यवस्था गरेअनुसार कुनै केन्द्रीय विश्वविद्यालयका रूपमा खुले, कुनै प्रादेशिक विश्वविद्यालयका रूपमा खुल्दै छन्। पछिल्लो समय १२ केन्द्रीय, ११ प्रादेशिक गरी विश्वविद्यालयको संख्या २३ पुगेको छ। यसैगरी तीन वटा विश्वविद्यालय खुल्ने क्रममा छन्। तिनका विधेयकमाथि छलफल अघि बढाएका छन्। अन्य तीन वटा विश्वविद्यालय पनि स्थापना हुने हो भने नेपालमा २६ वटा विश्वविद्यालय हुनेछन्। पछिल्ला १० वर्षभित्र नै सात विश्वविद्यालय थपिएका छन्। 

मुलुकमा विश्वविद्यालय बढेसँगै त्रिभुवन विश्वविद्यालयको उच्च शिक्षाको भार केही कम हुने विश्वास लिइएको थियो। तर जति विश्वविद्यालय खुल्दै गए, त्यति नै विद्यार्थी माझ त्रिभुवन विश्वविद्यालयप्रतिको आकर्षण बढ्दै गएको प्रमाणित हुँदै छ। यसले के प्रमाणित गर्छ भने खुलेका वा खुल्ने विश्वविद्यालयहरूमा देशको आवश्यकता र विश्व बजारको मागअनुसारको विषयवस्तु पठनपाठन गराउन नसकेको हो। त्रिविको जति आलोचना गरे पनि त्रिविले विद्यार्थी र अभिभावकको विश्वास भने जितेकै कारण विश्वमा समेत त्रिविलाई अब्बल विश्वविद्यालयका रूपमा नै चिनिएको छ। जसको कारण विद्यार्थीको आकर्षणको केन्द्र नयाँ विश्वविद्यालय बन्न सकेन।

पदाधिकारी भर्ती केन्द्र बने विश्वविद्यालय 
नयाँ विश्वविद्यालयहरूमा आजको मितिमा पनि त्रिविको एउटा आंगिक क्याम्पस बराबर पनि विद्यार्थी छैनन्। के ती विवि केवल पदाधिकारी भर्ना गर्न खुलेका हुन् ? भन्ने प्रश्न चौतर्फी उठिरहेको छ। वास्तवमा भन्ने हो भने नयाँ विश्वविद्यालय खुल्नु आजको आवश्यकता हो तर देश र बजारको मागअनुसारको विषयवस्तु अध्यापन गराउने र दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको साटो उही त्रिविले नै पढाउँदै आएको विषयवस्तु पठनपाठन गराउन थालेपछि विद्यार्थीको विश्वास जित्न नसकेको देखिन्छ।

खुलेका नयाँ  विश्वविद्यालयमा उपकुलपतिदेखि अन्य पदाधिकारी भर्ती भएर जागिर खाने काम सुरु भइसकेको छ। तर विद्यार्थीको भर्ना र पठनपाठनको काम अझै सुरु हुन नसक्नुलाई के संज्ञा दिने ? यति मात्र होइन, खुलेका विश्वविद्यालय पनि त्रिविकै जग्गा तथा सम्पत्तिमा ठडिएका छन्। केही विश्वविद्यालय धनीका छोराछोरीलाई मात्र पढाउने संस्थाका रूपमा परिचित छन् भने केही विश्वविद्यालय थलिएर बल्लतल्ल हिँड्ने क्रममा छन्। यस अर्थमा त्रिविले देशका सबै क्षेत्र, वर्ग र समुदायका सन्ततिलाई समेटेर उच्च शिक्षा दिने शैक्षिक आत्माका रूपमा आफूलाई पारित गरेको स्पष्ट छ। यद्यपि यसको आलोचना बेलाबखत भइरहेकै छ।

बिनाआवश्यकता संवैधानिक व्यवस्थाका नाममा विश्वविद्यालय खुले 
२०४६ सालसम्म नेपालमा कुल पाँच वटा मात्र विश्वविद्यालय थिए। त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय। यी विश्वविद्यालय केन्द्रीय स्तरबाटै सञ्चालित छन्। २०७२ सालको संविधानले शिक्षालाई मौलिक हकमा राखेपछि धमाधम विश्वविद्यालयहरू खोल्ने नेताहरूले होडबाजी नै गरे। २०६३ पछि १० वटा नयाँ विश्वविद्यालय थपिए।

किन र कसका लागि विश्वविद्यालय खोलियो 
‘संविधानले संघ र प्रदेशलाई विश्वविद्यालय खोल्ने अधिकार त दियो तर खोल्ने र खोल्न दिनेबिच आवश्यकता, अध्ययन-अनुसन्धान र मापदण्डका खाकामा ध्यान गएको पाइएन। अध्ययन, अनुसन्धान र आवश्यकताबिना विश्वविद्यालय खुल्दै गए। कसरी र किन खोल्ने भन्ने विषयमा खाका तयार भएन। यसले गर्दा सबै विश्वविद्यालयका एउटै पाठ्यक्रम भए। अनि वास्तविक रूपमा नेपालमा सबैभन्दा ठुलो, प्रतिष्ठित र संसारले चिनेको त्रिवि मात्र बन्न पुग्यो। यसले पनि विद्यार्थीको भारमा कमी आएन।

हाल त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, राजर्षिजनक विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय गरी १२ वटा केन्द्रीय विश्वविद्यालय सञ्चालनमा छन्।

यीबाहेक स्थापना भएका तर सञ्चालनमा नआएका नेपाल विश्वविद्यालय र योगमाया विदुषी गरी दुई विश्वविद्यालय छन्। यसैगरी छलफलमा रहेका खोपा, तिलगंगा नेत्र विश्वविद्यालय र दशरथचन्द चिकित्सा विज्ञान विश्वविद्यालय विधेयक छन् भने प्रदेश स्तरबाट मनमोहन प्राविधिक विश्वविद्यालय, मधेस विश्वविद्यालय, कृषि विश्वविद्यालय, बागमती विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय, कर्णाली विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएका छन्। जति विश्वविद्यालय खुले पनि तिनीहरूले आफ्नो स्तर कायम गर्न सकेका छैनन्। गुणस्तर र जनशक्ति उत्पादनमा खासै ध्यान दिएको देखिँदैन।

प्रकाशित: २२ पुस २०८२ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App