१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

एक्लै लड्दा जितैजित, गठबन्धनमा हारैहार

स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धन दलबीच तालमेल गरेर जाने पक्षमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दरिलो रूपमा उभिएका थिए।

आफ्नै पार्टीभित्र तमाम मतभिन्नताका बाबजुद उनले पार्टीभित्र तालमेलको निर्णय गराइछाडे। सोही अनुसार देशका तमाम स्थानीय तहमा तालमेल भयो। तर प्रधानमन्त्री देउवाकै गृहजिल्ला डडेलधुरामा भने कांग्रेस एक्लै निर्वाचनमा गयो।

त्यसको प्रमुख कारण थियो, कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति कर्ण मल्ल पक्षधरको विद्रोह ! १४ औं महाधिवेशनदेखि असन्तुष्ट रहेको मल्ल पक्ष नेपाली कांग्रेस (बिपी) का नामबाट निर्वाचनमा होमिने तयारी गरिरहेको थियो। सँगै सो समूहले कांग्रेसविरुद्ध एमालेसँग तालमेलको निर्णय पनि गरिसकेको थियो।

यस्तोमा सत्तारूढ दलबीचमा तालमेल गरेर जाँदा कांग्रेसका मतदाताले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई भोट दिनुको सट्टा कांग्रेस बिपीमा मत दिने ‘डर’ कांग्रेसभित्र पलायो। यही कारण डडेलधुरा कांग्रेसले एक्लै निर्वाचनमा जाने घोषणा गर्‍यो।

कांग्रेससँग अपेक्षाकृत सहयोग नआउनेमा ढुक्क भएका माओवादी केन्द्र र नेकपा एसले सहमति जनाए। त्यसपछि दुवै दलले तालमेल गरे। एक्लै लड्दा निर्वाचनमा कांग्रेसका पक्षमा सकारात्मक नतिजा आयो। जिल्लाका सात तहमध्ये कांग्रेस ५ तहमा निर्वाचित भयो, जसमा अघिल्लोपटक जितेका परशुराम नगरपालिका, गन्यापधुरा गाउँपालिका र भागेश्वर रक्षा गर्दा अघिल्लोपटक हारेका सदरमुकामको नगरपालिका अमरगढी र नवदुर्गा गाउँपालिका थप्यो।

अघिल्लो पटक जितेकोमा आलिताल गाउँपालिका गुमायो। जहाँ माओवादी केन्द्रले जित्यो भने अघिल्लोपटक जितेको अजयमेरु गाउँपालिका माओवादी केन्द्रले रक्षा गर्‍यो। एमाले र मल्ल पक्षीय कांग्रेस बिपीको तालमेल असफल भयो।

सुदूर पश्चिममा कांग्रेस एक्लै लड्दा सफल भएको डडेलधुरामा मात्र होइन, छिमेकी जिल्ला डोटीमा पनि उत्तिकै छलाङ मारेको छ। जहाँ नौ पालिका रहेकामा अघिल्लो पटक जम्मा तीन पालिकामा चित्त बुझाएको कांग्रेस यसपटक चार थपेर सात पालिका जितेको छ। दुईमा झिनो मतले रोकिँदा तीमध्ये पनि एकमा उपाध्यक्षसहित तीन वडा जितेको छ।

कांग्रेसले अघिल्लो पटक जितेका शिखर नगरपालिका, बडीकेदार गाउँपालिका र केआई सिंह गाउँपालिका रक्षा गर्दै अघिल्लोपटक हारेका दीपायल सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका र आदर्श गाउँपालिका थपेको छ।

अघिल्लोपटक पाँच पालिका जितेको एमालेले जोरायल गाउँपालिकामा चित्त बुझाउँदा नेकपा एससँग तालमेल गरेको माओवादी केन्द्रले अघिल्लोपटक जितेको बोगटान फुड्सिल गाउँपालिका रक्षा गरेको छ। जोरायलमा ३७ मतको झिनो मतान्तरले हारेको कांग्रेस बोगटान फुड्सिलमा उपाध्यक्षसहित तीन वडामा विजयी भएको छ।

यस्तै अघिल्लो पटक नौवटा स्थानीय तह रहेको कञ्चनपुर जिल्लामा कांग्रेसले जम्मा तीन स्थानमा थन्किएको थियो। यसपटक यहाँ एक्लै चुनावमा जाँदा निकै सुदृढ अवस्था देखिएको छ। हालसम्म जिल्लाका बेलडाडी गाउँपालिका र वेदकोट नगरपालिकामा जित निकालिसक्दा यो समाचार तयार पार्दासम्म कृष्णपुर नगरपालिका, पुनर्बास नगरपालिका र भीमदत्त नगरपालिकामा अग्रता लिइरहेको छ।

यीमध्ये बेलडाडीमा अघिल्लो पटक कांग्रेस जित्दा बाँकी चारवटा नगरपालिकामा एमाले जितेको थियो। यस्तै अघिल्लो पटक कांग्रेसले जितेको शुक्लाफाँटा नगरपालिकामा भने अहिलेसम्मको गणनामा कांग्रेस झिनो मतले पछाडि छ। उपमेयरमा भने लगभग जित नजिक पुगिसकेको छ।

यस्तै अघिल्लो पटक माओवादीले जितेको बेलौरी नगरपालिकामा अहिले पनि माओवादी केन्द्रले मेयर र एमालेले उपमेयर जितेको छ भने माओवादी केन्द्रले नै जितेको लालझाडी गाउँपालिका एमालेले जितेको छ। अघिल्लो पटक कांग्रेसले जितेको दोधारा चाँदनी (महाकाली) नगरपालिकाको मेयर भने यसपटक कांग्रेसले गुमाएको छ। यहाँ एमालेले मेयर जित्दा कांग्रेसले उपमेयर जितेको छ।

यसरी एक्लै लड्दा धमाधम जितेको कांग्रेस तालमेल गरेको जिल्ला र तहमा भने उसैगरी हारेको छ। त्यसको सबैभन्दा ठूलो उदाहरण दार्चुला बनेको छ। नौ स्थानीय तह रहेको दार्चुलामा अघिल्लोपटक कांग्रेसले पाँच स्थानीय तह जित्दै जिल्ला समन्वय समिति बनाएको थियो, जसमा दुहुँ गाउँपालिका, ब्यास गाउँपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिका थिए।

बाँकी अपि हिमाल गाउँपालिका, नौगाड गाउँपालिका र लेकममा एमाले जित्दा मार्मा गाउँपालिकामा माओवादी केन्द्र जितेको थियो। यसपटक कांग्रेसले अघिल्लोपटक जितेका पाँचवटै तह लिँदै एमाले र माओवादी जितेका चार तह माओवादी केन्द्रलाई दिएर तालमेल गर्‍यो तर नतिजा उल्टो आयो। कांग्रेस सबै तहमा हारेर जिल्लामा निल भयो। माओवादी केन्द्रले चार वटै तह जित्यो।

तालमेल गर्दाको पीडा कांग्रेसले कैलालीमा पनि भोगिरहेको छ। यसमा बढी नोक्सानी बर्दगोरिया गाउँपालिका र टीकापुर नगरपालिकामा भएको छ, जहाँ तालमेल गरेको दल माओवादी केन्द्रले उपाध्यक्ष/उपमेयर जित्दा अध्यक्ष/मेयरमा कांग्रेसले हार बेहोरेको छ। बर्दगोरियामा अध्यक्ष एमाले र टीकापुरको मेयरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले जितेका छन्।

यस्तै सत्तारूढ तीनदलीय तालमेलमा कांग्रेसले नेतृत्व पाएको जानकी गाउँपालिकामा हार नजिक पुग्दा जोशीपुर गाउँपालिका हारिसकेको छ। पाँच दलीय गठबन्धन भएको धनगढी उपमहानगरपालिकामा पनि कांग्रेस उम्मेदवार नृप वड स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग हारसम्मुख पुगिसकेका छन्।

कांग्रेसले नेतृत्व पाएका गोदावरी नगरपालिका र लम्कीचुहा नगरपालिकामा मात्रै तालमेल सफल देखिएको छ। प्रदेशमा अहिलेसम्म कांग्रेसले ३५ स्थानीय तहमा नेतृत्व (प्रमुख/अध्यक्ष) जितिसकेको छ, तीमध्ये २६ तहमा एक्लै लडेर जित निकालेको छ भने नौवटामा मात्रै तालमेलबाट जित सम्भव भएको छ। तालमेल भएका धेरै तहमा हार बेहोर्नुपरेको कांग्रेसका नेताहरू बताउँछन्।

कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेशभर एक्लै लड्ने चाहना हुँदाहुँदै पनि राष्ट्रिय आवश्यकताका आधारमा तालमेल गर्नुपर्ने अवस्था आएको बताउँछन्। ‘हामी एक्लै लड्दा अझै बढी जित्न सक्थ्यौं तर देशको परिस्थितिले तालमेल गर्नुपर्‍यो,’ उनले भने, ‘यसमा तालमेलमा रहेका दलहरू जिम्मेवार नभएको देखिएको छ।’

पहिला त हैसियतभन्दा बढी माग्दा समस्या पैदा भएको उनी बताउँछन्। ‘उहाँहरूले हैसियतभन्दा नाघेर माग्नुभयो। जुन अहिले प्रमाणित नै भइसक्यो। दोस्रोमा कांग्रेसप्रति बदमासी पनि गर्नुभयो,’ उनले थपे। गठबन्धनमा रहेका दलहरू लडेर हारेको तहमा पनि कांग्रेसलाई दिएको भए जित्न सकिने उनको दाबी छ।  

प्रकाशित: ८ जेष्ठ २०७९ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App