२० आश्विन २०८१ आइतबार
image/svg+xml
निर्वाचन विशेष

इटहरी उपहानगरपालिकामा पहिलोपल्ट कांग्रेसको नेतृत्व

उपमेयरसहित १४ वटा वडामा एमाले विजयी

प्रदेश नं. १ का दुईवटा उपमहानगरपालिकामध्ये इटहरीमा २०४६ सालपछि पहिलोपल्ट नेपाली कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी भएसँगै पहिलोपल्ट कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको हो।

गाउँ विकास समिति, नगरपालिका हुँदा र उपमहानगरपालिका भएर २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेले नेतृत्व गर्दै आएको थियो। यसपटक भने कांग्रेसका पौडेलले एमालेका मेयरका उम्मेदवार याम सुब्बालाई पाँच हजार १८ मतले हराएर विजयी भएका हुन्। सुब्बाले २८ हजार ३१ मत ल्याए।

मेयरमा विजयी पौडेल कांग्रेस इटहरी उपमहानगर सभापति हुन्। उनले असोजमा भएको कांग्रेसको १४ औं महाधिवेसनबाट सभापतिमा तेस्रो पटक जितेका हुन्। उनको राजनीतिक यात्रा भने एमाले निकट अनेरास्ववियूबाट प्रारम्भ भएको थियो। २०५७ सालमा भएको स्ववियू निर्वाचनमा अनेरास्ववियू त्यागेर कांग्रेस प्रवेश गरी जनता बहुमुखी क्याम्पस इटहरीमा स्ववियू सभापति बनेका थिए।

इटहरी उपमहानगरपालिकाको उपमेयरमा भने एमालेका तर्फबाट संगीता चौधरी विजयी भएकी छिन्। उनले ३२ हजार ४२६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका केशवकुमार विष्टले १८ हजार ३१ मत ल्याएका छन्। उपमेयरमा विजयी चौधरी वडा नं. १५ मा नीजि स्कुल सञ्चालन गर्दै आएकी छिन्। उनी इटहरी एमाले अखिल नेपाल महिला संघकी सहसचिव समेत हुन्।

इटहरीमा यसपटक कुल एक लाख ४ हजार ६२६ मतदातामध्ये ७३ हजार ७३२ मत खसेको छ। इटहरीमा यसपटक मेयरमा कांग्रेसले नेतृत्व गरेपनि वडामा भने २०७४ सालको निर्वाचनको भन्दा आधा कम वडा जितेको छ। यसपटक नेपाली कांग्रेसले पाँच वटा वडा मात्र जितेको छ।

नेकपा एमालेले अघिल्लो पटकभन्दा वडामा विजयी संख्या बढाएको छ। एमालेले यसपटक १४ वटा वडा जित्न सफल भएको छ। एउटा वडामा भने एमालेबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका वडाध्ययक्षसहित प्यानल नै विजयी भएको छ। २०७१ सालमा इटहरी नगरपालिकामा हाँसपोसा, एकम्बा, पकली र खनार गाभिएर उपमहानगरपालिका बनेको थियो।

पूर्वकै उदाउँदो सहर इटहरी उपमहानगरपालिकामा २०७४ सालको निर्वाचनमा मेयर–उपमेयरमा  एमालेका उम्मेदवार बिजयी भएका थिए। मेयरमा द्वारिकलाल चौधरी र उपमेयरमा लक्ष्मी गौतम विजयी भएका थिए। त्यतिबेला इटहरीमा कुल ७७ हजार ६७७ मतदातामध्ये ५७ हजार २४६ मत खसेको थियो। जसमा चौधरीले २२ हजार ६८९ मत ल्याएर विजयी भएका थिए भने गौतमले २१ हजार ८४२ मत ल्याएर विजयी थिएन।

चौधरीका प्रतिद्वन्दी नेपाली कांग्रेसका रोहितकुमार प्रसाईंले १९ हजार ९८५ र गौतमकी प्रतिद्वन्दी कांग्रेसकी बिमला ढकालले १८ हजार ३५२ मत ल्याएकी थिइन्। त्यो बेला यहाँबाट एमालेमा आठ जना वडाअध्यक्ष र ४८ जना सदस्य विजयी भएका थिए।

कांग्रेसले इटहरीबाट ११ वडा अध्यक्ष र ३० जना सदस्य जितेको थियो। यस्तै, नेता  विजय गच्छदारले तत्कालिन समयमा नेतृत्व गरेको पार्टीका तर्फबाट वडा नं. १० मा वडाध्यक्ष जितेपछि पछि कांग्रेसमै समायोजन भएका थिए। एक जना वडासदस्य एकीकृत माओवादीले जितेका थिए। इटहरी नगरपालिका छँदा २०५४ को निर्वाचनमा कांग्रेसले एउटा मात्र वडा जितेको थियो।

इटहरीमा २०४९ सालमा गाउँ विकास समिति हुँदा स्वर्गीय प्रमोद श्रेष्ठले जितेका थिए। इटहरी २०५३ सालमा नगरपालिका भएर २०५४ सालमा भएको निर्वाचनमा जित्ने एमालेकै वर्चस्व थियो। त्यो बेला अहिलेका प्रखेश सांसद रहेका सर्वध्वज सावा मेयर र अहिले एमाले जिल्ला अध्यक्ष रहेका रेवतीरमण भण्डारी उपमेयर थिए। नेपाली कांग्रेसले एउटा मात्र वडा जितेको थियो। त्यतिबेला २३ हजार हाराहारी मत रहेकोमा दोस्रो पोजिसन राप्रपा र तेस्रो पोजिसन कांग्रेसको थियो।

प्रकाशित: ८ जेष्ठ २०७९ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App