६ वैशाख २०८१ बिहीबार
निर्वाचन विशेष

बुटवलको मत गणना स्थगितः मतपेटिकाको सिल कसले र किन तोड्यो?

बुटवल उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ। वडा नं. ११ को मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि गणना कार्य रोकीएको हो।

वडा नं. ११ का मतपेटीका मध्ये एउटा बक्साको एउटा सिल तोडिएको र सो तोडिएको सिल कपडामै फेला परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अहिलेसम्मको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिदै आएको छ।

नेकपा एमालेले आफ्नो गढ मान्दै आएको वडाको मत पेटिका मध्ये एउटाको सिल तोडिएको भन्दै एमालेका कार्यकर्ताले बिरोध जनाइरहेका छन्। यद्यपि सिल तोडिएको भनिएको सो वक्सामा लगाइएका अरु तीन वटा सिल जस्ताको त्यस्तै रहेको र एउटा सिल टुटेको अवस्थामा कपडामै भेटिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन अधिकारीहरुका अनुसार मतपेटिका अर्थात् बक्साको सिल गरिसकेपछि ती बक्साको सुरक्षाको दायित्व निर्वाचन कार्यालयको हुन्छ। सुरक्षा घेराबीच निर्वाचनका कर्मचारी र सुरक्षा निकाय बाहेक बक्सा भएको स्थानमा अरु कोही पनि जान नपाउने भएकाले यस्तो अवस्थामा सिल तोडिदा त्यसको जिम्मेवारी सम्बन्धित कर्मचारीले नै लिनु पर्ने निर्वाचन अधिकारीहरु नै बताउँछन्।

नेपाली कांग्रेसका एक जना नेताले नेकपा एमाले हार्ने अवस्थामा पुगेपछि एमाले निकटका कर्मचारीसँगको मिलेमतोमा यस्तो कदम चालीएको हुन सक्ने बताए। बुटवलको निर्वाचन तथा मतगणना प्रक्रियामा सहभागी अधिकांश कर्मचारी बुटवल उपमहानगरपालिकाका छन्। ती कर्मचारीहरु मध्ये धेरैजसो एमाले समर्थक भनेर चिनिने कर्मचारी रहेको बताइन्छ।

२०७४ को निर्वाचनमा भारी मतले जितेको एमाले यसपटकको अहिलेसम्मको गणनामा ५ हजार मतान्तरले पछाडी छ। यसपटक करिब ११ हजार मत खसेको वडा नं.११ मा पनि एमालेले २०७४ मा भारी मत अन्तरले जितेको थियो। तर यसपटक अन्य वडामा देखिएको मतदानको ट्रेण्डले यो वडा पनि एमालेको हातबाट फुत्किने र कांग्रेसले जित्ने आकंलनहरु भइरहेका छन्।

त्यही संकेतबाट अत्तिएर एमालेले भाँजो हाल्न कर्मचारी परिचालन गरेको हुन सक्ने आशंका कतिपयले गरेका छन्। एमालेका नेता कार्यकर्ताहरु भने हारबाट आत्तिएर कांग्रेसले धाँधली गरेका आरोप लगाएका छन्। विवाद उत्पन्न भएपछि अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। ११ बाहेकका अन्य वडाको मतगणना भने जारी छ।

प्रकाशित: ५ जेष्ठ २०७९ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App