२४ असार २०८१ सोमबार
image/svg+xml
निर्वाचन विशेष

विराटनगर महानगरपालिकाः कांग्रेसको गढ भत्काउँदै एमाले

विराटनगर महानगरपालिकामा कांग्रेसको गढ मानिएका वडाहरूमा नै एमाले विजयी हुन थालेको छ। विराटनगर महानगरपालिकामा कांग्रेको गढ मानिएको वडा नम्बर १ र १९ १९ को वडा अध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भइरहेका छन्।

यस्तै  मतगणना भइरहेकावडाहरू वडा नम्बर ३ र ४ मा पनि एमालेकै वडा अध्यक्षका उमेदवारले अग्रता लिइरहेका छन्। विराटनगरको ६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा एउटा वडामा मात्रै नेपाली कांग्रेस विजयी भएको छ।

विराटनगर १६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उद्धव भुजेल निर्वाचित भएका हुन्। यस्तै ३ वटा वडामा एमाले विजयी भएको छ। विराटनगरको १९ नम्बर वडाको अध्यक्षमा नेकपा एमालेका उमेदवार श्याम घिमिरे निर्वाचित भएका छन्। यस्तै वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्षका उमेदवार काजी बस्नेत निर्वाचित भएका छन्।

विराटनगर वडा नम्बर ३ मा नेकपा एमालेका उमेदवार वासु बस्नेतले अग्रता लिइरहेका छन्। विराटनगरको वडा नम्बर ४ मा पनि नेकपा एमालेका जितन थापाले अग्रता कायम गरिरहेका छन्। यस्तै वडा नम्बर ५ मा नेपाली कांग्रेसका सन्तोष न्यौपानेले अग्रता कायम गरिरहेका छन्। वडा नम्बर ६ मा पनि नेपाली कांग्रेसका वडा अध्यक्षका उमेदवार हरिशचन्द्र शहनीले अग्रता  गरिरहेका छन्।

वडा नम्बर १३ मा राप्रपाका सूर्यनलाल यादव, वडा नम्बर १४ मा नेकपा एमालेका वडा अध्यक्षका उमेदवार सूर्यनारायण महतो, वडा नम्बर १५ मा नेपाली कांग्रेसका प्रकाश साहले अग्रता लिइरहेका छन्। यस्तै वडा नम्बर १७ मा जनतासमाजवादी पार्टीका वडा अध्यक्ष पदका उमेदवार समिम कमर मिया निर्वाचित भइसकेका छन्।  

वडा नम्बर १८ मा स्वतन्त्रउमेदवार जितेन्द्रकुमार साह निर्वाचित भएका छन्। वडा नम्बर ७ , ८, ९ , १०, ११, १२ र १३ मध्ये केहि वडाको मत गणना सुरू भए पनि मत परिणाम सार्वजनिक भइसकेको छैन। विराटनगरको कांग्रेसको गढका रुपमा लिंदै आएका वडाहरूमा एमालेका उमेदवार विजयी भएपछि कांग्रेसका अन्तर्घात भएको आरोप नेता कार्यकर्ताहरू माथि लाग्न थालेको छ। केन्द्रीय स्तरकै नेताहरू कांग्रेसका उमेदवार हराउन लागेको आरोप स्थानिय नेता कार्यकर्ताको छ।

यति मात्रै हैन केन्द्रिय नेताहरूले पैसा खाएर उमेदवार उठाएका कारण कांग्रेसको गढमै हार्नुपरेको स्थानिय नेता कार्यकर्ताहरू सामाजिक सञ्जालमा आरोप –प्रत्यारोप गरिरहेका छन्। यतिमात्रै हैन कांग्रेसका उमेदवार हराउन कांग्रेसकै केन्द्रीय स्तरका नेताहरूलागेको भन्दै विराटनगर १७मा विवाद चर्किएको छ।

विराटनगर १७ का पूर्व केन्द्रीय सदस्य हसन अन्सारीलाई वडा अध्यक्षका उमेदवार असलम आलमलाई अन्तर्घात गरेर हराएको आरोप लगाउँदै आलम पक्षले हातपात गरेको अन्सारीले आरोप लगाएका छन्। चुनावको समिक्षा गर्नेक्रममा अन्सारीको घरमा पुगेका आलमसहितका नेपाली कांग्रेसका कार्यकर्ताले अन्सारीलाई हातपात र दुव्र्यवहार गरेको भन्दै अन्सारीले प्रहरीमा उजुरी दिएका छन्।

अन्सारीले प्रहरीमा उजुरी दिएपछि उजुरीका बारेमा दुवै पक्ष वीच जिल्ला प्रहरी कार्यालय मोरङमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता दीपक श्रेष्ठले बताए। कांग्रेसको गढ मानिएका वडाहरूमै धमाधम कांग्रेसका उमेदवारहरू हार्न थालेपछि कांग्रेसभित्र खैलावैला मच्चीन थालेको छ। चुनावका विषयमा विभिन्नखालका टिका टिप्पणीहरू गर्न थालिएको छ। विराटनगरका वडाहरूमा प्रभाव पार्न सक्ने उमेदवार नदिएका कारण एक पछि अर्को वडामा हार वेहोर्नुपरेको वडा स्तरका नेताहरूको गुनासो छ। वडाहरूमा निराशाजनक नतिजा ल्याइरहेको कांग्रेसले विराटनगरको मेयरमा भने अग्रता कायमै राखेको छ।

विराटनगरको मेयरमा ५ दलिए गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार नागेश कोइरालाले अग्रता कायम गरिरहेका छन्। ३१ हजार ४ सय ५ मत गणना गर्दा कोइरालाले ९ हजार ८ सय ८२ मतकासाथ अग्रता कायम गरिरहेका छन्। यस्तै नेकपा एमालेका उमेदवार सागर थापाले ७ हजार ६ सय ३० मतले कोइरालालाई पछ्याइरहेका छन्। यस्तै उपमेयरमा नेकपा एमालेकी उमेदवार शिल्पा कार्की ८ हजार ६ सय ९० मतकासाथ अग्रस्थानमा छिन्। उनलाई गठबन्धनका उमेदवार अमरेन्द्र यादवले ५ हजार ४ सय ६ मतकासाथ पछ्याइरहेका छन्।

नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा विराटनगरको मेयर , उपमेयरसहित बहुमत  वडामा जित हाँसिल गरेको थियो। २०७४ को स्थानिय तह निर्वाचनमा कांग्रेसले विराटनगरको वडा नम्बर १, ३, ४, ७, ८,९,१५ र १६को वडा अध्यक्ष जितेको थियो। यस्तै वडा नम्बर १९मा नेपाली कांग्रेसकै वागी उमेदवारले प्यानलै जित हाँसिल गरेका थिए।

प्रकाशित: ३ जेष्ठ २०७९ १५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App